थप २ आयोजनाको बिजुली भारत निर्यात गर्ने, ४०८ मेगावाट पुग्यो

  २०७९ पुष १२ गते १९:११     विकासन्युज

काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप २ आयोजनाको बिजुली भारत निकासी हुने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुनेछ । पछिल्लो विवरण अनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ । तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ ।

आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ । उनका अनुसार काबेली बी वान २४.२५ मेगावाट र तल्लो मोदी १९.४ मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कूल ४५२.६ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ ।

प्राधिकरणले गत पुस ३ गतेसम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा २ वटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ देखि ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत कात्तिक १८ र ३० गतेदेखि थप २ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै ८ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोतमानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०८ मेगावाट बराबर पुगेको थियो । आज प्राप्त भएको अनुमति थप हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आव २०७९/८० को ३ पुससम्ममा १ अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको रकम आर्जन गरेको हो ।

आइएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.