उजुरी परेकै आधारमा थुन्ने प्रवृत्ति गलत, आरोप प्रमाणित भएपछि मात्रै कारबाही गर्न माग

  २०८१ जेठ १० गते १२:५४     विकासन्युज

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो–कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको जनाएका छन् । कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने जनाएका छन् ।

विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेको स्मरण गराएका छन् ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने माग रहेको तीन वटै संस्थाले जानकारी गराएका छन् ।

‘थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह गरेको स्मरण गराएका छन् । यो अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिन नहुने संयुक्त सुझाव रहेको छ ।

‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन । अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ’, जारी सयुक्त विज्ञप्तिमामा भनिएको छ, ‘उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ ।’

देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.