बिटक्वोइनको मूल्य तीन महिनामै ४० प्रतिशतले घटेको पाइयो- राष्ट्र बैंक

  २०७८ माघ २७ गते १३:४५     विकासन्युज

भर्च्युअल करेन्सीलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, वास्तविक मुद्रा जस्तै कार्य गर्न सक्ने, निजी क्षेत्रबाट जारी गरिएको र लिगर टेन्डर स्ट्याटस् प्राप्त नगरेको तथा राज्यको जमानी (स्टेट ब्याकिङ) नभएको स्पेकुलेटिभ एसेस्टस्को रूपमा बुझ्न सकिन्छ । भर्च्युअल करेन्सी विशेष गरेर दुई प्रकारको हुन्छ । केन्द्रीकृत भर्च्युअल करेन्सीको एकल एडमिनिस्ट्रेटर हुन्छ, जसले नियम बनाउँछ र भर्च्युअल करेन्सीलाई फियाट करेन्सीमा भुक्तानी दिन सक्छ । विकेन्द्रीकृत भर्च्युअल करेन्सीलाई क्रिप्टोकरेन्सी भनेर चिनिन्छ । क्रिप्टोकरेन्सी विद्युतीय माध्यमबाट कुनै वित्तीय संस्थाको मध्यस्थताविना नै रकमान्तर गर्न सकिन्छ । यसमा क्रिप्टोग्राफीको प्रयोग गरी बेनामी (एनोनोमस) कारोबार हुने गर्दछ र यसको लेखाङ्कन कुनै बैंक वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा ब्लकचेन प्रविधिमार्फत गरिन्छ । जनवरी २०२२ सम्ममा ८ हजारभन्दा बढी क्रिप्टोकरेन्सी रहेको अनुमान गरिएको छ । बिटक्वोइन पहिलो र सबैभन्दा व्यापक क्रिप्टोकरेन्सी हो ।

क्रिप्टोकरेन्सी वा भर्च्युअल करेन्सीलाई इलेक्ट्रोनिक मनि (ई-मनी) भन्दा भिन्न रूपमा बुझ्नुपर्छ । ई-मनी भनेको फियाट करेन्सी कै विद्युतीय स्वरूप हो, जुन वास्तविक मुद्राको भ्यालुलाई विद्युतीय माध्यमबाट ट्रान्सफर गर्न प्रयोग गरिन्छ । मोबाइल बैंकिङमा रकमान्तर हुने मुद्रादेखि लिएर भुक्तानी सेवा प्रदायक संस्थाको ई-वालेटमा भएको रकम ई-मनी हो । डिजिटल करेन्सीले दुवै भर्च्युअल करेन्सी र ई-मनीलाई समेट्छ । केन्द्रीय बैंकले समेत कागजी मुद्राको सट्टामा डिजिटल करेन्सीले जारी गर्न सक्छ, जसलाई सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) पनि भनिन्छ । सीबीडीसी वास्तविक मुद्रा (रियल करेन्सी तथा फियाट करेन्सी) कै भौतिक स्वरूप हो र यसलाई जारी गर्ने देशको सरकारले पूर्ण रूपमा जमानी दिएको हुन्छ ।

नेटवर्क मार्केटिङ्ग तथा पिरामिड स्किममा आधारित व्यवसाय
नेटवर्किङ मार्केटिङ भन्नाले यस्तो खालको व्यवसाय हो जसमा नयाँ ग्राहकलाई सदस्य बनाइन्छ र तिनलाई थप नयाँ ग्राहकहरू बनाई सामान (प्रडक्ट) वा सेवा (सर्भिसेस्) बिक्री गर्न प्रोत्साहित गरिन्छ । ती ग्राहक अन्तर्गतका ग्राहकहरूले सामान वा सेवा खरिद गरे बमोजिमको कमिशन पनि दिने व्यवस्था गरेको पाइन्छ । यस्ता व्यवसायलाई मल्टीलेभर मार्केटिङ (एमएलएम) भनेर पनि बुझिन्छ ।

एमएलएम व्यवसायमा राम्ररी नबुझी संलग्न भएमा यो पिरामिड स्किम मात्र पनि सञ्चालित हुनसक्छ, जसबाट ठगिने सम्भावना उच्च हुन्छ । पिरामिड स्किममा आफ्नो ग्राहक सदस्यलाई सामान वा सेवाको बिक्रीको प्राप्त नाफाबाट भन्दा पनि नयाँ ग्राहकको सदस्यता शुल्कबाट प्राप्त रकम बाँड्ने गरिन्छ । पिरामिड स्किममा हाइरारकिकल सेटअप हुन्छ, जुन भनेको जो व्यक्तिअन्तर्गतको सञ्जाल बढी भयो उसले झन् बढी कमाउन सक्छ । यस्तो स्किम प्राय नयाँ सदस्य थप हुन कम भएपछि उदाङ्गो (एक्स्पोज्ड) हुने गर्छ र भर्खर सदस्यता लिई ठूलो संख्यामा रहेका नवप्रवेशीहरू पीडित हुने अवस्था आउन सक्छ ।

सूचना प्रविधिको विकास र इन्टरनेट पहुँचमा वृद्धि भएसँगै नेटर्वक मार्केटिङ्ग व्यवसायले झन् धेरै विस्तारित रूप लिएको तथा क्रस बोर्डर रूपमा समेत गतिविधि बढाउने मौका पाएको अवस्था छ । अधिकांश रूपमा यस्ता व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पनि पाइएको छ । नेपालमा पनि जोसियल, क्राउड१, सोलम्याक्स ग्लोबल जस्ता संस्थाले आफूलाई मार्केटिङ कम्पनी दावी गर्दै पिरामिड स्किम सञ्चालन गरिरहेको समाचार सञ्चार माध्यममा आएका छन् ।

क्रिप्टोकरेन्सीमा भएको विकासबाट एमएलएम व्यवसायले पनि लाभ लिन थालेको पाइन्छ । यस्ता व्यवसायले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहित गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत नयाँ व्यक्तिलाई क्रिप्टोकरेन्सी किन्न लगाउन प्रोत्साहन गर्ने र आफ्नो सञ्जालअन्तर्गत बिक्री गरेवापत कमिसन दिने गरेको पाइएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार/लगानीसँग सम्बन्धित जोखिम तथा कानुनी व्यवस्था
केही मुलुकले व्यवसायीलाई भुक्तानीको रूपमा स्वीकार्न छुट दिएको भए पनि ईवान सालभेडोर बाहेक कुनै पनि मुलुकले क्रिप्टोकरेन्सीलाई लेगल टेन्डरको मान्यता नदिएकोले सोबाहेक अन्य मुलुकमा यसलाई मुद्राको रूपमा वा भुक्तानीवापत स्वीकार्न कानुनी वाध्यता रहेको देखिँदैन । नेपालमा क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकोले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रूपमा प्रयोग गर्न बन्देज लगाइएको छ ।

अन्य केही मुलुकले क्रिप्टोकरेन्सीलाई मुद्राको रूपमा मान्यता नदिएको तर डिजिटल सम्पत्तिको रूपमा मान्यता दिई यसको माइनिङ, खरिद/बिक्री र ओनरशीपलाई नियमन गरी वैधानिकता दिएको पाइन्छ । नेपालमा कानुनी अभावका कारण हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रूपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार रहँदैन । अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्छ ।

क्रिप्टोकरेन्सी विदेशस्थित विभिन्न एक्स्चेञ्जमा डिजिटल सम्पत्तिको रूपमा अमेरिकी डलरजस्ता फियाट करेन्सीमा किनबेच हुने भएकाले विदेशबाट त्यस्तो क्रिप्टोकरेन्सी खरिद गर्दा विदेशी मुद्रा अपचलन हुने तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ समेत उल्लङ्घन हुने देखिन्छ । तसर्थ, बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवा प्रदायकको ईवालेटबाट मोबाइल एप तथा इन्टरनेटमार्फत भुक्तानी गरी त्यस्तो डिजिटल सम्पत्ति खरिद गर्ने कार्यसमेत गैरकानुनी रहेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ लेयस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी दिन वा विदेशबाट भुक्तानी प्राप्त गर्न प्रतिबन्ध गरेको सन्दर्भमा अनौपचारिक माध्यमबाट हुण्डीको प्रयोग गरी भुक्तानी पठाई विदेशबाट क्रिप्टोकरेन्सी खरिद गर्दा यस ऐन र माथि उल्लिखत विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ दुवै उल्लङ्घन हुने देखिन्छ ।

क्रिप्टोकरेन्सीको मूल्यमा उच्च उतारचढाव हुने देखिएको र यो विशेष गरेर सट्टेवाजी गर्ने लगानीकर्ताले किनबेच गर्ने देखिएको हुँदा यसमा लगानी गर्नु अत्यधिक जोखिमपूर्ण देखिन्छ । उदाहरणको लागि २०२१ नोभेम्बरदेखि २०२२ जनवरीसम्मको अवधिमा बिटक्वोइनको मूल्यमा ४० प्रतिशतले गिरावट आएको थियो । त्यसैले, यस्तो लगानीमा छोटो अवधिमा नै उच्च घाटा हुने सम्भावना रहन्छ ।

क्रिप्टोकरेन्सीसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नको लागि प्रयोग गर्ने माध्यम हुने गरेको देखिएको छ । विदेशमा बसोबास गर्ने नेपालीलाई समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नकोलागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्त तथा साथीभाइबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी तथा दण्डनीय रहेको छ ।

क्रिप्टोकरेन्सी एउटा उदीयमान प्रविधि भएको र यससँग सम्बन्धित ब्लकचेन प्रविधि विशिष्ट किसिमको भए पनि यो नै मुद्राको भविष्य हो र यो कालान्तरमा निसन्देह वहुमूल्य हुन्छ भन्दै अपुष्ट एवम् भ्रामक प्रचार भइरहेको पाइएको छ । क्रिप्टोकरेन्सीको कुनै आन्तरिक मूल्य (इन्ट्रिन्सिक भ्याल्यु) नभएको, विभिन्न देशका केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रा जारी गर्ने क्रममा रहेको र भविष्यमा प्रविधि विकासको स्वरूप अनिश्चित रहेको सन्दर्भमा ब्लकचेन प्रविधिले अन्य आयाममा नाटकीय परिवर्तन ल्याउने सम्भावना रहेपनि क्रिप्टोकरेन्सीलाई लगानीकर्ताले लत्याई यसको मूल्य न्यून हुन सक्ने सम्भावना रहन्छ ।

नेटवर्किङ मार्केटिङको व्यवसायसँग सम्बन्धित जोखिम र कानुनी व्यवस्था
आफूलाई मार्केटिङ कम्पनी भनेर दावी गर्ने तर पिरामिड स्किमको मोडेलमा सञ्चालन भएको हुन सक्ने भएकोले नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुने ग्राहकहरू ठगीमा पर्न सक्ने देखिन्छ । विशेष गरी भर्खर सदस्यता लिएका नवप्रवेशी सदस्यहरू बढी पीडित हुने गरेको देखिन्छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ ले नेटवर्किङ/पिरामिडमा आधारित व्यवसायलाई बन्देज गरेको छ र सो ऐनको उल्लङ्घन गरेमा सोही ऐनबमोजिम दण्डित गरिने व्यवस्था छ ।

नवीन प्रविधिको सहयोगमा विदेशबाट सञ्चालित रहेको नेटवर्क मार्केटिङ व्यवसायमा आबद्घ भई भुक्तानी पठाउँदा अवैधानिक तरिकाले/हुण्डीमार्फत पैसा विदेशिन सक्ने हुन्छ, जुन कार्यलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले प्रतिबन्ध लगाएको छ । हाइपर फण्ड जस्ता क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोष पनि नेटवर्क मार्केटिङ मोडेलमा सञ्चालित रहेको जानकारी आएकोले यसमा लगानी गर्दा विदेशी मुद्रा अपचलन हुने र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, ०२१ तथा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ समेत आकर्षित हुने देखिन्छ ।

क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम (एफएल/टीएफ रिक्स): क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम (एमएल/टीएफ रिक्स) हुने देखिन्छ । क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम (एमएल/टीएफ रिक्स) बारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको थियो, जसमा एनोनिमिटी, सेगमेन्टेसन अफ सर्भिस, डिसेन्ट्रलाइज्ड सिष्टम आदिबाट एमएल/टीएफ रिक्स हुने औंल्याइएको छ ।

ठगी तथा कर छली (फ्रड एण्ड ट्याक्स एभ्यासन): क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिन्छ । फाइनान्सियल स्ट्याबिलिटी इन्स्टिच्युट (एफएसआई) को अप्रिल २०२१ को प्रतिवेदनमा उल्लेख भएअनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा क्रिमिनल्ली एसोसिएटेड बिटक्वोइन एड्रेसबाट मात्र अमेरिकी डलर ३.५ अर्ब पठाएको देखिन्छ । नेटवर्क मार्केटिङको व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकारात्मक असर पर्ने देखिन्छ ।

वित्तीय ग्राहक सुरक्षा (कन्जुमर प्रोटेक्सन) मा चुनौतीः क्रिप्टोकरेन्सीको कारोबारबाट कन्जुमर प्रोटेक्सनमा पनि असर गर्ने देखिन्छ । नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहन्छ ।

क्यापिटल मुभमेन्टको नियमनमा चुनौतीः क्रिप्टोकरेन्सीको प्रयोगबाट क्यापिटल मुभमेन्टकोे नियमनमा पनि असर गर्ने देखिन्छ । नेपाल जस्तो सीमित पुँजी भएको र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सी मार्फत पुँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको देखिन्छ । यसैगरी, नवीन प्रविधिको सहयोगमा क्रस-बोडर रूपमा सञ्चालित नेटवर्क मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिनेर पुँजी पलायन हुन सक्ने देखिन्छ ।

वित्तीय स्थायित्व (फाइनान्सियल स्ट्याबिलिटी) मा असरः क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने देखिन्छ । आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्ट्याबिलिटी रिपोर्ट (जीएफएसआर) मा क्रिप्टोकरेन्सीलाई ‘विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक’ भनेर उल्लेख गरिएको छ ।

मौद्रिक नीतिमा असरः क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित हुने भएको र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदाय (मनी सप्लाई) मा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने देखिन्छ ।

विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव पार्नेः क्रिप्टोकरेन्सीको कारोबार/लगानी तथा नेटवर्क मार्केटिङ व्यवसायबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङ आवद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

निष्कर्षः
पछिल्लो दशकमा विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गरेको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ । यसैगरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ्ग व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ्ग व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समय समयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ ।

(क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ् सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राष्ट्र बैंकले प्रकाशन गरेको चेतनामूलक सामग्रीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.