बजारमा मोबाइल फोनको अभाव, दशैंमा सिमित कम्पनी बाहेकका फोन नपाइने व्यवसायीको भनाई

  २०७८ असोज ४ गते १०:१६     विकासन्युज

काठमाडौं । गत असारयता नेपाली बजारमा मोबाइल फोनको अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै नेपालमा मात्र नभएर विश्वभर फोनको अभाव भएको व्यापारीहरुको भनाई छ ।

गत असारयता फोनको अभाव भएपनि पछिल्लो समय फोनको आयातमा केही बृद्धि भएको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई बताउँछन् । उनले फोनको मौज्दात कम भएको भन्दै दशैंका लागि केही कम्पनीका बाहेक अन्य कम्पनीका फोनहरु उपलब्ध नहुने बताए ।

‘दशैंका लागि केही कम्पनीहरुले फोन पठाउन थालेका छन्, यसअघि आउने गरेका सबै ब्राण्डका फोनहरु दशैंका लागि उपलब्ध हुँदैन, हामी व्यवसायीको पहलमा केही दिनयता मोबाइल फोन आइरहेको छ, सिमित कम्पनीले मात्र फोन पठाएका छन्, यो दशैंमा उपभोक्ताले रोजेर फोन किन्न पाउँने अवस्था छैन,’ अध्यक्ष भट्टराईले भने ।

उनले कोरोना महामारीभन्दा अघि दैनिक आउने फोन हाल २० दिनमा समेत नआएको बताए । महामारीका कारण विद्यालय तथा कार्यालयका कामहरु घरबाटै हुने भएपछि मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामग्रीको माग बढेको थियो । तर, कोभिडका कारण मोबाइल फोनका लागि आवश्यक पर्ने चिप्स अभावका कारण बजारमा सानादेखि ठूला मूल्यका फोनहरुको अभाव रहेको छ ।

अहिले मोबाइल अभावको कारण ग्राहकले आफूले चाहेको फोन पाउन सक्ने अवस्था नरहेको अध्यक्ष भट्टराईको भनाई छ । हाल रियल्मी, सामसुङ, वन प्सल र एमआई कम्पनीका फोनहरु दशैंका लागि आउन थालेपनि अन्य कम्पनीका फोनहरु अभाव नै छ ।

यस्तै, मोबाइल सेलर्स एसोएिसनका अध्यक्ष पुरुषोतम बस्नेत कोभिड पश्चात मोबाइल फोनको अभाव भएको बताउँछन् । उनले फोनको आपूर्तिमा अझै समस्या भएको भन्दै अन्य समयको जस्तो स्टक नरहेको बताए ।

‘हामीले सकेसम्म दशैंमा अभाव नहोस भनेर फोनको आयात गर्ने गरेका छौं, तर उत्पादन नै कम भएको र चिप्सको अभावका कारण मागेजति आयात हुन सकेको छैन’, अध्यक्ष बस्नेतले भने ।

किन अभाव भयो ?

व्यवसायीहरु मोबाइलका लागि आवश्यक पर्ने चिप्स बनाउने कम्पनीले पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा नेपालमा मात्र नभएर विश्वभर फोनको अभाव भएको बताउँछन् ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भटट्राईका अनुसार कोभिडका कारण चिप्स बनाउँने चिनियाँ कम्पनीले पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा बजारमा अभाव भएको हो ।

अन्य देशमा फोन उत्पादन गरिए तापनि अधिकांश चिप्स बनाउने कम्पनी चिनियाँ भएको र कोभिडका कारण कम उत्पादन हुँदा अभाव भएको हो ।

मोबाइल इम्पोटर्स एसोसिएनका सचिव अमिल अग्रवाल मोबाइल फोनको आयातमा कमी आएको बताउँछन् ।

‘नेपालमा पछिल्लो समय मोबाइल फोनको माग उच्च छ, अन्तर्राष्ट्रिय रुपमा नै कम उत्पादन हुँदा आपूर्तिमा समस्या भएको हो’, सचिव अग्रवालले भने ।

फोनको अभावसँगै चाडपर्वका लागि व्यवसायीले दिदैँ आएको छुट यसवर्ष नल्याईएको व्यवसायीहरु बताउँछन् । माग उच्च हुँदा र उत्पादन कम हुँदा बजारमा अभाव नै छ । अभावसँगै विशेष छुट दिदाँ बजार बिग्रन सक्ने भन्दै अफर सार्वजनिक नगरिएको व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.