कुलमानजी ! अनलाइनबाट विजुलीको पैसा तिर्न १० बज्नैपर्ने कारण के हो ?

  २०७८ असोज ४ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल तिर्न अपनाएको विद्युतीय माध्यमलाई कार्यालय समयभित्र सिमित गरेको छ । अहिले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाबाट विद्युत महसुल तिर्न पाइने व्यवस्था गरिएको भएपनि कार्यालय खुलेको समयमा मात्रै तिर्न सकिने गरी सेवालाई संकुचित बनाइएको छ ।

आज (असोज ४ गते) विहान विद्युतको महसुल तिर्न खोज्ने एक ग्राहकले कार्यालय समय खुलेपछि मात्रै विद्युतको महसुल तिर्न सकिने सन्देश प्राप्त भएको प्रमाणसहित विकासन्युजलाई जानकारी गराए ।

‘आज विहान ८ः४० बजे इसेवा मार्फत विद्युत महसुल तिर्न खोजेको थिएँ तर, विहान १० बजेपछि मात्रै तिर्न सकिन्छ भन्ने सन्देश प्राप्त भयो, त्यो सन्देश पाएर म आफै छक्क परें, विद्युतीय माध्यमबाट रकम तिर्न पनि कार्यालयको ढोका खुलेको समय हुनुपर्छ भन्ने मान्यता अपनाइए जस्तो लाग्यो, जुन आफैमा अनौठो हो,’ प्राधिकरणका ती उपभोक्ताले भने ।

ती ग्राहकले हामीलाई उपलब्ध गराएको सन्देशमा इसेवा मार्फत विद्युत महसुल तिर्ने समय विहान १० बजेदेखि राति १२ बजेसम्मको लागि तोकिएको छ । सोभन्दा फरक समयमा भने विद्युत महसुल तिर्न नसकिने सो सन्देशले संकेत गर्छ ।

अहिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा कुलमान घिसिङ छन् । उनले आफ्नो पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेका कारण वर्तमान सरकारले उनलाई दोस्रो पटक प्राधिकरणको नेतृत्व दिएको हो । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितमान शाक्यको कार्यकाल बाँकी छदै सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्व सुम्पिएर शाक्यलाई जल तथा उर्जा आयोगमा नयाँ दरबन्दी सिर्जना गरेर लगेको छ । यद्यपि, सरकारको यस्तो निर्णयप्रति चित्त नबुझाएर शाक्य न्यायिक परीक्षणको लागि सर्वाेच्च अदालत गएका छन् ।

लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह खेलेका घिसिङले विद्युत विकासको लागि आवश्यक पूर्वाधारण निर्माण र दीर्घकालिन रणनीतिक योजना बनाउन नसकेको भन्दै पछिल्लो समय उनको आलोचना पनि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.