दशैं तिहारमा दोब्बरले बिक्री भए निजी कार

  २०७८ कार्तिक २१ गते ११:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा निजी सवारी साधनको खरिद बिक्री दोब्बरले बढेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षमा निजी सवारी साधनको खरिद बिक्री दोब्बरले बढेको हो ।

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का अनुसार निजी तथा पारिवारिक रुपमा प्रयोग हुने कार,जीप र भ्यानको आयात तथा बिक्री वितरणमा निकै बढोत्तरी भएको देखिन्छ ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालका अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा सवारी साधन किनबेच तथा आयात बढेको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण सिथिल बनेको अटो मोबाइल्स क्षेत्रको बजार अहिले बढेको हो ।

‘पहिले कोभिड–१९ को प्रभावले अटोमोवाइल्स व्यवसाय निकै डगमगाएको थियो, तर खोपको कारण कोभिडमा धेरै नियन्त्रण आएपछि भने अटामोवाइल्स व्यवसायमा निकै बढोत्तरी भएको छ, पारिवारिक रुपमा प्रयोग हुने कार,जीप र भ्यानको आयातमा निकै बढोत्तरी देखिएको छ,’ अध्यक्ष दुलाले भने ।

वीरगञ्ज भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कलाई हेर्ने हो भने यो चालु बर्षको तीन महिनामा २ हजार ९ सय १७ वटा कार,जीप र भ्यान आयात भएको देखिन्छ भने गत आर्थिक बर्षको सोही अवधिमा भने १ हजार ४ सय ५९ वटा मात्र यस्ता सवारी साधनहरु आयात भएको देखिन्छ । उनका अनुसार आयात अनुसारकै सवारी साधन खरिद बिक्री भएका छन् ।

उनले पिकअप जस्ता सवारी साधनहरुको आयातमा पनि करिब शतप्रतिशत नै बृद्धि भएको बताए । तर, सार्वजनिक बस, मिनिबस, ट्रक, मिनि ट्रक, माइक्रोबस जस्ता साधनहरुको विक्रीमा गत बर्षको तुलनामा केही मात्रामा मात्र बृद्धि भएको तथ्यांकले देखाएको छ । सवारी साधनहरुमा प्रयोग हुने लुव्रिकेण्टस र टायरटयूव र स्पेयर पार्टसको विक्रीमा केही सुधार आएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा सवारी साधनहरुको विक्रिमा मार्च अप्रिलमा वृद्धि हुन्छ, नेपालमा चाडपर्वको समय भएकोले श्रावण, भाद्र र अशोज सवारी साधनको बिक्री बढ्छ, यो वर्षको दशैंमा पनि दोब्बरले खरिरद बिक्री बढेको छ,’ उनले भने ।

उनका अनुसार नेपालमा १२ महिनामा जे जति सवारी साधनहरु विक्री हुन्छन् त्यसमध्ये झण्डै आधा भाग आर्थिक वर्षको सुरुको तीन महिना भित्र हने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.