ढिलो विवाहले निःसन्तानपनको समस्या बढाउँछ : डा. शाक्य

  २०८१ जेठ १० गते १२:४४     विकासन्युज

भोलीको उज्वल भविष्यको कल्पनाले आजभोलि विवाह गर्ने युवा युवतीको उमेर बढ्दै गएको छ । अधिकांशकाे प्राथमिकता विवाहभन्दा जागिर पर्छ । व्यस्त जीवनशैलीकै कारण विवाह धेरै पछारिन्छ । तर, विशषेज्ञहरूले यसले पछि समस्या निम्त्याउने धारणा राख्छन् । व्यस्त जीवनशैली तथा ढिलो विवाहले निःसन्तानको समस्या सिर्जना गर्ने उनीहरूको धारणा छ । पछिल्लो समय नेपालमा पनि निःसन्तानपनको समस्या बढ्दै गएको छ । निःसन्तानपन, आईभीएफ प्रणाली र समस्या समाधानका लागि अपनाउनु पर्ने विधि लगायतको विषयमा स्त्री तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसँग कुराकानी गरेका छौं ।

निःसन्तानपन भनेको के हो ?

कुनै पनि दम्पती परिवार नियोजनका साधन प्रयोग नगरी एक वर्षसम्म सँगै बस्दा पनि गर्भधारण हुन सकेन भने निःसन्तानपन भनिन्छ । यदि यही कुरा महिलाको उमेर ३५ वर्षभन्दा बढी भयो भने ६ महिनामात्र पनि सँगै बस्दा पनि बच्चा बसेन भने यो समस्या भएको मान्न सकिन्छ । यस्तो हुँदा, गर्भ नरहने, बसिहाले पनि तुहिने समस्या हुन्छ । निसन्तानपन भएको भनिन्छ ।

निःसन्तानपन के कारणले हुन्छ ?

महिलाको हकमा नली बन्द हुँदा यस्तो समस्या देखिन्छ । अर्को डिम्बमा अण्डाको विकास राम्ररी नहुनु हो । जसको महिनावारी समयमा हुँदैन उसमा राम्ररी अण्डाको विकास हुँदैन । त्यस्तै पाठेघरमा मासु पलाउदा पनि यस्तो समस्या देखिन्छ । अर्को, श्रीमान श्रीमती दुवैमा जाँच गर्दा राम्रै देखिने तर कारण पत्ता नलाग्ने र महिलाको उमेर बढ्दै जाँदा डिम्बको भण्डारण घट्दै जाँदा पनि बच्चा नबस्ने हुन्छ भने पुरुषको हकमा शुक्रकिटको मात्रा जति हुनुपर्ने हो त्यती नहुनु र बनावटमा समस्या भयो भनेपनि बाझोपन अथवा निसन्तानपन हुन्छ । निसन्तानपन महिला र पुरुष दुवैमा हुन्छ ।

महिलाको पाठेघरको नली बन्दा हुँदा के हुन्छ ?

मुख्यतया महिलाको पाठेघरमा दुइटा नली र दुइटा डिम्ब हुन्छ । एउटा साइडमा अण्डा निस्कन्छ र त्यही नलीबाट जान्छ जब श्रीमानसँग सम्पर्कमा बसिन्छ तब शुक्रकिट यौनीबाट माथि गएर नलिसम्म पुग्नुपर्छ । बच्चा सुरुमा भु्रण बन्नेक्रम नलीमा हुन्छ । त्यहाँ भु्रण बनिसकेपछि बल्ल पाठेघरभित्र जान्छ । यो नली नै बन्द भइदियो भने बच्चा बस्दैन । एउटा मात्र नली बन्द भइदियो अर्को ठिक छ भने खुल्ला रहेको नलीबाट पनि अण्डा आउन सक्छ । यसो भयो भने गर्भ रहने सम्भावना हुन्छ । तर, बन्द रहेको तर्फबाट धेरै आयो भने बच्चा बस्ने सम्भावना कम हुन्छ । फेरि दुवै नली बन्द भयो भने बच्चा हुन गाह्रो हुन्छ ।

यस्तो समस्याको यसको उपचार के हुन्छ ?

एउटा मात्र नली बन्द छ अर्को ठिक छ भने महिलाको उमेर र शुक्रकिटको मात्रा हेरेर आईवाई प्रणाली प्रयोग गर्न सकिन्छ । दुवै नली बन्द छ भने यस्ता दम्पतीबाट आभीएफ प्रणाली (इनभिट्रो फर्टिलाइजेशन) अथवा टेस्टयुब बेबीको लागि सल्लाह दिइन्छ ।

एउटा पुरुषमा शुक्रकिटको मात्रा कति हुनुपर्छ ?

एक एमएलमा शुक्रकिटमा १५ मिलिएन मात्रा हुनुपर्छ । मात्रा मात्र नभई चाल पनि हुनुपर्छ । १५ मिलिएनमा ३२ प्रतिशत रफ्तारमा दगुर्न सक्नुप¥यो । सँगै यसको बनावट पनि राम्रो हुनुपर्छ । शुक्रकिटको टाउको र पुच्छर हुन्छ । कसैको दुइटा पुच्छर हुने, कसैको टाउको वा घाँटीमा डल्लो आइदिने अथवा टाउको पनि गोलो भइदियो भने अण्डा छेड्न सक्दैन । एउटा शुक्रकिट स्वस्थ्य र राम्रो हुनको लागि मात्रा, चाल र बनोट राम्रो हुनुपर्छ ।

पुरुषको आईभीएफ कुन अवस्थामा गर्ने ?

शुक्रकिटको संख्या एकदम कम भयो । मानौं, १५ मिलियन हुनु पर्नेमा, एक÷दुई मिलियन कम भयो भनेपनि आईएभीएफ गर्नुपर्छ । अर्को कुरा त्यही चाल र मात्रामा कमी आएपनि पुरुषको आइएभीएफ गर्नुपर्छ ।

औषधी खाएर यस्तो समस्याको समाधान गर्न सकिँदैन ?

शुक्रकिटको मात्रामा परिवर्तन आउनुमा पुरुषहरुको जीवनशैलीले पनि धेरै महत्व राख्छ । चुरोट खाने, रक्सी खाने, तारेको कुरा धेरै खाने र धेरै मोटाउने कारणले गर्दा पनि विर्यमा समस्या आउँछ । धेरै तातोमा बस्दा, काम गर्दा पनि यस्तो समस्या आउँछ । कसैको काखमा ल्यापटप राखेर काम गर्ने बानी हुन्छ, गाडी चलाउने, गर्मीले शुक्रकिटलाई धेरै अवरोध गर्छ । यसको उदाहरण हो वैदेशिक रोजगार, वैदेशिक रोजगारीमा गएका विशेष गरेर खाडी बसेर आएका पुरुषहरूमा यस्तो समस्या बढी देखिएको छ ।

नेपालमा अवस्था कस्तो छ ?

विगतमा निःसन्तानपन भन्ने बित्तिकै महिलामा मात्र हुन्छ भन्ने भनाइ थियो । तर, अहिलको अवस्था हेर्दा पुरुषमा पनि उत्तिकै निःसस्तानपन बढिरहेको छ । पहिले परीक्षण गर्न पनि पुरुष त्यति नआउने गरेकोमा अहिले दम्पतीहरू नै अस्पताल पुग्ने गरेका छन् । यसरी हेर्दा महिला र पुरुष दुवैमा निःसन्तापनको समस्या देखिरहेको छ ।

कम उमेर समूहका व्यक्तिमा यस्तो समस्या देखिदैन ?

यस्तो समस्या २१/२२ वर्षका युवा युवतीमा पनि देखापर्छ । समयभन्दा अगाडि नै डिम्बले काम गर्न छोड्ने हुन्छ । यस्तोमा अण्डा नै नबन्ने हुँदा, २२/२३ वर्ष उमेर समूहका दम्पतीले पनि आईभीएफ प्रणालीमा जानुपर्ने हुन्छ ।

सन्तान जन्माउन उमेरले के प्राभव पार्छ ?

जति २५/३० वर्षको उमेरमा बच्चा जन्माएको राम्रो हुन्छ, त्यति ३५ वर्ष माथि जन्माउँदा राम्रो हुँदैन । किनकि ३५ वर्ष माथी अण्डाको गुणस्तर र संख्या घट्दै जान्छ । त्यसैले बच्चा जन्माउँदा २५ वर्ष देखि ३० वर्ष भित्रको उमेरमा जन्माइ सक्नुपर्छ । ३० वर्षभित्र सकिएन भने ३५ वर्षभित्र बच्चा जन्माइसकेको राम्रो हो । यदि ढिलै बच्चा जन्माउने योजना छ भनेपनि महिला पुरुष दुवै जनाले विशेषज्ञसँग सल्लाह गरेर अण्डा र शुक्रकिट भण्डारण गर्न सकिन्छ । पुरुषको हकमा भने ५०÷६० वर्षसम्म पनि शुक्रकिट उत्पादन हुन्छ । तर, उसको गुणस्तर राम्रो हुँदैन । पुरुषले पनि सकेसम्म ३५/४० वर्ष भित्र बच्चा जन्माइसकेको राम्रो हुन्छ ।

के हामीले यस्तो समस्याबाट बच्न खानपानमा ध्यान दिँदा हुन्छ ?

खानपानमा पनि ध्यान दिनुपर्छ । हामीले जुन खाना खाइरहेका छौं । त्यसमा रसायन धेरै हुन्छ । यसले पनि हाम्रो शरीरमा नकरात्मक असर गर्छ । अर्को कुरा चिल्लो धेरै खायो, धेरै मोटायो भने आफैं अण्डा बन्ने क्षमता पनि कम हुन्छ । महिला र पुरुष दुवैमा यसले असर गर्छ । जुन दम्पतीले बच्चा बनाउने योजना बनाउनुभएको छ उहाँहरूले स्वस्थ जीवनशैली मेन्टेन गनुपर्छ । जसमा फलफुल, प्रोटिन भएका खानेकुरा कागती पानी खाने गर्नुपर्छ ।

महिनावारी गडबडीले पनि बच्चा बस्न गाह्रो हुन्छ ?

हरेक महिलाको महिनामा एक पटक डिम्बबाट अण्डा निस्कन्छ । अण्डा निस्केको १४ दिनपछि महिनावारी हुन्छ । जसको महिनावारी अनियमित हुन्छ उसको अण्डा निस्केको हुँदैन । यसो हुँदा पाठेघरको लाइन बढ्दै जान्छ र उसले थेग्न नसकेपछि बल्ल महिनावारी हुन्छ । यस्तो अवस्थामा अण्डा नै ननिस्केपछि बच्चा बस्ने चान्स हुँदैन । अनियमित महिनावारी हुनेहरुका लागि ठ्याक्क यो बेला बच्चा बस्छ भन्ने हुँदैन ।

सन्तान जन्माउने योजना बनाउनु अगाडि चेकजाँच आवश्यक छ ?

एकदम आवश्यक छ । हामी यसलाई फर्टिलीटी वर्कसप नै भन्छौं । अहिले धेरै दम्पती विवाहपछि धेरै दम्पती अहिले सल्लाह लिन आउनुहुन्छ । कहिलेकाँही महिला या पुरुषमा सुगर, थाइराइड र प्रेसरको समस्या आउन सक्छ । यस्तो बेला बच्चा बसिदियो भने खेर जाने सम्भावना पनि हुन्छ । बच्चा बनाउने योजनाको तीन महिना अगाडि एकपटक डाक्टरसँग सम्पर्क राखेर चेकजाँच गराउनुपर्छ ।

आईभीएफ भनेको के हो ?

महिलाको डिम्बबाट सकेसम्म धेरै अण्डा बनाएर, महिलालाई बेहोस गरी अण्डा झिक्ने हो । यसरी झिकेको अण्डा त्यही दिन श्रीमानको शुक्रकिटसँग मिलाएर भ्रुण बनाउने र यसरी बनेको भु्रणलाई महिलाको पाठेघरमै राखिने प्रक्रियालाई आईभीएफ भनिन्छ । भु्रण बन्ने प्रक्रिया ल्याबमै हुन्छ ।

कस्तो अवस्थामा आईभीएफ प्रणालीमार्फत पनि बच्चा जन्माउन नमिल्ने हुन्छ ?

महिलामा पाठेघरमा धेरै समस्या हुँदा मिल्दैन । जस्तै मासु पलाएको भए, भ्रुण राख्ने ठाउँ पातलो भए यो प्रार्णाली मार्फत पनि बच्चा जन्माउन मिल्दैन । डिम्बको भण्डार कस्तो छ, राम्रो छ कि छैन । पुरुषको शुक्रकिट राम्रो छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ । योजना बनाउनु अगाडि नै जाँच गर्दा पछि समस्या आउँदैन । मेरो समस्या के छ, मेरो शरीर कस्तो छ, स्वस्थ्य छु कि छैन भन्नेबारे समयमा जानकारी लिएको राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.