निक्षेपको ब्याज १२ बाट ६ प्रतिशतमा र कर्जाको १४ बाट १० प्रतिशतमा झरिसक्यो

  २०८१ वैशाख १५ गते १०:१४     महाप्रसाद अधिकारी

२०८१ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको छ । २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहन गयो । समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो । बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवम् परिमार्जनका काम पनि निरन्तर रूपमा गरिए ।

मिश्रित अवस्थामा अर्थतन्त्र
अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ । खासगरी विपे्रषण आप्रवाह उल्लख्ेय बढेको तथा आयात घटके ोले चालु खाता एवम् शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको छ । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको छ । थोक मूल्य र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदर न्यून रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको छ । चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको छ । तथापि, रुस-युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम भने कायमै छ ।

आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ । करिब ६०० मेगावाट थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ । तथापि, सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको छ । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् ।

आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ । २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । यद्यपि, २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।

कानुनी सुधार
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन मस्यौदा तयार गरी संशोधन प्रक्रिया अगाडि बढाइएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा पुनरावलोकन गर्न संशोधन मस्यौदा र सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिएको छ । ड। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९; भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ र विनिमेय अधिकारपत्र ऐन, २०३४ मा पुनरावलोकन गरी संशोधन मस्यौदा तर्जुमा कार्य अगाडि बढाइएको छ । लिज फाइनान्स, वित्तीय सम्पत्तिको पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्यूरिटाइजेसन) सम्बन्धी कानुनको मस्यौदा तर्जुमाको क्रममा रहेका छन् ।

भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूको मर्जर र प्राप्तिसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्दै भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ संशोधन गरी भुक्तानी तथा फछ्र्यौट विनियमावली, (पहिलो संशोधन २०८०), २०७७ लागू भएको छ । यसैगरी, भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७३ लाई समयसापेक्ष संशोधन गरी भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरिएको छ । ‘नेपाल राष्ट्र बैंक, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (तेस्रो संशोधनसहित)’ जारी गरिएको छ भने ‘नेपाल राष्ट्र बैंक विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ मा संशोधन गरिएको छ ।

समष्टिगत आर्थिक स्थिति
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२४ मा प्रकाशित वल्ड इकोनोमिक आउटलुक अनुसार सन् २०२४ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण छ । विकसित देशहरूको अर्थतन्त्र सन् २०२३ मा १.६ प्रतिशतले वृद्धि भएकोमा सन् २०२४ मा १.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । यसैगरी, २०२३ मा ४.३ प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२४ मा ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । सन् २०२४ मा छिमेकी मुलुकहरू भारतको अर्थतन्त्र ६.८ प्रतिशत र चीनको अर्थतन्त्र ४.६ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।

विश्वको मुद्रास्फीति सुधारोन्मुख रहेको छ । अन्तर्राष्ट्रिय मुदा कोषका अनुसार सन् २०२३ मा विश्वको मुद्रास्फीति ६.८ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.९ प्रतिशत रहने प्रक्षेपण छ । विकसित अर्थतन्त्रको औसत मुद्रास्फीति ४.६ प्रतिशत रहेकोमा सन् २०२४ मा २.६ प्रतिशत रहने प्रक्षेपण छ । यसैगरी, सन् २०२३ मा ८.३ प्रतिशत रहेको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको औसत मुद्रास्फीति सन् २०२४ मा समेत ८.३ प्रतिशत नै रहने कोषको प्रक्षेपण छ ।

आन्तरिक स्थिति
आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ । पयर्टक आगमन कोभिडपूवको अवस्थामा पुगेको तथा विद्युत् र सिमेन्टको निर्यात बढ्दै गएको सन्दर्भमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा धानबाली लगाइएको क्षेत्रफल ०.६१ प्रतिशतले घटेतापनि धानबालीको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिदर ४.० प्रतिशत रहेको छ । यस अवधिमा औद्योगिक उत्पादनमा कमी आएको छ भने आवास तथा भोजन सेवा, विद्युत् तथा ग्यास क्षेत्र, यातायात तथा भण्डारण क्षेत्रको उत्पादन उल्लेख्य रूपमा बढेको छ । समग्रमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीनदेखि चार प्रतिशतको हाराहारीमा रहन सक्ने अन्तर्राष्ट्रिय संघ संस्थाहरूको अनुमान छ ।

२०८० फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

सरकारी वित्त स्थिति

नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०८० चैत मसान्तसम्ममा चालु खर्च रु.६४४ अर्ब २ करोड, पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रु.१६७ अर्ब ९९ करोड गरी कुल सरकारी खर्च रु.९०९ अर्ब ३९ करोड (विनियोजित बजेटको ५१.९३ प्रतिशत) पुगेको छ । २०८० चैत मसान्तसम्ममा नेपाल सरकारको कर राजस्व रु.६७१ अर्ब १२ करोड र गैरकर राजस्व रु.७६ अर्ब ९३ करोड गरी कुल राजस्व सङ्कलन ९.४ प्रतिशतले वृद्घि भई रु.७४८ अर्ब ४ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारको रु.२४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा २०८० चैत मसान्तसम्ममा रु.१७६ अर्ब परिचालन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यातमा ४.० प्रतिशतले कमी आई रु.१०० अर्ब ६२ करोड कायम भएको छ । यस अवधिमा कुल वस्तु आयातमा २.७ प्रतिशतले कमी आई रु.१,०३० अर्ब २२ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु व्यापार घाटामा २.५ प्रतिशतले कमी आई रु.९२९ अर्ब ६१ करोड कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चालु खाता रु.१६६ अर्ब ८७ करोडले बचतमा छ । यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा छ । आठ महिनामा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१,०४१ अर्ब ९६ करोड पुगेको छ ।

२०८० असार मसान्तमा रु.१,५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.१,८७२ अर्ब ८२ करोड पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको र सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ७.६ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.६,१४५ अर्ब ८८ करोड पुगेको छ भने निजी क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले बढेर रु.४,९९६ अर्ब ५३ करोड पुगेको छ । यस बैंकले विभिन्न मौद्रिक उपकरणका प्रयोग गरी बैंकि े ङ प्रणालीको तरलता व्यवस्थापन गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८०/८१ को आठ महिनासम्ममा स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.५६१ अर्ब ४१ करोड गरी कुल रु.५६२ अर्ब ६१ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । यस अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.५९३ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.५६६ अर्ब ८० करोड गरी कुल रु.१,१५९ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ७४ करोड खुद खरिद गरी रु.४९६ अर्ब ६६ करोड तरलता प्रवाह भएको छ । यसैगरी, अमेरिकी डलर २ अर्ब ४६ करोड बिक्री गरी रु.३२७ अर्ब ४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लेख भएअनुसार बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको ब्याजदरमा स्थायित्व कायम गर्न २०८० फागुन १ गतेदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याइएको छ । सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ बमोजिम यस बैंकले गर्दै आएको आन्तरिक ऋण व्यवस्थापनसम्बन्धी कार्य २०८० चतैदेखि नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्पmत हुन थालेको छ ।

ब्याजदर
चालु आर्थिक वर्षमा ब्याजदर निरन्तर घट्दै गएका छन् । २०७९ फागुनमा ९१-दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेकोमा २०८० फागुनमा ३.०२ प्रतिशत रहेको छ । यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेको तुलनामा २०८० फागुनमा २.९२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.२१ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ प्रणालीमा तरलता बढेको छ । फलस्वरूप, अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरू घट्दै गएका छन् । २०८० फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । यसैगरी, २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको कर्जा र निक्षेपको भारित औसत ब्याजदर क्रमशः १३.०३ प्रतिशत र ८.३७ प्रतिशत थियो भने औसत आधार दर १०.६४ प्रतिशत रहेको थियो ।

तथ्याङ्क सुदृढीकरण

यस बैंकले प्रकाशन गर्दै आएको मौद्रिक सर्वेक्षण र अन्य मौद्रिक तथा वित्तीय परिसूचकसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर अभिवृद्धि गर्दै २०८० पुसदेखि आवासीय अवधारणामा आधारित बनाइएको छ । साथै, बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटडे र नेपाल पूर्वाधार विकास बैंकसमेतलाई समेटी ‘वित्तीय क्षेत्र सर्वेक्षण प्रकाशन गर्न सुरु गरिएको छ । यस बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको नयाँ आधार वर्ष २०८०/८१ निर्धारण गर्ने कार्यका लागि बजार केन्द्रहरू छनोट गरी वस्तु तथा सेवाको नियमित मूल्य सङ्कलन गर्ने र भाराङ्क अद्यावधिक गर्ने कार्य गरिरहेको छ । आधार वर्ष अद्यावधिक भएपश्चात् प्रदेशगत मूल्य सूचकाङ्कसमेत प्रकाशन गर्ने यस बैंकको योजना रहेको छ । उक्त कार्यका लागि सात वटै प्रदेशका ७७ जिल्लाका ८७ वटा बजार केन्द्र छनोट गरी ती केन्द्रबाट वस्तु तथा सेवाको मूल्य तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ । वस्तु तथा सेवाको भाराङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) को आधारमा गरिनेछ । आधार वर्ष अद्यावधिक भएपश्चात् राष्ट्रियस्तर र प्रदेशगत मूल्य सूचकाङ्कसमेत प्रकाशन गर्ने बैंकको योजना छ ।

वित्तीय पहुँच वृद्धि

बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न/गाभिन प्रोत्साहन गर्ने यस बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । विगत एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २० कायम भएको छ । यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । तीमध्ये १९४ संस्थाको इजाजत खारेज भई १०९ संस्था कायम भएका हुन् ।

समीक्षा अवधिमा वित्तीय पहुँच विस्तार भइरहेको छ । २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११० रहेको छ । २०८० फागुन मसान्तसम्म वाणिज्य बैंकका ५,०४१, विकास बैंकका १,१३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका ५,१३० गरी बैंक तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११,५९४ पुगेको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब २,५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्नसक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.