यी हुन् जनार्दन शर्माले बनाउन रोकेको देशभरका १४१० सडक (सबै सडकको नाम र बजेटसहित)

  २०७८ असोज १ गते ११:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै देशभरका १४ सयभन्दा बढी सडक बनाउन रोक्ने निर्णय गरिएको जानकारी दिएका थिए ।

मन्त्री शर्माले भदौ २५ गते प्रतिनिधिसभामा पेश गरेको प्रतिस्थापन विधेयकमा ‘देशभरका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको’ उल्लेख गरिएको छ ।

‘समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनावद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने छ । आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको छ,’ मन्त्री शर्माले प्रतिनिधिसभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

तर, मन्त्री शर्माले कुन कुन सडक निर्माण कार्य स्थगित गरे भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि स्थगित गरिएका सडकको बारेमा आफूलाई जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको छ ।

अर्थमन्त्री शर्माले देशभरका करिब १४ सय सडक आयोजना कार्यान्वयन स्थगित गरिएको जानकारी गराए पनि जम्मा १४१० सडक आयोजना रोकिएको खुलेको छ । ती सडकको लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

अर्थमन्त्री शर्माले कार्यान्वयन स्थगित गरिएको भनेका सडक पनि अर्थमन्त्रालयको ‘लाइन मिनिष्ट्री बजेटरी इन्फरमेसन सिस्टम’ (एलएमबीआईएस) बाट भने ती सडक हटेका छैनन् । सरकारको वार्षिक बजेटमा समावेश भएका कार्यक्रमहरु मात्रै एलएमबीआईएसमा राख्ने गरिन्छ ।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश बजेट मार्फत रकम छुट्टयाएका सडक पूर्वाधार विकास कार्यक्रम र तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तरगतका सडकका लागि विनियोजन गरिएको रकम कटौति गरेर ती योजनाहरु स्थगित गरिएको हो ।

यसमध्ये सडक पूर्वाधार विकास कार्यक्रमको लागि यसअघिको अध्यादेश बजेटमा १ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस्तो सडकको संख्या देशभर गरी ७९३ वटा छन् ।

यस्तै, तराई मधेशका जिल्लामा सडक बनाउनको लागि निवर्तमान अर्थमन्त्री पौडेलले तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम ल्याएका थिए । यो कार्यक्रममा ६१७ वटा सडक परेका थिए । यो कार्यक्रमका लागि अध्यादेश बजेटमा १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यी दुबै कार्यक्रम देशभरका अधिकांश जिल्लामा परेका थिए । बजेटमा समावेश भएका यस्ता सडकको लागि प्रतिआयोजना २४ लाख रुपैयाँका दरले बजेट राखिएको थियो ।

यी हुन कार्यान्वयन स्थगित गरिएका १४१० वटा सडक आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.