एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड

  २०७९ असोज ७ गते १५:२७     विकासन्युज

चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् ।

कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य समन्वय र पहल’ कार्यक्रममा सहभागीले स्वास्थ्य सेवाको गुणस्तर थप सुधार्न मिलेर काम गर्न सकिने जनाएका हुन् ।

भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, एनपिआइ नारायणी सामुदायिक अस्पताल र निजी अस्पताल समन्वय समितिका प्रमुख र प्रतिनिधिले समन्वयात्मक ढङ्गले काम गर्न यहाँको स्वास्थ्य सेवा थप सुदृढ हुनेमा जोड दिनुभएको थियो । यहाँका अस्पतालले पहिचानसहितको ‘एक अस्पतालः एक विशिष्टीकृत सेवा’ दिनुपर्नेमा पनि उनीहरुको भनाइ थियो ।

एक अस्पतालमा नभएका सेवा जिल्लाकै अर्को अस्पतालमा रिफर गर्ने, दुई वा त्योभन्दा बढी अस्पतालका चिकित्सक मिलेर एकै ठाउँमा जटिल उपचार र शल्यक्रिया एक साथ गर्ने, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनजस्ता जटिल कार्यसँगै गर्ने कुरामा सहभागीको एकमत रहेको थियो । यहाँका दुई सरकारी अस्पताल, दुई मेडिकल कलेज २२ वटा निजी अस्पतालमा दैनिक सात हजार हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । चितवनसहित देशैभरबाट बिरामी यहाँ आउने गर्दछन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लाका ‘एक अस्पतालमा एक विशिष्टिकृत विशेष सेवा दिने गरी तयारी गर्नुपर्ने बताए । उनले भने, ‘प्रसूतिका लागि भरतपुर अस्पताल उत्कृष्ट भने जस्तै मेडिकल कलेज र अन्य अस्पतालमा एउटा सेवामा विशेष जोड दिउँ । जसले गर्दा बिरामी बाहिर जानु पर्दैन ।’ हतारहतारमा बाहिरबाट बिहान आएर बिरामी जाँचेर बेलुका फर्कनुपर्ने अवस्था चितवनमा अब नरहेको उनले बताए ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेले यहाँ भएका सेवालाई थप विशिष्टीकृत गर्दै नभएका सेवा भित्र्याउनुपर्नेमा जोड दिए । उनले गुणस्तरीय सेवामा सबैले जोड दिनुपर्ने बताए । उनले भने, ‘हामी चिकित्सक मात्रै होइन, यहाँका नागरिक पनि हौँ, यसको स्वास्थ्य क्षेत्रको विकासमा हाम्रो भूमिका आवश्यक छ ।’

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले जिल्लामा सेवा विस्तार राम्रो हुँदै गएको भन्दै थप गुणस्तरमा जोड दिनुपर्ने बताए । सरोकारवाला मिलेर काम गर्दा बिरामीलाई समेत फाइदा पुग्नेमा उनको जोड थियो । उनले भने, ‘अब हामी नेपालको कुनै ठाउँमा भन्दा उपचारमा कमजोर छैनौँ ।’ भारत र अन्य देशसमेत जाने बिरामीलाई रोक्ने गरी पूर्वाधार, उपकरण र जनशक्ति जिल्लामै रहेको उनले बताए ।

कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा भी नटराज प्रसादले आफूले साँझ अबेर काठमाडौँमा भिडियो एक्सरे गर्ने चिकित्सक नभेटेको उहाहरण दिँदै उनले यहाँको सेवा उत्कृष्ट रहेको बताए । उनले भने, ‘यतिले हामीलाई सन्तुष्टि हुँदैन थप गुणस्तरीय सेवा दिनुपर्छ, त्यसका लागि सबै मिलेर काम गर्नुपर्छ।’ उनले थपे, ‘पहिलो काम मिलेर अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापनको काम गरौँ ।’ सरोकारवालासँगै मिलेर काम गर्नसकेमा स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्नेमा उनको थियो ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा मनोहर प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल, एनपिआइ नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक विष्णु कुँवर र निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले समन्वयमा काम गर्नसकेमा काममा सहजतासँगै गुणस्तरमा सुधार आउने बताए । जिल्लामै उत्कृष्ट सेवा दिन सकिने भए पनि उचित प्रचारप्रसारको अभावमा बिरामी बाहिर जाने गरेको भन्दै उनीहरुले नेपालमा हुने स्वास्थ्य सेवा यही दिन सकिनेमा जोड दिए ।

छलफलपछि जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा लम्साल र नारायणी सामुदायिक अस्पतालका कुँवर सदस्य छन् ।

आयोजक सस्था कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जिल्लाका सरोकारवाला निकाय सहित अस्पतालका प्रमुखका उपस्थितिमा सम्पन्न कार्यक्रम भएको पहिलो भएको कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.