नुवाकोटमा स्वतन्त्र पार्टीका पाण्डे ठूला पार्टीलाई भारी, सफल व्यवसायीको ट्यागले जित्नेमा ढुक्क

  २०७९ कार्तिक २५ गते ११:५०     विकासन्युज

काठमाडौं । मतदाताले निर्वाचनमार्फत आफ्नो मत अभिव्यक्त गर्न अब केही दिन मात्रै बाँकी छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो प्रचार–प्रसारलाई पछिल्लो समयमा निकै तीव्र बनाएका छन् । विगतमा आफ्नो सांगठनिक विरासत नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक नुवाकोट २ मा राम्रो उपस्थिति देखाएको छ ।

सत्ता गठबन्धन र एमालेबाट पुरानै उम्मेदवारहरु दोहोरिएको अवस्थामा लामो समयसम्म पर्यटन व्यवसाय गर्दै आएका सुमन बिक्रम पाण्डे यसपटक सो क्षेत्रमा नयाँ प्रतिस्पर्धीको रुपमा उदाएका छन् । उनी लामो समयदेखि एयरलाइन्स, ट्राभल एजेन्सी, लगायत विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएका सफल व्यवसायी हुन् । यसपटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुराना अनुहारलाई हराउँदै ‘ह्याट्रिक’ गर्ने दाउमा उनको उपस्थिति देखिएको छ ।

पाण्डेले ठूला राजनीतिक दलमा वितृष्णा पैदा भएका र नयाँ पुस्ताका मतदातालाई आफ्नो पोल्टामा पार्ने दाउमा प्रचार गरिरहेका छन् । ठूला राजनीतिक दलका उम्मेदवार दोहोरिरहेको र सो क्षेत्रको विकासमा उनीहरुको आवश्यक योगदान रहन नसकेको विषय उम्मेदवार पाण्डेको मुख्य प्रचारको सामग्री बनेको छ । आफू पर्यटन क्षेत्रको विषयमा जानकार तथा सफल व्यवसायी भएको नाताले सो निर्वाचन क्षेत्रमा रहेका सम्भावित पर्यटन क्षेत्रलाई पनि उनले प्रचारमा समेटेका छन् ।

पाण्डेले आफ्नो घोषणापत्रमा नुवाकोटमा औद्योगिक विकासको लागि ‘नुवाकोट विकास मन्च’ गठन गर्ने, बेत्रावतीदेखि गल्छीसम्मको सडकलाई राजमार्गको रुपमा विकास गर्ने र नुवाकोटमा काठमाडौंको वैकल्पिक शहरको विकास गर्न सबै पालिकाहरुको समन्वयमा गुरुयोजना निर्माण गर्ने विषयको उठान गरेका छन् । त्यस्तै, उनले नुवाकोटमा कला सम्मेलन, अन्तर्राष्ट्रिय स्तरको शिक्षालय, अस्पताल र अध्ययन केन्द्र लगायतका विषयहरुको शुरुवात गर्ने विषयलाई आफ्नो घोषणापत्रमा समेटेका छन् ।

ठूला राजनीतिक दलहरुले उनीहरुबीचमा नै प्रतिस्पर्धा सीमित रहेको अनुमान गरेको गरिरहेको बेला पाण्डेले पनि समान स्तरमा जनपरिचालन गर्न सफल भएको देखिन्छ । जनस्तरमा संगठनको आधार नभएकाले उनलाई जनतामा देखिएको आफू पक्षको लहरलाई चुनावसम्म कसरी जोगाउने भन्नेमा भने निकै चुनौति देखिएको छ ।

आफू प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित भएपछि आफ्नो ३ दशकको व्यवसायिक अनुभवका आधारमा मुलुकमा पर्यटन क्षेत्रको विकासमा आफूलाई समर्पित गर्ने पाण्डेले बताएका छन् । विज्ञ समूहको निर्माण गरी राज्यको कानून निर्माण प्रकृयामा संसदमा आफ्नो ओजपूर्ण उपस्थिति जनाउने उनले बताएका छन् ।

पाण्डेको घरदैलो कार्यक्रम ।

सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा (एमाले)को तर्फबाट नारायणप्रसाद खटिवडा पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीलाई हराउँदै बामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका थिए ।

विगतमा बाम गठबन्धनको साझा उम्मेदवारले सो क्षेत्रबाट विजयी हासिल गरेकोमा यसपटक सत्ता गठबन्धनको साथ पाएकोमा आफूले सहज ढंगले विजय हासिल गर्नेमा कांग्रेसका नेता अर्जुननरसिंह केसी ढुक्क रहेका छन् । तर, उनी उमेरले धेरै वृद्ध भएको र नुवाकोटको विकासको लागि महत्वपूर्ण योगदान गर्न नसकेको भन्दै आलोचना हुने गरेको देखिन्छ ।

ठूला राजनीतिक दलहरुले आफ्नो प्रवृत्तिलाई धेरैपटकको अवसरमा पनि सुधार नगर्दा निराश हुन पुगेका जनताको बैकल्पिक उम्मेदवार हुन पुगेका सुमन बिक्रम पाण्डेले मत प्रकट गर्ने दिनसम्म नुवाकोटमा उनको पक्षमा देखिएको लहरलाई बचाउन सकेमा उनकाे जितलाई कसैले पनि नकार्न नसक्ने अवस्था आउन सक्छ ।

को हुन् उनी ?

पर्यटन व्यवसायीको क्षेत्रमा राम्रो छवि बनाएका पाण्डेले विभिन्न संघ संस्थामा रहेर काम गरिरहेका छन् । उनले ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्ष रुपमा पनि काम गरिसकेका छन् । यसका साथै नेपाल पर्यटन बोर्डका सदस्य, अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्टका संयोजक, प्यासेफिक एशिया ट्राभल एशोसियशन नेपाल च्याप्टरका अधयक्षका रुपमा पनि काम गरिसकेका छन् ।

यस्तै, उनले एयरलाईन्स अपरेटर एशोसियसनको उपाध्यक्ष, नेपाल तेकान्दो संघ बागमती प्रदेश संरक्षक, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति नुवाकोट समूह अध्यक्षका रुपमा पनि काम गरिसकेका छन् । उनीसँग फिस्टेल एयर हेलिकप्टरको प्रमुख कार्यकारी अधिकृत (अहिले सञ्चालक), समिट एयरका संचालक, एलफ्ट काठमाडाैं होटल र छाँयादेवी कम्प्लेक्सका सञ्चालको रुपमा पनि काम गरिरहेका छन् ।

उम्मेदवार सुमन बिक्रम पाण्डेको चुनावी घोषणापत्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.