बीमितहरुले पाएनन् साढे २७ अर्ब रुपैयाँ, कुनले कति दिन बाँकी ?

  २०७९ साउन २३ गते ९:१५     विकासन्युज

काठमाडौं । बीमा गरेका बीमितिहरु साढे २७ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी पाउनबाट बञ्चित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जीवन र निर्जीवन बीमा गर्ने दुबैं प्रकारका बीमितले दावी गरेबापत २७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ बराबरको भुक्तानी नपाएका हुन् ।

बीमा समितिका अनुसार जीवन बीमाका बीमितले ६ अर्ब ६ करोड र निर्जीवन बीमाका बीमितले २१ अर्ब ४३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी नपाएका हुन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल १ लाख ५८ हजार ५७४ वटा बीमालेखबाट सो रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको हो ।

समितिले बीमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणको प्रतिवेदन अनुसार प्रभु लाइफ र रिलायबल लाइफबाहेक बाँकी ३७ वटा कम्पनीले आफ्ना बीमितहरुलाई समयमा दावी भुक्तानी दिन सकेका छैनन् ।

निर्जीवन बीमातर्फ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी दावी भुक्तानी दिन बाँकी छ । प्रिमियरले आफ्ना बीमितहरुलाई एक वर्षको अवधिमा ५ हजार ६५४ वटा बीमालेखबाट २ अर्ब ९५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको छ ।

त्यस्तै, एक अर्ब रुपैयाँभन्दा बढी दावी भुक्तानी नदिनेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा नेको, सगरमाथा, एनएलजी, आईएमई जनरल, शिखर, नेशनल, अजोड र सिद्धार्थ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई १ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ ।

रकमको आधारमा दावी भुक्तानी नदिनेमा प्रिमियर इन्स्योरेन्स अगाडि रहेको संख्याको आधारमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले ९ हजार ९८५ वटा बीमालेख संख्याबाट १ अर्ब ७१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ ।

त्यसैगरी, नेपाल र यूनाईटेड इन्स्योरेन्सले क्रमशः ९५ करोड ५३ लाख र ९५ करोड ७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । सबैभन्दा कम दावी भुक्तानी बाँकी रहनेमा सानिमा इन्स्योरेन्सको छ । इस्योरेन्सले बीमितहरुलाई २ हजार ३१३ वटा बीमालेखबाट ४१ करोड ५८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छैन ।

कुनले कति दिन बाँकी ?

यता जीवन बीमातर्फ सबैभन्दा बढी दावी भुक्तानी नगर्नेमा सरकारी कम्पनी रहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले गत वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छैन । संस्थानले आफ्ना बीमितहरुलाई २२ हजार १९८ वटा बीमालेखबाट दावी भुक्तानी गर्न बाँकी छ ।

त्यसैगरी, नेपाल लाइफका बीमितले १ अर्ब ३३ करोड रुपैयाँ र नेशनल लाइफकाले ९४ करोड ९८ लाख रुपैयाँ बराबरको भुक्तानी पाउन बाँकी छ । संख्याको आधारमा हेर्ने हो भने नेशनल लाइफले सबैभन्दा बढी अर्थात ११ हजार १२९ वटा बीमालेखको दावी दिन बाँकी छ ।

त्यस्तै, १ करोडभन्दा बढी र ९५ करोडभन्दा कम रुपैयाँ बराबरको दावी नतिर्नेको सूचीमा अधिकांश कम्पनीहरु रहेका छन् । जसमा नेशनल लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्राइम, एशियन, ज्योति, यूनियन, महालक्ष्मी, सूर्या, आईएमई र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् ।

रिलायन्स लाइफले ७८ लाख, सानिमा लाइफले ५७ लाख, सन नेपालले ३१ लाख र गुराँस लाइफले दावी परे वापत १९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ । यता प्रभु र रिलायबल लाइफ इन्स्योरेन्सको तथ्यांक आउन बाँकी रहेको समितिले जनाएको छ ।

कुनले कति दिन बाँकी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.