तीन जीवन बीमा कम्पनीको लाभांशः सबैले बढाए, यस्तो छ इतिहास

  २०७८ कार्तिक १५ गते ११:२३     विकासन्युज

काठमाडौं । हालसम्ममा विभिन्न तीन वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये ३ वटाले कार्त्तिक १४ गतेसम्ममा लाभांश घोषणा गरिसकेका हुन् ।

जसमा रिलायन्स लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका हुन् ।

घोषित लाभांशमध्ये सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को नाफाबाट कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत बोनस र बाँकी नगद लाभांश रहेको छ ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले पनि सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७८ को नाफाबाट १२.७ प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

त्यसैगरी, रिलायन्स लाइफले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

सूर्या लाइफको लाभांश ५ वर्षयताकै उच्च

सूर्या लाइफको प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश ५ वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२, आर्थिक वर्ष २०७३/७४ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्राइम लाइफको पनि ३ वर्ष यताकै उच्च लाभांश

प्राइम लाइफले प्रस्ताव गरेको १५.८७ प्रतिशत लाभांश पछिल्लो ३ वर्षयताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२.५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.१२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले त्यसभन्दा अघि अर्थात आर्थिक वर्ष २०७२/७३ को नाफाबाट भने सेयरधनीलाई २६.१७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

रिलायन्स लाइफका सेयरधनीलाई पहिलो लाभांश

रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो पटक सेयरधनीलाई वितरण गर्न लागेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा आईपीओ जारी गरी दोश्रो बजारमा प्रवेश गरेको कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २०७७ भदौ २३ गतेदेखि दोश्रो बजारको यात्रा शुरु गरेको हो । दोश्रो बजारमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३२२ रुपैयाँमा भएकाे थियाे । आजको दिन (२०७८ कार्त्तिक १४ गते) कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५६० रुपैयाँमा भएको छ ।

सूचीकृत छैनन् ६ वटा कम्पनी

नेपालमा कूल १९ वटा जीवन बीमा कम्पनीहरुले जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यसमध्ये १२ वटा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएका छन् भने बाँकी ७ वटा सूचीकृत हुन बाँकी छन् ।

७ वटामध्ये राष्ट्रिय बीमा संस्थान पूर्ण सरकारको स्वामित्व रहेको कम्पनी हो । बाँकी रहेका ६ वटा कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ), सिटिजन्स लाइफ, आईएमई लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.