‘बैंकको ब्याजदर घटाउनुस्, मौद्रिक नीतिमा गरिएका कडाइ सहज गर्नुस्’

  २०७९ पुष २० गते ११:४६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए ।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.