कोरोनाले रोकेको दक्षिण कोरिया रोजगारीः पहिलो चरणमा ४८ कामदार आज जाँदै

  २०७८ कार्तिक १० गते ११:००     विकासन्युज

काठमाडौं । करिब बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियामा ४ वर्ष काम गरेर नेपाल फर्किएका ४८ जना प्रतिबद्ध कामदार कोरिया जाने भएका छन् । पहिलो चरणमा ५० जना कामदारलाँई पठाउने तयारी भएकोमा २ जनाको भिसा प्रोसेसमा ढिलाइ भएपछि ४८ जनालाई कोरिया पठाउन लागिएको विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए ।

कोरियाले सन् २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कोरियाबाट फर्केका ११९ जना नेपाली प्रतिबद्ध कामदारको नामसमेत पठाइसकेको छ । सोही अनुसार पहिलो चरणमा ४८ जना कोरिया जान लागेका हुन ।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।

नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रूपमा फर्किएका ३ हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कोरियाले ट्रान्जिट उडानबाट नभइ सिधा उडानबाट श्रमिक लैजाने व्यवस्था गरेसँगै नेपाली श्रमिकलाई थप आर्थिक भार पर्नेभएको छ । यसअघि नेपाली कामदार हङकङ, थाइल्यान्ड, दुबईलगायतका मुलुकलाई ट्रान्जिट बनाएर कोरिया जाने गरेका थिए ।

यसअघि इपीएस शाखाले दक्षिण कोरियामा सिधा हवाई उडानका लागि टिकटको मूल्य तय गर्न विभागले टेन्डरसमेत आह्वान गरेको थियो । टेन्डरमा कोरियन एयरलाइन्सको मात्रै आवेदन परेपछि विभागले सार्वजनिक खरिद ऐनअनुसार नभएको भन्दै रद्द गरेको छ । निर्देशिका संशोधनपछि प्रतिबद्ध कामदार जाने बाटो खुला भए पनि भाषा परीक्षा दिएर बसेका हजारौं नेपालीको कोरिया यात्रा अझै अनिश्चित छ ।

कोरियाली सरकारको सर्तअनुसार कोरिया जाने कामदारले अनिवार्य रूपमा बिमा गनुपर्नेछ । कोरिया पुगेपछि १४ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यस्तै, ४८ घन्टाको पिसिआरसमेत गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.