बजार विकासको लागि सरकार सम्वेदनशील छैन, पोलिसी बनाउँदा राष्ट्र बैंक पनि चुक्यो

  २०७९ जेठ २३ गते ११:०६     डा. रेवतबहादुर कार्की

पछिल्लो समय बजारले सुधार खोजिरहेको छ । बजारमैत्री बजेट खोजेको थियो, त्यो भएन । जति सम्बोधन भए, ती सबै पुरानै विषय हुन् ।

रियल क्षेत्रलाई बजारमा भित्र्याइने भनिएको छ । जबकि केही त बजारमा भित्रि नै सकेका छन् । र, अन्य कम्पनी आउनलाई पनि विशेष कार्यक्रम चाहिन्छ । त्यसै आउँदैनन् ।

किनभने उनीहरु प्राइभेट कम्पनी भएर सञ्चालन भइरहेका हुन्छन्, जो रेगुलेटेड फ्रेमवर्क भित्र छैनन् । बजारमा आउने भएपछि उनीहरु रेगुलेटेड फ्रेमवर्क भित्र पर्छन् । त्यसैले रियल सेक्टर बजारमा सजिलै आउँदैन ।

मूख्य त बजारमा तरलता अभाव भयो । व्याजदर बढ्यो । जसले बजारलाई स्वतः असर गर्ने भइहाल्यो । तरलताको समस्या समाधान भयो भने व्याजदर अलिकति मोडरेट हुन्थ्यो ।

अर्को, राष्ट्र बैंकले ल्याएको ४ र १२ करोडको नीतिबाट बजार प्रभावित भयो । शुरुमा ८० करोडसम्म ऋण लिएर लगानी गर्न पाइने सीमा एकैपटक १२ करोडमा झर्यो । यसलाई एकैपटक नघटाई विस्तारै थोरै थोरै गरी घटाउँदा राष्ट्र बैंकको परिपक्कता पनि देखिन्थ्यो भने बजारमा एकैपटक धेरै असर पनि पर्दैनथ्यो ।

बजारमा संरचनात्मक सुधारको आवश्यक छ । पुरानै ढड्ढाको स्टक एक्स्चेञ्जबाट मात्रै सुधार हुन सक्दैन । बजारमा सुधार गर्नुपर्ने एउटै मात्रै होइन, धेरै विषय छन् । दोश्रो बजारकै सफ्टवेयरहरु आधुनिक चाहिने भयो ।

पुँजीगत लाभकर पुँजी बजारकै विकासमा खर्च गर्नुपर्छ

पुँजीगत लाभकर त अहिले लगानीकर्ता अनुसार दुई किसिमबाट भइरहेको छ । यो घटाएर मात्रै बजारको समस्या समाधान हुने होइन । तर, पुँजीगत लाभकर पुँजीबजारकै विकासमा खर्च गर्नुपर्ने हो । तर, हाम्रो सरकारले त्यो गरिरहेको छैन । यस्ता धेरै विषय छन्, जसले बजारलाई प्रभावित पारिरहेको छ ।

सुधार एकतर्फबाट मात्रै होइन, पोलिसीगत सुधार पनि आवश्यक हुन्छ । पोलिसीगत इफिसेन्सी भएपछि लगानीकर्ताको हितको आधारमा बजार परिपक्व हुने हो । तर, बजार विकासको लागि सम्बेदनशील सरकार पनि छैन । र, पोलिसी बनाउने राष्ट्र बैंक पनि चुकेको जस्तो देखिन्छ । सेयर धितोमा लगाइएको क्यापलाई एकैपटक १२ करोडमा नल्याई विस्तारै झारेको भए राष्ट्र बैंकको पनि परिपक्वता देखिन्थ्यो । यसले पोलिसीमा स्थिरता देखिएन ।

बजार ज्याँदै बढ्नु पनि राम्रो होइन र धेरै घट्नु पनि राम्रो होइन । बजारमा स्थिरता ल्याउने हिसावमा बजारका रेगुलेटर लगायत नेपाल सरकार सबैले महत्व दिनुपर्ने हो । यसमा गृहकार्य गर्नुपर्ने । तर यहाँ बजारलाई हेर्ने दृष्टिकोण सबैको फरक छ । कतिपयले त अझै पनि बजारलाई महत्व दिएका छैनन् ।

बजारमा अपरेसनल सुधार, कानुनी सुधार, पोलिसीमा नियमितता हुनुपर्छ । मनिमार्केट रेगुलेटरले बजारलाई बढी हस्तक्षेप गरिरहेको स्थिति देखिन्छ । कमोडिटी मार्केट ल्याउने भनेर अध्ययन भइसकेको थियो । तर हालसम्म पनि त्यसको लाइसेन्स दिन सकिएको छैन ।

देशमा यति लामो समयसम्म तरलताको समस्या हुनुहुँदैन । लामो समयसम्म तरलताको समस्या हुनुले राष्ट्र बैंक के गरिरहेको छ भन्ने प्रश्न आउँछ ।

अब पछिल्लो पटक अनलाइन सबै भइसकेपछि कारोबार बढेको थियो । कारोबार बढ्दा पनि लगानीकर्ताको लागत भने घटेन । उल्टै अनलाइन सेवा शुल्क वर्षको १०० रुपैयाँ भनेर थपिएको छ ।

मर्जर तथा एक्विजिशनमा बुक क्लोज गर्ने व्यवस्था

वास्तवमा मर्जर तथा एक्विजिशनमा सेयर कारोबार रोक्ने चलन थिएन । तर, मर्जर तथा एक्विजिशन गर्छु भनेर ठूलो खेल भएको पाइयो । फलानो गाभ्दै छौं भन्ने । तर राष्ट्र बैंकलाई पनि थाहा छैन, धितोपत्र बोर्डलाई पनि थाहा छैन । यता बजारमा पत्रकार सम्मेलन गर्ने र भटाभट सेयर मूल्य बढाउने खेल शुरु भइसक्ने । जसबाट सीमित लगानीकर्ताले मात्रै फाइदा पाउने । मलाई याद छ, म नेप्सेमा हुँदा हिमचुली फाइनान्स, वीरगञ्ज फाइनान्स लगायत विभिन्न ५ वटा फाइनान्स गाभ्ने भनेर होटल एभरेष्टमा प्रत्रकार सम्मेलन भयो । त्यसको दुई तीन दिनमै तीन सय रुपैयाँ रहेको सेयर मूल्य बढाएर ६/७ सय रुपैयाँ पुर्याइसकेछन् । यति मात्रै होइन, बजारमा यसको मूल्य तीन हजार रुपैयाँ नपुगी रोकिँदैन भन्ने हल्ला समेत भइसकेछ ।

त्यसपछि मैले नेप्सेको बोर्ड बैठक नै नबसी क्राइसिस म्यानेजमेन्ट अन्तर्गत तत्काल कारोबार रोकिदिए । वास्तवमा त्यो बेला बजारमा स्थिरता ल्याउन कारोबार रोक्का गरिएको हो । तर, अहिले मर्जर र एक्विजिशनको नाममा धेरै समस्याहरु आइरहेका छन् । तोकिएको समयमा मर्जरमा नजाने भएकाले लगानीकर्ताहरु त्यसको मारमा छन् ।

यसको लागि केही समय अवधि तोकिनुपर्छ । मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुलाई तिमीहरु यो समयभित्रमा गइसक्नुपर्छ भनेर सीमित समय छुट्याईदिने र त्यो समयसम्म गएनन् भने मर्जर एक्विजिसन भंग गरेर लगानीकर्ताको सम्पत्ति फुकुवा गरिदिनु पर्छ । तर, मर्जरको नाममा वर्षौंसम्म कारोबार रोक्न भने मिल्दैन । यसमा बोर्ड, नेप्से, कम्पनी सबै जिम्मेवार बन्नुपर्छ ।

लगानीकर्तालाई सुझाव

लगानीकर्ताहरुले बजार घट्दा पनि बढ्दा पनि संयमित भएर लगानी गर्नुपर्छ । विवेकशील लगानीकर्ताले प्रायः गुमाउँदैनन् । घट्दो बजारमा पनि उनीहरुले कमाउँछन् । त्यसैले बजारको अवस्था अनुसार स्टक होल्ड गर्ने हो कि बेच्ने हो, त्यो लगानीकर्ता आफैले निर्णय लिनुपर्छ । बजारलाई चलायमान बनाउन बजारको ट्रेण्ड हेरेर, पोलिसीअनुसार बजारको उतारचढावलाई मूल्यांकन गर्दै आफ्नो विवेक पुर्याउनुपर्छ ।

अहिलेको बजार तल्लो लेभलमा नै छ । लगानीकर्ताहरु अझै पनि आशावादी देखिन्छन् । पुँजीबजारलाई सम्बोधन गर्न नसकेको बजेटले अब मौद्रिक नीतिले केही गर्छ कि भन्ने लगानीकर्तामा अझै छ ।

(धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा. कार्कीसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.