राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल, कार्यदल पनि गठन

  २०७९ जेठ २८ गते १८:५२     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरु सङ्कलन गर्ने उद्देश्यले ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदैगर्दै अर्थमन्त्री शर्माले सरकारले बजेटमा बीमा सहित पूँजी बजारलाई प्राथमिकता दिएको बताए ।

देशका सबै क्षेत्र र बर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने, बीमा कम्पनीले नाफामुखी मात्र नहेरी सेवा सहितको उत्तरदायित्व बहन गर्ने र सचेतनापूर्वक ढङ्गे स्वतःस्फूर्तरुपले बीमा गर्ने अवस्था सिर्जना गर्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन, उहाँले निर्देशन दिए ।

अर्थमन्त्री शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुबैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरीव एवम् साना किसानसम्म पु¥याउन निर्देशन दिनुहुँदै ठूला टावरका साथै सरकारी र निजीक्षेत्रका संरचनाहरुको समेत बीमा गर्ने र कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

अर्थमन्त्री शर्माले राष्ट्रिय पूँजी निर्माण र उत्पादनमा बीमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गर्दै बीमा सूचना केन्द्र स्थापना गर्न र हरेक जिल्ला तथा पालिकामा बीमा सम्बन्धी शिक्षा एवम् चेतना फैलाउन बीमा सम्बन्धी तालिमप्राप्त जनशक्ति तयार गर्नुका साथै प्रविधि विकासमा समेत जोड आग्रह गरे ।
साथै, उनले सरकारको मुख्य उद्देश्य गरीबी न्यूनीकरण भएकाले गरीबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन समेत निर्देशन दिए । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बीमालाई आम जनताले विश्वास गर्ने गरी सुरक्षित, व्यवस्थित र विश्वसनीयरुपमा अगाडि लगेमा मात्र नागरिकको हित हुने बताए ।

अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले बीमा क्षेत्रमा व्यवसाय र सेवाबीच सन्तुलन कायम गरी जेष्ठ नागरिक, विरामी र अपाङ्गता भएकाहरुलाई समेत बीमामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरुको सुझाव र बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवम् अभ्यास समेतका आधारमा राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरिएको जानकारी दिँदै राष्ट्रिय बीमा नीति आएपछि सोही नीति अनुरुप प्रदेश र स्थानीय बीमा नीति तर्जूमा हुने विश्वास व्यक्त गरे ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुको स्वागत गर्नुका साथै कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले राष्ट्रिय बीमा नीतिको मस्यौदा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, कृषि तथा पशुपन्छी, कानून, न्याय तथा संसदीय मामिला, गृह, महिला, बालबालिका तथा समाज कल्याण, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगका सहसचिवहरु तथा नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुका साथै बीमा समितिका निर्देशकहरु पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लालको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा राष्ट्रिय बीमा नीतिका सम्बन्धमा प्राप्त सुझावहरुलाई समेटेर व्यवस्थापिका संसद्मा प्रस्तुत बीमा विधेयकसँग तादात्म्य मिलाउने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन एक कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरुमा अर्थ मन्त्रालय, कानून तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिववहरु तथा बीमा समितिका निर्देशक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.