तारागाउँ रिजेन्सीका कर्मचारीको तलब एक वर्षमै दोब्बर, १० वर्षमा साढे २ अर्ब खर्च

  २०७९ फागुन १४ गते १०:५३     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले कर्मचारीको तलव एक वर्षमा शतप्रतिशत बढाएको छ । कम्पनीले गत वर्ष कर्मचारीको तलव भत्ता १०३ प्रतिशत बढाएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २१ करोड ८ लाख ८७ हजार रुपैयाँ कर्मचारीलाई वितरण गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी खर्च १० करोड ३५ लाख १४ हजार रुपैयाँ गरेको थियो । जुन एक वर्षको अवधिमा १०३.७३ प्रतिशत अर्थात् १० करोड ७३ लाख ७३ हजार रुपैयाँ कर्मचारी खर्च बढाएको हो ।

तारागाउँ रिजेन्सी होटल्सका सेयरधनी कमल भारतीले कर्मचारी खर्च अत्याधिक बढाएको प्रति आपत्ति जनाएका छन् । एक वर्षको अवधिमा १०/१५ प्रतिशत बढाउनु स्वभाविक भएपनि शत प्रतिशत बढाएको शंका गरे ।

‘एक वर्षमा १०/१५ प्रतिशत कर्मचारी खर्च बढाउनु स्वभाविक हो, कर्मचारी खर्च बढाउने पनि प्रावधान हुन्छन्, प्रावधान अनुसार बढाउनु ठिकै हो तर १ सय प्रतिशतभन्दा बढी कर्मचारी खर्च कसरी बढ्यो ? कम्पनीले कर्मचारी खर्चमा किन एक सय प्रतिशत बढायो ?,’ उनले भने ।

कम्पनीका कार्यकारी सञ्चालक सुरेश लाल श्रेष्ठका अनुसार कोरोना महामारीका बेलामा होटल व्यवसाय ठप्प भएका थिए । होटलहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा कर्मचारीको खर्च कटौति गरेको उनले बताए । कम्पनीले होटल संघ नेपाल (हान)सँग छलफल गरेर कर्मचारीको तलव कटौति गरेको उनको भनाइ छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउँदा कर्मचारी संख्या बढेकाले खर्च पनि बढेको उनले बताए ।

‘आर्थिक वर्ष २०७७/७८ मा कर्मचारीलाई ११ करोड रुपैयाँ तलव दिएको हो, कोरोना महामारी भएकाले होटल सञ्चालन हुन सकेन, बन्द भएको समयमा केही कर्मचारी घटाएको हो,’ उनले भने, ‘कर्मचारी र हानसँग वार्ता गरेर कोरोना महामारीको बेलाको तलव कम दिने सहमति भयो, जब होटल सञ्चालनमा अयाो तब कर्मचारीलाई पुरा तलव दिनु पर्याे, साथै नयाँ कर्मचारी पनि भर्ना गर्याै, जसले गर्दा कर्मचारी खर्च बढेको हो, त्यसअघि हामीले कर्मचारी खर्च घटाउँदै आएका थियौं ।’

१० वर्षको अवधिमा कम्पनीले साढे २ अर्ब रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०६९/देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर्मचारीलाई कूल २ अर्ब ३० करोड ४१ लाख ८७ हजार रुपैयाँ तलव भत्ता वितरण गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ३५ करोड ८१ लाख ५१ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा २६ करोड ३३ लाख १८ हजार रुपैयाँ कर्मचारी खर्च गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०६९/७० मा १५ करोड ९४ लाख ७५ हजार रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा १९ करोड ७८ लाख ७८ हजार रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा २० करोड ८ लाख ३३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा २१ करोड ७८ लाख ९५ हजार रुपैयाँ र आर्थिक वर्ष २०७३/७४ मा २४ करोड ३५ लाख ४१ हजार रुपैयाँ कर्मचारीलाई खर्च गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.