दुई महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए नेपाल

  २०७९ फागुन १७ गते १५:५५     विकासन्युज

काठमाडौं । सन् २०२३ को पहिलो दुई महिनामा एक लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् ।

जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.