यी हुन् लगानी सम्मेलनमा निजी क्षेत्रबाट सोकेस गरिने ३१ परियोजना, कुन क्षेत्रबाट कति ?

  २०८१ वैशाख ११ गते २०:४४     भवानी अधिकारी

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबाट ३१ परियोजना राखिने भएको छ । वैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको सम्मेलनमा निजी क्षेत्रका छाता संगठनहरूले परियोजनाहरू प्रस्तुत गर्न लागेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल नेम्बर अफ कमर्स (एनसीसी), स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान), होटेल संघ नेपाल (हान) सहित निजी क्षेत्रका छाता संगठनले परियोजनाहरू प्रस्ताव गरेका हुन् ।

लगानी बोर्डका अनुसार प्रस्ताव पेस भएकामध्ये सबैभन्दा बढी १९ वटा ऊर्जा क्षेत्रका परियोजना पेस गर्ने तयारी गरिएको छ । बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले ऊर्जा क्षेत्रमा धेरै अध्ययन भएको देखिएको बताए ।

‘अहिले ऊर्जाकै धेरै सम्भावना छ, अन्य परियोजनाभन्दा ऊर्जाका परियोजनाको अध्ययन पनि धेरै भएको रहेछ,’ उनले भने ।

कसरी प्रस्तुत हुनेछन् परियोजना ?

लगानी बोर्डका अनुसार सम्मेलनमा सम्बन्धित छाता संगठनहरूले विज्ञ प्रतिनिधिहरू खटाउनेछन् । उनीहरूका लागि बोर्डले स्टलनहरू उपलब्ध गराएको छ ।

‘हामीले स्टलहरू उपलब्ध गराएका छौँ । उहाँहरूले परियोजनासँग सम्बन्धित विज्ञ व्यक्तिहरू परिचालन गर्नुहुन्छ । अनि लगानीकर्ताहरूले राखेको जिज्ञासाको जवाज दिनुहुन्छ,’ बोर्डका प्रवक्ता उपाध्यायले विकास न्युजसँग भने ।

निजी क्षेत्रबाट महाकाली सेती क्यासकेड जलविद्युत्, सिक्लेस अन्नपूर्ण केबलकार, जाल्पादेवी केबलकार, भरतपुर आइसल्यान्ड रिसोर्ट, मध्य कालीगण्डकी जलविद्युत्, टिपल्याङ कालीगण्डकी जलविद्युत्, आईएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल, पोडवेमा आधारित चुनढुंगा उत्खनन तथा वितरण, हेप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट परियोजना पेस गरिँदै छ ।

यसगरी, नेचुरल एग्रिकल्चर फार्म, कम्पोस्ट मल परियोजना, रिभल्बिङ पार्किङ, अपर सानी भेरी जलविद्युत्, पेल्मा खोला अर्धजलाशय जलविद्युत्, दाना खोला जलविद्युत्, माथिल्लो बुढीगण्डकी जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, ल्याद्रुक मोदी जलविद्युत्, बलेफी खोला जलविद्युत्, नरखोला जलविद्युत्, चुवा खोला क्यासकेड जलविद्युत्, अपर चुवा लुरुप्या जलविद्युत्, अपर अप्सुवा जलविद्युत्, अपर भेरी जलविद्युत्, सुर्के दुधकोशी जलविद्युत्, अपर मस्र्याङ्दी–१ जलविद्युत्, अप्सुवा खोला-१ जलविद्युत्, सगरमाथाको ट्रेलमा १० लक्जरी होटेल स्थापना र गोपीकृष्ण सेन्ट्रल प्लाजा परियोजना निजी क्षेत्रबाट सोकेस गर्न लागिएको छ ।

यसअघि, दोस्रो लगानी सम्मेलन-२०१९ मा सरकारी र निजी क्षेत्र गरी ७७ वटा परियोजना सोकेस गरिएको थियो । त्यतिबेला पनि निजी क्षेत्रबाट ऊर्जा क्षेत्र नै हाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.