समय अगाडि फूल्यो लालीगुराँस, रमाए पर्यटक

  २०७९ फागुन १७ गते १६:४२     विकासन्युज

गलेश्वर । चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ । लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन ।

गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षासमेत नहुँदा हिउँदे खाद्यान्न उत्पादन घट्ने भयले किसान चिन्तित छन् । मौसममा आएको परिवर्तनले लालीगुराँस दुई महिना अगाडि नै फुलेको स्थानीयवासी बताउँछन् ।

धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्याल चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँसमा माघमै कोपिला लागेर मध्यफागुनसम्म आइपुग्दा जङ्गलै राताम्ये हुनेगरी ढकमक्क फुलिसकेको बताउँछन् । चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित बनाएको छ ।

अघिल्लो वर्ष चैत–वैशाख महिनामा मात्र लालीगुराँस फुल्ने गर्दथ्यो । यसवर्ष हिउँदमा हिमपात नभएर वर्षा कम भए पनि लालीगुराँस भने राम्रोसँग फुलेको हो । पश्चिमी म्याग्दीको मालिका, मङ्गला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिकाका विभिन्न जङ्गलमा लालीगुराँस फुलेर राताम्यै भएको स्थानीयवासीको भनाइ छ ।

लालीगुराँस फुलेसँगै जङ्गल रातै देखिन थालेपछि स्थानीयवासी रमाउन थालेका छन् । कृषि प्राविधिक जगत बानियाँ मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएकाले पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताउँछन । उनका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो । यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

लालीगुराँससँगै रमाउन थाले पर्यटक

यसवर्ष साविकभन्दा पहिले नै लालीगुराँस फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यसवर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यसवर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । यसैगरी जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका छन् । बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनामा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्हरुको भनाइ छ ।

‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, बेनी नगरपालिका–२ ज्यामरुककोटका वेदप्रसाद उपाध्याय बताउँछन ।

लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेका र अन्नबालीमा समेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विक बताउँछन् । ‘अहिले बेमौसममै काफल, तिदुलगायत जङ्ली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ ।’ वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएको उनी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.