वर्णबास म्युजियम होटल भन्छ : खोला मिचेर होटल बनाएका छैनौं

  २०७९ भदौ २९ गते १७:२३     विकासन्युज

काठमाडौं । बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ले भवन निर्माण गर्दा महानगरबाट नक्शा पास भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण गरिएको जनाएको छ ।

हाेटलले भविष्यमा टुकुचा किनाराबाट विस्तार हुन सक्ने सडकलाई प्रचलित नियमअनुरुप मार्ग प्रशस्त गरिएको समेत बताएकाे छ ।

बुधबार विज्ञप्ति जारी गर्दै होटलले निर्माण सुरू गर्नु अगाडि नै प्रारम्भिक वातावरणीय परीक्षा पनि पास गरेको जनाएको र भवन निर्माण गर्दा नक्शा पास भए अनुरुप नै बनाइएको विज्ञप्तिमा बताइएको छ ।

होटलले काठमाडौं महानगरको भवन निर्माणसम्बन्धी नीतिले टुकुचा खोलाको किनाराबाट होटलको जमिनतर्फ ५ मिटर छाड्नुपर्ने वा मध्यभागबाट छाड्नुपर्ने भनेर स्पष्ट नपारे पनि निर्माणाधिन संरचनाको चारैतिर ५.५ मिटर जमिन छाडिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

काठमाडौं महानगर, नापी विभागबाट पटक-पटक जग्गा नाप्दा पनि त्रुटी नभेटिएको होटलको दाबी छ ।

खोलामा पानीको बहाव बढ्दा हुन सक्ने क्षतिलाई न्यून गर्न पक्की कम्पाउन्ड लगाइएको र सडकलाई आवश्यक पर्ने जमिन पनि खाली गरी कुनै संरचना निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भएको होटलको लगानी एक अर्ब १६ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.