दुई पाँग्रे सवारीमा पौने २१ लाखसम्मको पुरस्कार, कुन कम्पनीको कस्तो अफर ?

  २०७९ वैशाख १ गते १६:१२     विकासन्युज

काठमाडौं । मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनीहरूले नयाँ वर्ष २०७९ का लागि अफरहरू सार्वजनिक गरेका छन् ।

ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न विक्रेता कम्पनीहरूले नगद पुरस्कार, सर्भिसिङमा छुटदेखि स्क्रयाच कुपनका अफर सार्वजनिक गरेका हुन् ।

कोरोना महामारीका कारण बिक्री कम भएका दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर खरिदका लागि कम्पनीहरूले आर्कषण अफर सार्वजनिक गरेका छन् । कोभिड–१९ महामारीपछि ह्वात्तै बढेको दुईपाँग्रे सवारीसाधनको व्यापार केही महिनायता भने ठप्पजस्तै छ । अटो व्यवसायीले बजार चलायमान बनाउन अफरले केही सहयोग पुग्ने विश्वास गरेका छन् ।

नयाँ वर्षको अवसरमा कम्पनीहरूले बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म पुरस्कारको योजना ल्याएका छन् ।

यामाहामा २१ लाखसम्मको अफर

यामाहाले नयाँ वर्षको अवसरमा ‘हजार गुणाले बढाउनुहोस् खुसी’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत यामाहाले एकजना ग्राहकलाई २० लाख ७९ हजार रुपैयाँ दिने जनाएको छ । ग्राहकले यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा आठ हजार ३१६ रुपैयाँदेखि दुई लाख सात हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । कम्पनीले सो अफर चैत्र ०६ गतेबाट सुरु भई आगामी जेठ पहिलो हप्तासम्म चल्ने जनाएको छ ।

मोटरहेड किन्दा दुई लाख छुट

एड्भेन्चर सेग्मेन्ट मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष २०७८ का लागि विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले चैत १५ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि ‘स्क्रयाच एण्ड क्याच द क्यास’ अफर ल्याएको हो ।

सो अफर अन्तरगत तोकिएको समयमा मोटरहेडको नयाँ बाइक खरिद गर्दा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म स्क्रयाच मार्फत छुट पाउन सकिनेछ । यस्तै, स्क्रयाचमा सहभागी ग्राहकमध्येबाट कम्पनीले एक जनालाई दुई लाख सात हजार ९०० रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने जनाएको छ ।

बजाजमा १० लाख पुरस्कार

बजाज नेपालले नयाँ वर्षको अवसरमा ‘बजाजको ५ पञ्च’ अफर सार्वजनिक गरेको छ । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अफर अन्तर्गत ग्राहकले २/३ पटक हैन ५ पटकसम्म जित्ने अवसर भन्दै नयाँ वर्षको अफर सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ वर्ष योजना अन्तर्गत बजाजको नयाँ बाइक खरिद गर्नेमध्येबाट १ जनालाई १० लाख रुपैयाँसम्म पुरस्कार दिने योजना सार्वजनिक गरेको छ । उक्त योजनासँगै कम्पनीले सोचेर, हेरेर, किनेर, भरेर र बम्पर जित्न सकिनेछ । सबैभन्दा पहिला ग्राहकले फेसबुक पेजमा बजाजको पोष्ट सेयर गरेबापत १ हजार छुट पाउनेछन् । त्यसपछि शोरुममा गएर बाइक छनोट गरेपछि ५० हजारसम्मको छुट पाउनेछन् ।

जावा मोटरसाइकलमा १५ हजार छुट

क्लासिक लिजेन्ड्सद्वारा निर्मित जावा मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी–टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको हो । उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरूले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिन्छ ।

बेनेलीको बाइकमा २५ हजार छुट

इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिनाझन्झट छुट पाउने योजना ल्याएको छ । नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

टीभीएस मोटरसाइकल

टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७९ अफर अन्तरगत सामाजिक सञ्जालबाटै बाइक खरिद गर्न सकिने योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षका लागि ‘नयाँ वर्षमा आयो, पायो, पर्‍यो र सर्‍यो योजना’ ल्याएको छ । सामाजिक सञ्जालमै लाइक, कमेन्ट, सेयर गरेर ५० हजार हरेक हप्ता जित्न सकिन्छ ।

सामाजिक सञ्जालमा इन्गेजमेन्ट क्याम्पेनमार्फत एकजना भाग्यशाली विजेताले टीभीएस अपाचे आरआर ३१० जित्न सक्नेछन् । त्यस्तै टीभीएस नेपालमा न्यू इयरमा दर्ता गर्दा ५० हजार, बाइक खरिद गर्दा १ लाख रुपैयाँ जित्न सकिन्छ ।

तारो ब्राण्डको बाइक

एसजी ग्रुपअन्तर्गत रहेको ओम मोटोकर्पले इटालियन प्रविधिको तारो ब्राण्डको बाइक र स्कुटर चैत २३ गते नेपाली बजारमा लन्च गरेको छ । इमोला १५० एलेक्स र टी ९१५० गरी दुई मोडलका दुईपाङग्रे सवारीसाधन नेपाली बजारमा लन्च गरेको हो ।

नेपाली बजारमा भर्खरै आएको उक्त बाइक किन्दा छुट अफरसमेत ल्याएको छ । तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार छुट पाउने छ । साथै कम्पनीले यस चैत २४ देखि वैशाख ३१ गतेसम्म खरिद गर्नेमध्ये दुईजना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.