विद्युतीय गाडी : निजी छ्यापछ्याप्ती, सार्वजनिक न्यून

  २०७९ फागुन १० गते ११:५४     विकासन्युज

काठमाडौं । पछिल्लो समय सरकारले विद्युतीय गाडी प्रोत्साहनमा जोड दिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार नेपालमा १ हजार ७४९ वटा चारपाँग्रे विद्युतीय गाडी भित्रिएको छ ।

गत साउनदेखि पुस मसान्तसम्म गाडी नेपाल भित्रिदा ४ अर्ब ९१ करोड ५९ लाख ६३ हजार रुपैयाँ बाहिरिएका छ । विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएकाले आयात क्रमिक रुपमा बढ्दै गएको छ । १७ सय ४९ वटा विद्युतीय कार आयात हुँदा राज्यले १ अर्ब ३७ करोड ४९ लाख ७३ हजार कर पाएको छ ।

१०० किलोवाट सम्मका विद्युतीय गाडी आयातमा सरकारले भन्सार र अन्तशुल्कमा छुट दिएको छ । सरकारले छुट दिएपछि पछिल्लो समय नेपाल भित्रिने विद्युतीय गाडीको संख्यामा बृद्धि हुन थालेको व्यवसायीहरुले बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले सरकारले विद्युतीय गाडीको भन्सारमा छुट दिँदा आयात बढेको बताएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती विद्युतीय चारपाँग्रे गाडी नेपालमा भित्रने क्रम बढ्दो रहेको बताउँछन् । उनले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहनको निजी अनुरुप नै व्यवसायीहरुले विभिन्न देशबाट विद्युतीय सवारी भित्र्याउने गरेको बताए ।

केही समय अघिसम्म विद्युतीय गाडी बुकिङ गरेको ६ महिनादेखि १ वर्षभित्र समेत भित्रने गरेको थियो । तर, पछिल्लो समय तरलता अभाव, बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङमा गरेको कडाईका कारण नेपाल ल्याइएका विद्युतीय गाडीहरु समेत बिक्री हुन समय लाग्ने नाडाले जनाएको छ ।

निजी सवारी साधन भित्रने क्रममा बढ्दो रहेतापनि सार्वजनिक सवारीमा भने विद्युतीय गाडी न्यून रुपमा मात्र सञ्चालन छन् । सरकारको लगानी रहेको साझा यातायातले हाल ३ वटा विद्युतीय गाडी सञ्चालन गर्दै आएको छ ।

साझाभन्दा अघि सुन्दर यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएकोे थियो । सुन्दरले हाल काठमाडौं उपत्यका र बाहिरका विभिन्न गन्तव्यमा १६ वटा विद्युतीय गाडी दैनिक रुपमा सञ्चालन गर्दै आएको छ ।

सुन्दर र साझा बाहेक अन्य यातायात कम्पनीले विद्युतीय सवारी साधन सञ्चालनमा चासो देखाएका छैनन् । विद्युतीय गाडी खरिद मूल्य नै उच्च हुँदा तत्काल सञ्चालनको अवस्था नरहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

डिजेलका गाडीहरु ३७ लाख रुपैयाँ ९भन्सार कर तथा अन्तशुल्क० मा नेपाल ल्याउन सकिन्छ भने विद्युतीय गाडीका लागि डेढ करोडदेखि पौने २ करोड रुपैयाँसम्म लाग्ने व्यवसायीहरुले बताएका छन् । डिजेलका गाडी खरिद गर्ने मूल्य विद्युतीय गाडीले भन्सार शुल्कमै भुक्तानी गर्ने भन्दै विद्युतीय गाडी सञ्चालनमा राज्यबाट कुनै सहुलियत नभएको उनीहरुको भनाइ छ ।

सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापा विद्युतीय गाडी सञ्चालनमा सरकारले समन्वय नै नगरेको बताउँछन् । उनले निजी प्रयोजनका लागि ल्याइने विद्युतीय गाडीमा सरकारले भन्सार तथा अन्तशुल्कमा छुट दिएतापनि सार्वजनिक रुपमा सञ्चालनमा हुने गाडीमा कुनै छुट नदिएको बताए ।

साझाका ३७ विद्युतीय गाडी थन्किए

साझाले चीनबाट खरिद गरेर ल्याएको ३७ वटा विद्युतीय गाडी सञ्चालनमा नआउँदै थन्किएको छ । पर्याप्त मात्रामा चार्जिङ स्टेशन नभएको भन्दै साझाले धुलिखेल तथा पुल्चोक कार्यालयमा गाडीहरु पार्किङ गरेर राखेको छ ।

साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधार चार्जिङ स्टेशन अभावका कारण गाडीहरु पार्किङमै थन्किएको बताउँछन् । ‘हामीले सरकारसँग चार्जिक स्टेशन बनाउँनका लागि आवश्यक जग्गा उपलब्ध गराउन आग्रह गर्दै आएका छौँ, सरकारले जग्गा उपलब्ध गराएपछि गाडीहरु सञ्चालनमा ल्याउँछौँ’, उनले भने ।

सरकारले जग्गा उपलब्ध गराएपछि साझाले नै तत्काल २० वटा चार्जिङ स्टेशन निर्माण गरेर विद्युतीय गाडी सञ्चालनमा ल्याउने उनको भनाई छ ।

थप १६ वटा गाडी ल्याउँदै सुन्दर

सुन्दर यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्न थप १६ वटा विद्युतीय गाडी ल्याउन लागेको छ ।

‘केही दिन अगाडी मात्र ६ वटा गाडीहरु आइपुगेको छ, बाँकी गाडीहरु केही समयभित्र आउँछन्,ु अध्यक्ष थापाले भने । सुन्दरले यसअघि नै सञ्चालन गरेकै मोडलको गाडीहरु ल्याएको भन्दै काठमाडौं उपत्यकाभित्रै सञ्चालनको तयारी भएको उनले बताए ।

‘हाम्रो योजना १६ वटा गाडी ल्याउने हो, दोस्रो लट केही दिनमा आउछन्, बीचमा चिनियाँहरुको नयाँ वर्षका कारण गाडी ल्याउन ढिलाई भएको हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.