२०७९ माघ ११ गते १३:३२ विकासन्युज
एजेन्सी । संसारका धेरै देशहरूले दशकौंदेखि मंगल ग्रहमा मानिस पठाउने तयारी गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा गर्न ७ महिना लाग्छ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग उस्तै समय लिएका छन्। तर, अब नयाँ प्रविधिको सहयोगले यो यात्रा ४५ दिनमा नै गर्न सकिने भएको छ ।
यो नयाँ प्रविधिको नाम ‘न्यूक्लियर थर्मल एण्ड न्युक्लियर इलेक्ट्रिक प्रोपल्सन’ राखिएको छ । नासाले मानव मंगल मिशनको लागि यस्तो रकेट बनाउन लागेको हो, जसमा परमाणु ईन्धन प्रयोग हुनेछ। सो रकेट दुई प्रविधिको सहयोगमा बनाइनेछ ।
पहिलो, परमाणु थर्मल प्रोपल्सन, यसमा परमाणु रिएक्टर हुन्छ, जसले तरल हाइड्रोजन प्रोपेलेन्टलाई तताउँछ। विज्ञहरुका अनुसार यसो गर्दा प्लाज्मा बन्ने छ । यो प्लाज्मा रकेट नोजलबाट बाहिर निकालिनेछ, जसले रकेटलाई अगाडि बढ्नको लागि उच्च गति दिनेछ। सन् १९५५ मा अमेरिकी वायुसेना र आणविक ऊर्जा आयोगले यस्तो प्रणोदन प्रणाली निर्माण गर्ने प्रयास गरेको थियो ।
दोस्रो प्रविधिको नाम न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सन हो। यसमा परमाणु रिएक्टरले आयन इन्जिनलाई बिजुली दिन्छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्रले क्सीनन् जस्ता ग्यासहरूलाई गति दिन्छ, जसले रकेटलाई अगाडि बढाउने गति प्राप्त हुन्छ । सन् २००३ र २००५ मा पनि यो प्रणाली बनाउने प्रयास वैज्ञानिकहरुले गरेका थिए ।
नयाँ प्रविधिमार्फत वैज्ञानिकहरूले रकेटको कार्यसम्पादन झन्डै दोब्बर गर्न सक्नेछन् । रकेट बनाउने यो अवधारणा फ्लोरिडा विश्वविद्यालयका हाइपरसोनिक्स कार्यक्रम क्षेत्रका प्रमुख प्रोफेसर रायन गोसेले दिएका हुन्। यसको पहिलो चरणको विकासका लागि उनीसँगै थप १३ जनालाई अनुसन्धानमा समावेश गरिएको छ । आयोजनाका लागि १२.५ हजार डलर उपलब्ध गराइएको छ । यो अवधारणा कार्यान्वयनमा आएपछि मानिसलाई मंगल ग्रहमा जान निकै सजिलो हुनेछ ।
अहिले प्रयोग भइरहेको प्रविधिमा अन्तरिक्षयानलाई पृथ्वीबाट मंगल ग्रहमा जान ७ देखि ९ महिना लाग्छ । यदि हामीले यही गतिमा मंगल ग्रहमा मानिस पठाउने हो भने हरेक २६ महिनामा एउटा उडान मंगल ग्रहमा पुग्ने विज्ञहरूको अनुमान छ। साथै, मिसन ३ वर्षसम्म मात्र चल्न सक्नेछ । तर, नयाँ प्रविधिबाट मंगल ग्रह जाने बाटो भने सहज हुनेछ । पृथ्वीबाट मंगल ग्रहको यात्रा मात्र ६।५ हप्ताको हुनेछ, जसले मिसनको लागत घटाउने र समय बढाउनेछ । अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणमा मानिसहरूलाई स्वास्थ्य समस्याहरू पनि कम हुने छन्। नासाको यो रकेट कहिले तयार हुन्छ भन्ने बारे कुनै जानकारी भने छैन ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.