काठमाडौं महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

  २०८१ वैशाख १६ गते ८:०२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको महानगरले जनाएको छ ।  बेलुकाको समय भने परिवर्तन भएको छैन ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागु हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौं महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.