बुढानीलकण्ठका ८ मिटरभन्दा फराकिला सडक झलमल्ल पार्न ५५० बत्ती जडान गरिँदै

  २०७९ वैशाख २ गते १०:२१     राजिव न्यौपाने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका विभिन्न सडकका विभिन्न रुटमा स्मार्ट स्ट्रिट लाइट जडान हुने भएका छन् । नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी उक्त बत्ती जडान गर्न लागेको हो ।

सडकका विभिन्न रुटमा ५५० वटा लाइट जडान गर्ने भएको बुढानीलकण्ठ नगरपालिका प्रवक्ता नवराज भट्टराई जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार नगरपालिकाले बत्ती जडान गर्नको लागि टेन्डर भई ठेक्का गरिसकेको छ । करिब ७ करोड रुपैयाँ बजेटमा नगरको विभिन्न स्थानमा उक्त बत्ती जडान हुनेछन् । यसमा ६० प्रतिशत नगरले र ४० प्रतिशत प्राधिकरणको खर्च गर्ने भएको छ ।

‘नगरपालिकासँग सम्झौता भई उक्त काम प्राधिकरणमार्फत गर्ने भनिएको हो, प्राधिकरणले टेन्डर गरेर सम्झौताको प्रक्रिया अगाडि बढाएको छ,’ भट्टराईले भने ।

८ मिटरभन्दा माथि चौडा भएका सम्पूर्ण सडकमा उक्त बत्ती जडान गर्नको लागि टेन्डर गरेको भट्टराईले बताए । स्मार्ट स्ट्रिट लाइट जडानको लागि आवश्यक काम हाल विद्युत् प्राधिकरणबाट भइरहेको छ ।

रातको समयमा सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ उक्त लाइट जडान गर्न लागेको भट्टराईले जानकारी दिए । सम्झौता भएर काम सुरु भएको ४ महिनाभित्र बत्ती जडान गरी सक्ने नगरपालिकाको योजना छ ।

‘नगरका अधिकांश सडकमा बत्ती नहुँदा सवारी चालक र यात्रुले समस्या भोग्नु परेको छ भने रातका समयमा सडक दुर्घटना पनि वृद्धि भइरहेको छ, सडकमा जडान गर्न लागिएको बत्ती आधुनिक प्रकारको हो, यो दिनमा निभ्ने र अँध्यारो भएसँगै बल्ने गर्छ,’ उनले भने

रात्रिकालीन सडक सौन्दर्य तथा सवारी आवागमनको सहजताका लागि नगरपालिका र प्राधिकरणबीच सम्झौता भएको हो । सोलार बत्तीभन्दा स्मार्ट लाइट जडान र मर्मतसम्भारका हिसाबले सस्तो पर्ने भएकाले स्मार्ट लाइट जडान गर्ने निर्णय गरिएको भट्टराईले जनाए ।

१३ पालिकामा लाइट जडान गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले १३ पालिकासँग सम्झौता गरी स्मार्ट स्ट्रिट लाइट जडानको काम अगाडि बढाएको छ । प्राधिकरणले ललितपुर, पोखरा, भरतपुर र काठमाडौं महानगरका सडकको विभिन्न रुटमा स्मार्ट बत्ती (लाइट) जडान गर्ने योजना अगाडि सारेको हो ।

प्राधिकरणले भक्तपुरको विभिन्न ठाउँमा बत्ती जडान गरिसकेको छ । प्राधिकरणका अनुसार पोखरामा ११ करोड रुपैयाँमा १७ सय बत्ती, भरतपुरमा २ हजार बत्ती १२ करोडको लागतमा जोड्ने योजना रहेको छ ।

यसैगरी काठमाडौं महानगरपालिकामा पनि महानगर र नेपाल विद्युत् प्राधिकरण सहकार्य गरी सडकमा २१ सयवटा लाइट जडान हुने भएको छ । विद्युत् प्राधिकरणका अनुसार भ्याटसहित १२ करोड रुपैयाँको लागतमा काठमाडौं महानगका विभिन्न स्थानमा उक्त बत्ती जडान हुनेछन् ।

यस्तै, बेलका, भीमदत्त, भीमेश्वर र कनकाई नगरपालिकामा पनि लाइट जडान गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । कीर्तिपुर, महालक्ष्मी, फिदिम र कटहरी नगरपालिकामा बत्ती जडान गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको प्राधिकरणको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.