४२ जनाले भरे बलेफी हाइड्रोको आईपीओ

  २०७८ माघ २७ गते १८:१०     विकासन्युज

काठमाडौं । बलेफी हाइड्रो पावरले निष्काशन गरेको आईपीओमा पहिलो दिन ४२ जनाको आवेदन परेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिएको उक्त सेयरमा पहिलो दिन साँझ साढे ५ बजेसम्म ४२ जनाले आवेदन दिएका सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उनीहरुले ६ लाख १९ हजार रुपैयाँ बराबरको ६ हजार १९० कित्ता सेयर माग गरेका हुन् ।

कूल आवेदन दिने ४२ जनामध्ये अधिकांशले मेरो सेयर मार्फत आवेदन दिएका छन् । जसमा ३६ जनाले आश्वाबाट आवेदन दिएका छन् भने बाँकी ६ जनाले अन्य माध्यमबाट आवेदन दिएका हुन् ।

कम्पनीले कूल १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन १२ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ । यदि सो अवधिसम्म कम्पनीले माग गरेको जति आवेदन नपरेमा क्यापिटलले फागुन २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला गर्ने छ । आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.