सहकारीमा तरलताको संकट आउन नदिन सहकारी बैंकले खडा गर्यो २ अर्बको कोष, विना धितो पनि ऋण पाइने

  २०७८ पुष ११ गते १५:४१     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा तरलताको समस्या आउन नदिन बैंकको सञ्चालक समिति बैठकले कोष नै खडा गरेर काम गर्न थालेको हो ।

बैंकका अनुसार सहकारी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुमा भएको जस्तो तरलताको संकट सहकारी क्षेत्रमा पनि आउन नदिनका लागि बैंकले ‘तरलता व्यवस्थापन कोष स्थापना गरेको हो ।

बैंकले सो कोषका लागि कार्यविधि नै बनाएर अगाडि बढिरहेको बैंकका अध्यक्ष केवी उप्रेतीले बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका कारण सर्वसाधारणलाई ऋण पाउन समस्या भएको । व्यवसायीहरुलाई पनि व्यापार विस्तारसँगै व्यवसाय जोगाउन पनि समस्या भइरहेको भन्दै त्यो समस्या सहकारी क्षेत्रमा आउन नदिनको लागि कोष स्थापना गरेको उनले बताए ।

उनका अनुसार बैंकले २ अर्ब रुपैयाँको कोष स्थापना गरेको हो । ‘अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको ठूलो संकट छ, यो संकट बैंक तथा वित्तीय संस्थाहरुकै कारण सिर्जना भएको हो, तर, हामी सचेत छौं, सहकारी क्षेत्रलाई तरलता संकटको मारमा पार्न नदिन हामीले तरलता व्यवस्थापन कोष स्थापना गरेका हौं,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार बैंक्ले सो कोष परिचालनका लागि बनेको कार्यविधिमा उल्लेख मापदण्ड अनुसार नै सहकारीहरुलाई ऋण दिइनेछ ।

‘हामीले कार्यविधि नै बनाएर सहकारीहरुमा तरलताको कारणले समस्या नआओस् भनेर यो कोष खडा गरेका हौं, कोष मार्फत अत्यावश्यक भएकोलाई नै लगानी गरिने हो, अत्यावश्यक वाहेकको कर्जा अन्य मापदण्डमार्फत जान्छ, तर, अत्यावश्यक हो, ऋण दिन मिलेन, धितो पनि छैन भने यो कोष मार्फत लगानी गर्छौं,’ अध्यक्ष उप्रेतीले भने ।

उनका अनुसार यो कोषमा विनाधितो ऋणको पनि व्यवस्था गरिएको छ । उनले विनाधितो लगानी गर्ने सहकारीहरुको विगतको कारोबार हेरेर ऋण लगानी हुने बताए ।

‘सहकारीमा तरलताको अभाव भयो भने हामीसँग कारोबार गर्ने सहकारीको हिजोको दिनमा कस्तो कारोबार थियो ? निक्षेप कति थियो ? लगानी कस्तो थियो ? यी विभिन्न अवस्थाहरु हामीले अध्ययन गर्छौं, यदि सो सहकारीलाई तरलताको कारण नै कुनै लगानी गर्न अर्थात व्यवसाय विस्तार गर्न समस्या भइरहेको छ, उ सँग धितो पनि छैन भने हामीले त्यस्ता सहकारीलाई विनाधितो नै ऋण लगानी गर्छौं, हाम्रो मुख्य ध्येय भनेको तरलताको अभावको कारणले उनीहरु बन्द हुने अवस्था नआओस् भन्ने हो,’ उनले भने ।

उनले अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरु जस्तो सहकारीमा तरलता नभएको पनि बताए । अहिले सहकारीमा तरलताको खासै संकट नभएपनि पछि आउने संकटलाई मध्येनजर गर्दै कोष स्थापना गरेको उनको भनाई छ ।

उनका अनुसार सहकारीहरुलाई एक करोडसम्मको ऋण विनाधितो दिन सकिनेछ । ‘१ करोड हो भने धितो नराख्नु पर्ने हुन्छ, ५ करोड रुपैयाँ हो भने धितो राख्नु पर्ने हुन्छ,। यसका लागि हामीले कार्यविधि नै बनाएर मापदण्डहरु तोकेका छौं, उनले भने ।

5 comments on "सहकारीमा तरलताको संकट आउन नदिन सहकारी बैंकले खडा गर्यो २ अर्बको कोष, विना धितो पनि ऋण पाइने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.