हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु, विद्युत् खपत बढाउने उद्देश्य

  २०८१ वैशाख १२ गते १४:१५     विकासन्युज

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु भएको छ । बुधबार काठमाडौंमा विद्युतीय सवारी (इभी) र्यालीसहित हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले इभी र्यालीको शुभारम्भ गरेका हुन् । विद्युतीय सवारी प्रर्वद्धन गर्ने उद्देश्यले एक्स्पोको प्रारम्भमा इभी र्यालीली आयोजना गरिएको हो । र्याली शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।

‘हाइड्रो एक्स्पोअघि सुरु भएको यो र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ,’ उनले भने । हाइड्रो एक्स्पोले नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने उनले विश्वास समेत व्यक्त गरे ।

यस्तै, इपान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफैँ खपत गरौँ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए । ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ,’ उनले भने ।

एक्स्पो आयोजक संस्था इभेन्ट सोलुसनका प्रबन्धक विजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए । र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै एक्स्पो आयोजना स्थल भृकुटी मण्डपमा गएर समापन भएको थियो ।

र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी भएका थिए । र्यालीसँगै भृकुटीमण्डपमा सुरु भएको एक्स्पो शुक्रबार सम्म चल्ने छ । एक्स्पोको औपचारिक उद्घाटन भने बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.