आदर्श लघुवित्तले आईपीओबाट उठेको रकम कर्जामा लगानी गर्ने, शाखा विस्तारमा विशेष जोड

  २०७९ असार १ गते ९:५५     विकासन्युज

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । संस्थाले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

संस्थाले एक सय रुपैयाँ अङ्कित मूल्यको कुल ६७ हजार कित्ता साधारण सेयर जारी गर्न गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता साधारण सेयरहरु वित्तीय संस्थाको सेवामा रहेका कर्मचारीहरुका लागि छुट्याएर सुरक्षित गरेको भने ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता साधारण सेयरहरु सामूहिक लगानी कोषको निम्ति छुट्याएर सुरक्षित राखेको छ । र, बाँकी रहेको ६२ लाख ६१७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । क्यापिटलका अनुसार इच्छुकले असार १ गतेदेखि असार ५ गतेसम्म (बैंकिङ्ग समय भित्र) मा आवेदन दिईसक्नुपर्ने छ । उनीहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार कित्ता अर्थात एक लाख रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

आइपीओ जारी गर्न लघुवित्तले केयर रेटिङ्ग नेपालबाट केयर एनपी बी प्लस आईएस पाएको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँछ ।

हाल संस्थाको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ नाघ्ने छ ।

आईपीओबाट उठेको रकम कहाँ लगानी हुन्छ ?

संस्थाले आईपीओ जारी गरेपश्चात ६७ लाख रुपैयाँ बराबरको रकम उठाउने छ । जुन संस्थाले कृषि, पशुपालन, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा लगानी गर्ने जनाएको छ ।

कम्पनीको योजना
नेपाल राष्ट्र बैंकबाट २०७५ कार्तिक २५ गतेदेखि ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न ईजाजत पाएको संस्थाले सोही वर्ष पुसदेखि औपचारिक रुपमा वित्तीय कारोबार शुरु गरेको हो । संस्थाले हाल ७ वटा शाखामार्फत ५ जिल्लामा आफ्ना विभिन्न सेवाहरु दिँदै आउको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको लघुवित्तले आगामी तीन वर्षमा शाखा विस्तार गर्नेदेखि निक्षेप संकलन गर कर्जा लगानीको दायरा बढाउने लक्ष्य लिएको छ । हाल केन्द्रीय कार्यालयसहित ८ वटा शाखा रहेको संस्थाले आर्थिक वर्ष २०८२/८३ सम्ममा कम्तिमा पनि थप ३ वटा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

त्यस्तै, सो अवधिमा निक्षेप १७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ४३ करोड ७१ लाख रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य छ । जुन अहिले क्रमशः १३ करोड ७६ लाख र २६ करोड ८३ लाख रुपैयाँ छ । र, समीक्षा अवधिमा सेवाग्राहीको संख्या करिब ११ हजार पुर्याउने लक्ष्य पनि संस्थाले लिएको छ ।

यस्तो छ संस्थाको प्रक्षेपण
आगामी तीन वर्षमा संस्थाको नाफा घटेर ३ लाख ९१ हजार रुपैयाँ पुग्ने लघुवित्तको प्रक्षेपण छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा संस्थाले २५ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ १३२.३४ रुपैयाँ र प्रतिसेयर आम्दानी २५ रुपैयाँ पुग्ने प्रक्षेपण छ । जुन आर्थिक वर्ष २०७७/७८मा क्रमशः १२२.८८ र ५.१३ रुपैयाँ रहेको थियो ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राजेश शर्मा रहेका छन् । त्यस्तै, वरिष्ठ प्रबन्धकमा ध्रुव कुमार बजिमय र पुष्पराज ढकाल रहेका छन् । वरिष्ठ प्रबन्धक बजिमय कम्पनी सचिव समेत हुन् । हाल संस्थाको सञ्चालक समितिमा ५ जना रहेका छन् । अधिकांश महिला रहेको समितिको अध्यक्षमा सूर्यकुमारी श्रेष्ठ, सञ्चालकमा नीलिमा काफ्ले, सुसन कर्माचार्य, प्रभा धिताल र गोकुल चन्द्र अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.