घट्दो बजारमा १२ जीवन बीमा कम्पनी : कुनको भाउ कति सस्तो ? (सूचीसहित)

  २०७८ चैत २४ गते ८:३८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । बजारमा तरलता अभावसँगै ड्राइ सिजन लागेसँगै सेयर बजार निरन्तर रुपमा घटीरहेको जानकारहरु बताउँछन् ।

भदौ २ गते नेप्से परिसूचक ३१९९ बिन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्चतम बिन्दु हो । त्यसयताको कारोबारमा परिसूचक झरेर २२८१ बिन्दुसम्म ओरालो लागेको थियो । त्यसपछि बढेर २९४७ बिन्दुसम्म पुगेको परिसूचक पुनः घटेर हाल २४२८ बिन्दुमा अडिएको छ । परिसूचक मात्रै नभई कारोबारमा आउने विभिन्न उपसूचकहरु पनि ओरालो लागेका छन् । जसमध्ये जीवन बीमा कम्पनीहरुको सेयर मूल्य मापक जीवन बीमा उपसूचक हाल २९ प्रतिशत बढीले घटीसकेको छ ।

सो उपसूचक २०७८ जेठ २६ गते बढेर १८ हजार ९९७.४२ बिन्दुसम्ममा पुगेको थियो । त्यसयताको कारोबारमा उपसूचक निरन्तर घटेर न्यूनतम १२ हजार १५५.२६ बिन्दुसम्म झर्यो । तर, त्यसपछि भने केही माथि उकालो लागेको उपसूचक हाल १३ हजार ४४०.५१ बिन्दुमा सीमित छ । जुन अधिकतम बिन्दुको तुलनामा २९.२५ प्रतिशतले घटी हो ।

उक्त क्षेत्रका कम्पनीहरुको सेयर मूल्य घटेसँगै उक्त समूहको उपसूचक स्वतः घट्छन् । बजारमा पुसदेखि चैतसम्म ड्राई सिजन लाग्ने, वित्तीय प्रणालीमा देखिएको तरलता अभावका साथै प्रस्तावित बोनस सेयरपछि मूल्य समायोजन हुँदा त्यसको प्रत्यक्ष असर कम्पनीहरुको सेयर मूल्य परेको छ । जसका कारण बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णयले पनि बजारलाई खासै प्रभाव पारेको देखिएन । बजार त के बीमा कम्पनीहरुको सेयर मूल्यमा पनि खासै प्रभाव परेन र निरन्तर रुपमा घटिनै रह्यो ।

यससँगै, चैत २३ गते बुधबारको कारोबारलाई हेर्दा जीवन बीमा कम्पनीमध्ये दुई कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ भने बाँकी सबैको सेयर भाउ घटेको छ । त्यस्तै, प्रत्येक जीवन बीमा कम्पनीको अधिकतम सेयर मूल्यको तुलनामा सबैभन्दा बढी सेयर मूल्य घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ भने सबैभन्दा कमले घट्नेमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको ५६.४३ प्रतिशतले सेयर मूल्य घट्दा यूनियन लाइफको सेयर मूल्य २७.६६ प्रतिशतले घटेको छ । जबकी नेपाल लाइफको अधिकतम मूल्य प्रतिकित्ता २२४७ रुपैयाँ छ भने यूनियन लाइफको अधिकतम मूल्य प्रतिकित्ता ९४० रुपैयाँ छ ।

तर, रुपैयाँको आधारमा हेर्ने हो भने हाल सबैभन्दा बढी सेयर मूल्य नेशनल लाइफको छ भने रिलायन्स लाइफको सबैभन्दा कम सेयर मूल्य छ ।

हाल नेशनल लाइफको सेयर प्रतिकित्ता ७९१.९० रुपैयाँमा कारोबार भइरहेको छ । जुन कम्पनीको उच्च मूल्यको तुलनामा ४२.७९ प्रतिशतले घटी हो । एक वर्षको अवधिमा कम्पनीको सेयर प्रतिकित्ता १३४६ रुपैयाँसम्ममा किनबेच भएको थियो भने न्यूनतम ७७० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, जीवन बीमा कम्पनीमध्ये विभिन्न सूचकमा अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । प्रतिकित्ता २२४७ रुपैयाँसम्म किनबेच भएको नेपाल लाइफको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ९७९ रुपैयाँमा झरेको छ । जुन अधिकतम मूल्यको तुलनामा ५६.४३ प्रतिशतले घटी हो । दोश्रो बजारमा कम्पनीको ८ करोड २० लाख ७९ हजार ६६४ कित्ता सेयर सूचीकृत छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको पनि सेयर मूल्य घटेर प्रतिकित्ता ८०८ रुपैयाँमा कारोबार भइरहेको छ । तर उक्त मूल्य हालसम्मकै न्यून भने होइन । दोश्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर अधिकतम १५६५ र न्यूनतम ७७५ रुपैयाँमा कारोबार भइसकेको छ । बजारमा कम्पनीको २ करोड ५३ लाख ९८ हजार ३५० कित्ता सेयर सूचीकृत छ ।

बुधबारको बजारमा प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकित्ता ६८५ रुपैयाँमा कारोबार भएको छ । जुन कम्पनीको अधिकतम सेयर मूल्यको तुलनामा ४४८ रुपैयाँले घटी हो । एक वर्षको अवधिमा कम्पनीको प्रतिकित्ता सेयर अधिकतम ११३३ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, न्यूनतम मूल्य ५७० रुपैयाँ रहेको छ ।

बुधबारको बजारमा गुराँस लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९ रुपैयाँले घटी हो । बजारमा कम्पनीको सेयर न्यूनतम ४६० रुपैयाँ ९०१ रुपैयाँसम्ममा किनबेच भएको छ । यता रिलायन्स लाइफ इन्स्योरेन्सको पनि सेयर मूल्य घटेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ७ रुपैयाँले घटेर प्रतिकित्ता ५२८ रुपैयाँमा कारोबार भएको छ । जबकी कम्पनीको हालसम्मकै उच्च मूल्य प्रतिकित्ता ७९५ र न्यून मूल्य प्रतिकित्ता ४२३ रुपैयाँ हो ।

प्रभु लाइफ इन्स्योरेन्सको पनि सेयर मूल्य घटेर प्रतिकित्ता ५६४ रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा इन्स्योरेन्सको सेयर अधिकतम ८६१ रुपैयाँ र न्यूनतम ४७७ रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको सेयर भाउ प्रतिकित्ता ५८२ रुपैयाँ छ । २ लाख ४२ हजार कित्ता सेयर दोश्रो बजारमा सूचीकृत भएको कम्पनीको सेयर मूल्य अधिकतम ९९८ र न्यूनतम ३६० रुपैयाँमा कारोबार भएको छ । जुन एक वर्षको अवधिमा हो ।

यूनियन लाइफको हाल प्रतिकित्ता ६८० रुपैयाँमा सेयर कारोबार भइरहेको छ । कम्पनीको सेयर भाउ अधिकतम ९४० रुपैयाँ र न्यूनतम ३४२ रुपैयाँ पुगेको छ । बुधबारको बजारमा इन्स्योरेन्सको पुँजीकरण भने १४ अर्ब ६२ करोड रुपैयाँ छ । बुधबारको बजारमा सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ । प्रतिकित्ता ७८७ रुपैयाँसम्ममा किनबेच भएको कम्पनीको सेयर भाउ अहिले घटेर ५५८ रुपैयाँमा कारोबार भइरहेको छ । इन्स्योरेन्सको हालसम्मको न्यूनतम मूल्य भने प्रतिकित्ता ३०९ रुपैयाँ हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को भने सेयर मूल्य बढेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १७ रुपैयाँले बढेर प्रतिकित्ता १९६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यद्दपि गत एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २७५५ रुपैयाँ र न्यूनतम १७०० रुपैयाँमा कारोबार भएको छ । यता साढे २ करोड बढी कित्ता सेयर सूचीकृत भएको सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ६८९.५० रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा कम्पनीको प्रतिकित्ता सेयर न्यूनतम ६०५ रुपैयाँदेखि अधिकतम १०९१ रुपैयाँसम्म कारोबार भएको छ ।

यद्दपि, सेयर किन्ने लगानीकर्ताहरुलाई भने यो राम्रो समय हो । किनभने पछिल्लो समय बजार घटीरहेको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटेको हुनाले नै समग्र सेयर बजार घट्छ । यससँगै, सेयर किन्न इच्छुकले आफूले चाहेको कम्पनीको सेयर कम मूल्यमा किनेर आगामी दिनमा फाइदा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.