निर्जीवन बीमा कम्पनीले दिएनन् २२ अर्ब दावी भुक्तानी, २ महिनाभित्र साइजमा ल्याउन समितिको निर्देशन

  २०७८ मंसिर ७ गते १०:३६     मञ्जरी पौडेल

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमकहरुले चालु आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ बढीको दावी भुक्तानी गरेका छैनन् ।

कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब २ करोड ७८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छैनन् ।

यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

गत वर्षको तुलनामा अधिकांश कम्पनीले भुक्तानी हुन बाँकी रहेको दावी रकम बढाएका छन् भने एभरेष्ट इन्स्योरेन्सले भने घटाएको छ । एभरेष्टले गत वर्षको तुलनामा ३४.४ प्रतिशतले बीमा दावी भुक्तानी घटाएर ६८ करोड ४१ लाख रुपैयाँमा झारेको छ । जबकि गत वर्षको असोज मसान्तसम्ममा एभरेष्टले १ अर्ब ४ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

रकमको आधारमा प्रुडेन्सियल इन्स्योरेन्सको सबैभन्दा बढी दावी भुक्तानी हुन बाँकी छ । गत असोज मसान्तसम्मको तथ्याङ्क अनुसार प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६० करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । जुन गत वर्षको तुलनामा ३७ प्रतिशतले बढी हो ।

त्यस्तै, प्रतिशतका आधारमा राष्ट्रिय बीमा कम्पनीको दावी हुन बाँकी रहेको भुक्तानी रकम बढेको छ । गत वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनीको भुक्तानी गर्न बाँकी रहेको दाबी रकम १४२५.१९ प्रतिशतले बढेर २१ करोड ५८ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनी सरकारको पनि लगानी रहेको कम्पनी हो भने सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति अध्यक्ष सरकारले नियुक्त गर्ने गरेको छ ।

सानिमा जनरलले गत असोज मसान्तसम्ममा ४९ करोड ७२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । जसमा कोभिड १९ को भुक्तानी हुन बाँकी बापतको दावी रकम पनि समावेश गरेको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार चालु आवको सोही अवधिमा १० करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको कोभिड १९ को दावी भुक्तानी हुन बाँकी छ । काभिड-१९ अन्तरगतको बीमा दाबीको दायित्व सरकारको भागमा परेकोले सो रकम सरकारले भुक्तानी नदिएका कारण बाँकी रहन गएको हो ।

त्यस्तै, गत आवको पहिलो त्रैमासमा सानिमा जनरलले कोभिड १९ को दावी भुक्तानी हुन बाँकी रहेको ३ करोड १७ लाख रुपैयाँसहित ११ करोड १९ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी थियो ।

समितिले दिन थाल्यो दवाव

यता बीमा कम्पनीहरुले बिमितलाई भुक्तानी गर्न बाँकी रहेको दावी रकम बढेसँगै नियामक निकाय बीमा समितिले उक्त दावी रकम समयमै फर्स्यौट गर्न पहल गरिरहेको छ । समितिले नेको, प्रिमियर, हिमालयन जनरल, सिद्धार्थ, पुडेन्सियल लगायत कम्पनीलाई बीमा दावी भुक्तानी छिटो गर्न दवाव दिएको छ ।

पछिल्लो समय समिति यो विषयमा कडा रुपमा प्रस्तुत भइरहेको समेत समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । सबै कम्पनीका सीईओ र दावी भुक्तानी समितिको सभापतिलाई पालै पालो बीमा समिति बोलाएर दवाव दिन थालेको उनले बताए ।

‘पछिल्लो समय हामीले दावी भुक्तानीको लागि कडाई गरिरहेका छौं, सबै बीमक (कम्पनी) हरुको आ-आफ्नो दावी फर्स्यौट समिति, दावी भुक्तानी विभाग लगायत सोही कम्पनीको सीईओहरुलाई बोलाएर आगामी दुई महिनाभित्रमा प्रगति देखिन पर्यो भनेर निर्देशन दिइसकेका छौं,’ अध्यक्ष सिलवालले भने ।

साथै, यो वर्ष समितिले दावी भुक्तानी वर्ष नै भनेर मनाइरहेकोले पनि सबै कम्पनीहरुलाई दावी भुक्तानी ‘नर्मल’मा ल्याउन निर्देशन समेत दिएको अध्यक्ष सिलवालले बताए ।

‘हामीले प्रायः प्रत्येक दिन बीमकहरुलाई बोलाएर तिमीहरुको दावी किन फर्स्यौट भएन भनेर छलफल गरिरहेका छौं, अधिकांश बीमकलाई दावी परेको सयमभित्रमा दावी रकम फर्स्यौट गरेर एउटा साइजमा ल्याउन दवाव दिइरहेका छौं, उक्त समयभित्र फर्स्यौट नगर्ने भए कारण खुलाउन समेत आग्रह गरेका छौं’, सिलवालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.