बैंकिङ क्षेत्रमा नक्कली रेमिटान्सको बाढी, व्याजको लोभमा वैध आम्दानीलाई अवैध बनाउँदै निक्षेपकर्ता

  २०७८ मंसिर २९ गते १०:५५     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा नक्कली रेमिटान्सको बाढी आएको देखिएको छ । रेमिटान्सबाट आएको रकमलाई १ प्रतिशत बढी व्याज दिन पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाको फाइदा लिन नक्कली रेमिटान्स देखाउन थालिएको हो ।

राष्ट्र बैंकले रेमिटान्सबाट आएको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्दा प्रकाशित व्याजदरमा १ प्रतिशत बढी व्याज दिन पाउने नीतिगत व्यवस्था गरेको छ । यस्तो व्यवस्थाको फाइदा लिन एउटा बैंक तथा वित्तीय संस्थामा राखेको रकम निकालेर अर्काे बैंक तथा वित्तीय संस्थामा रेमिटान्सको रकम भन्दै १ प्रतिशत बढी व्याज पाउने गरी रकम राख्न थालिएको पाइएको हो ।

‘रेमिटान्सबाट आएको रकम हो भनेर निक्षेपकर्ताले स्वघोषणा गर्ने वित्तिकै १ प्रतिशत बढी व्याज दिने गरी मुद्दति निक्षेपमा रकम राख्ने गरिएको छ, यसको लागि एउटा बैंक तथा वित्तीय संस्थामा भएको रकम निकालेर अर्काे बैंक तथा वित्तीय संस्थामा रेमिटान्स हो भन्ने स्वघोषणा गरेर राख्ने प्रवृत्ति बढेको छ,’ एक बैंकरले विकासन्युजसँग भने ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रेमिटान्स भित्र्याउनको लागि रेमिटान्सबाट आएको रकम मुद्दति निक्षेपमा राख्दा १ प्रतिशत बढी व्याज दिन पाइने व्यवस्था गरेको थियो । तर, पछिल्लो समय नेपालकै बैंक वित्तीय संस्थामा राखेको रकम निकालेर अर्काे संस्थामा रेमिटान्स रकम भन्दै राख्न थालिएको र यसमा बैंक वित्तीय संस्थाले पनि सहयोग गरेको पाइएको छ ।

‘रेमिटान्सबाट आएको रकम हो भनेर ग्राहकले स्वघोषणा पनि गरेको छ, विदेश गएर आएको प्रमाण खुल्ने गरी भिसा लागेको पासपोर्टको फोटोकपि पनि राखिएको छ तर, टुरिष्ट भिसा लागेको पासपोर्टमा देखिन्छ, पैसा भने ४० देखि ५० करोड रुपैयाँ मुद्दतिमा राखिन्छ, यो त नक्कली रेमिटान्स हो भन्ने स्वतः पुष्टी हुनुपर्ने हो तर, रेमिट मुद्दति खातामा १ प्रतिशत बढी व्याज दिएर राख्ने गरिएको पाइयो,’ अर्का एक बैंकरले भने ।

कतिपय ग्राहकले आन्तरिक रेमिटान्सलाई पनि रेमिटान्सबाट आएको रकमभन्दै बढी व्याज पाइने गरी रेमिट मुद्दति खातामा रकम राखेका छन् ।

‘विराटनगर वा पोखराबाट रेमिटान्सको रुपमा आएको रकम भनेर पनि राख्ने गरिएको पाइयो, यो त सरासर बद्मासी नै हो,’ ती बैंकरले थपे ।

ग्राहकलाई उल्लु बनाउँदै बैंक वित्तीय संस्था

यसरी एउटा बैंक वित्तीय संस्थामा रहेको निक्षेप निकालेर रेमिटान्स भन्दै अर्काे बैंक वित्तीय संस्थामा रकम राखेको राष्ट्र बैंकले सहजै पत्ता लगाउन सक्छ । राष्ट्र बैंकले कुन महिनामा कुन देशबाट कति रेमिटान्स आयो भन्ने जानकारी सहजै पाउँछ । तर, विदेशबाट आएको रेमिटान्सभन्दा नेपालका बैंक वित्तीय संस्थाको रेमिट मुद्दति खातामा पैसा बढी देखिने वित्तिकै राष्ट्र बैंकले प्रश्न उठाइहाल्छ ।

‘बैंकिङ प्रणालीबाट ६ खर्ब रुपैयाँ रेमिटान्स आयो र बैंकिङ क्षेत्रमा रेमिट मुद्दति खातामा त्योभन्दा बढी रकम देखियो भने राष्ट्र बैंकले प्रश्न गरिहाल्छ, त्यस्तो अवस्थामा वास्तविक रेमिटान्सलाई मात्रै बढी व्याज दिएर नक्कली रेमिटान्सको व्याजदर १ प्रतिशतले घटाइदिनै पर्छ, अहिले देखिएको नक्कली रेमिटान्स राष्ट्र बैंकले बढीमा १ महिनामा नै थाहा पाइहाल्छ, अनि ग्राहकलाई कि त प्रमाण लिएर आउनुस् होइन भने व्याज घटाइदिन्छौं भनेर बैंक वित्तीय संस्थाहरु फोन गर्न लागिहाल्छन्, यो भनेको त ग्राहकलाई केही क्षणको लागि उल्लु बनाउने काम मात्रै हो,’ ती बैंकरले थपे ।

रेमिटान्सबाट आएको ८० प्रतिशतभन्दा बढी रकम उपभोगमा खर्च हुने गरेको राष्ट्र बैंक लगायत विभिन्न निकायले गरेको यसअघिकै अध्ययनहरुले देखाइसकेका छन् । त्यसैले रेमिटान्स आएको रकम जति पनि रेमिट मुद्दति खातामा राखेको देखिएमा राष्ट्र बैंकले प्रश्न गर्ने अवस्था रहन्छ ।

वैध सम्पत्तिलाई अवैध बनाउँदै निक्षेपकर्ता

कुनै पनि ग्राहकले बैंक वित्तीय संस्थामा राखेको रकम वैध सम्पत्ति हो । किनभने स्रोत नखुलेको र शंकास्पद रकम बैंक वित्तीय संस्थामा राख्न रोकिएको छ ।

तर, बैंक वित्तीय संस्थामा राखेको रकम नगदै निकालेर अर्काे बैंक वित्तीय संस्थामा रेमिटान्सबाट आएको स्वघोषणा गरेर राख्ने गरिएको छ । यसरी राखिएको रकम रेमिटान्सबाट आएको प्रमाणित गर्नुपर्ने दायित्व निक्षेपकर्ताकै हुन्छ । रेमिटान्सबाट प्राप्त भएको भनेर गरिएको स्वघोषणा अनुसार पुष्टी गर्न सकिएन भने त्यस्तो रकमको स्रोत खुलाउनु पर्ने हुन्छ । पहिला रेमिटान्सबाट आएको रकम भनेर स्वघोषणा गरी हस्ताक्षर गरेको रकम रेमिटान्स पुष्टी हुन सकेन भने अबैध सम्पत्ती हुन सक्छ । त्यसैले अहिले १ प्रतिशत व्याजको लोभमा आफ्नो वैध सम्पत्तिलाई रेमिटान्स आम्दानी देखाउनेहरु केही महिनापछि नै आफ्नो सम्पत्तिलाई वैध बनाउन भौतारिनु पर्ने अवस्था पनि आउन सक्छ ।

देशलाई नै संकट

अहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव छ । तरलता अभावको मौकामा बैंक वित्तीय संस्थाहरु जसरी भएपनि निक्षेप बढीभन्दा बढी तान्ने प्रतिस्पर्धामा छन् । यही प्रतिस्पर्धाको कारण नक्कली रेमिटान्स बढेको छ ।

तर, अहिले बैंक तथा वित्तीय संस्थाहरुले स्वघोषणाको फितलो व्यवस्था गरी नक्कली रेमिटान्स बनाउन अप्रत्यक्ष सहयोग गरेको रकम केही समयपछि नै स्रोत नखुलेको रकममा परिणत हुन सक्छ । त्यस्तो अवस्थामा सम्पत्ति शुद्धीकरण निवारण विरुद्ध नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा गरेको प्रतिवद्धतामाथि नै प्रश्न उठ्न सक्छ ।

नक्कली रेमिटान्स नराख्नुः एनबीए

बैंक तथा वित्तीय संस्थाहरुमा नक्कली रेमिटान्स बढ्न थालेपछि बैंकरहरु पनि सजग देखिएका छन् । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स एसोसिएसन (एनबीए) र विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले नक्कली रेमिटान्सलाई निरुत्साहित गर्न आफ्ना सदस्य संस्थाहरुलाई आन्तरिक सर्कुलर नै जारी गरेका छन् ।

‘नक्कली रेमिटान्सले ग्राहकलाई, बैंकलाई र देशलाई नै जोखिममा पार्ने खतरा छ, त्यसैले बैंकिङ प्रणालीबाट आएको रेमिटान्सलाई कसैले मुद्दति निक्षेपमा राख्छ भने मात्रै रेमिट मुद्दति खातामा राख्ने र बाँकी रकमको लागि कडा प्रावधान राख्नु भनेर आन्तरिक सर्कुलर जारी गरेका छौं, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि यस्तै सर्कुलर जारी गरेको छ भन्ने सुनेको छु,’ एनबीएका एक पदाधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.