मेरा बैंकर साथी

  २०७८ भदौ ८ गते १६:४३     सुशिल घिमिरे ‘त्रैलोक्य’

अक्सर मेरा स्कुल पढ्ने धेरै साथीहरु आज नोकरीको सिलसिलमा कोही बिदेशिएका छन्, कोही सरकारी पेसामा आवद्द छन् । कोही व्यापारमा र कोही बैंकमा कार्यरत छन् ।

अरु पेसाका साथीसँग प्रायः भेट भइरहन्छ । कहिले कोटेश्वरमा बस चढ्दै गर्दा, कहिले चावहिलको सिनेमा हलमा, कहिले परिवारसँग घुम्न जाँदा फनपार्कमा ।

मसँग भेट नहुने साथीहरु भनेको प्राय: बैंकमा काम गर्ने साथीहरु हुन्। उनीहरुसँग आक्कल झुक्कल भेट हुन्छ । खुसी लाग्छ धेरै दिन पछि अचानक भेट हुँदा बैंकर साथीहरुसँग ।

धेरै दिनपछि आफूसँगै पढेको साथी भेट भयो । यस्सो बसेर कुराकानी गरौं न त भन्यो हतार छ यार कुनै दिन बसुम्ला नि ल भन्दै भेट्न पाएको हुँदैन बिदा भइहाल्छन् । कसैको मलामी जान हतार-हतार गरेझैँ जहिल्यै भेट्यो हतार-हतारमा हुन्छन् बैंकर साथीहरु ।

बैंकरहरु कार्य व्यस्तताले सामाजिक हुँदैनन्, कसैको बोलावट निम्तोमा पनि उनीहरु जाँदैनन् । विवाहमा पनि जाँदैनन् । मलामीमा पनि जाँदैनन् । बैंकरहरु घमण्डी हुन्छन् । व्यस्त त बहाना हो भन्ने आक्षेप एक हिसावले ठिकै हो कि हो कि जस्तो पनि लाग्छ ।

मेरै घरको कुरा गरुम् न । मैले कतिचोट आफ्नो घर सर्दा पूजा लगाउँदा होस् वा छोरीको पास्नीमा, कयौं चोटि आफूसँगै पढेका बैंकर साथीहरुलाई घरको कार्यक्रममा बोलाएको छु । कहिले क्लोजिङ् छ यार, आउन पाइनँ, सरि है, कहिले ट्रेनिङ छ यार, जुममा अनलाइन आउन पाइन है भन्दै आउदैनन् । तर, पनि उनीहरु साथी हुन् । म भने आफ्ना कार्यक्रममा बोलाउन छोडदिनँ । र, उनीहरु भने नआउन छोड्दैनन् ।

भनिन्छ नि, जो जहाँ काम गर्छ, जुन पेशामा आवद्द हुन्छ, विस्तारै उसको स्वभाव पनि पेशा अनुरुप हुँदै जान्छ । सायद त्यहि भएर होला, अरु पेसाका साथीहरुसँग कुरा गर्यो राजनैतिक, फिल्मीदेखि डुलेको घुमेको मात्र होइन मगंल ग्रहसम्मका कुरा हुन्छन् । मलाई कुरा गर्न मज्जा लाग्छ । आफनो पेशा पनि शिक्षक भएर होला, मलाई बोलिरहन मन पर्दछ ।

अँ साच्चि ! कुरा भनेपछि सम्झें । कुरा पनि दुईथरि हुन्छन् । एउटा गफ अर्थात आकाश पातालका कुरा जुन गरुन्जेल मज्जा लाग्छ । रमाइलो लाग्छ । तर, व्यवहारमा काम लाग्दैन । त्यसवाट शिक्षा पाइदैन । रमाइलो भने लाग्छ ।

यस्ता साथीहरु पनि चाहिन्छन्, कहिले काहीँ । अचाक्ली तनाव भयो भने रिफ्रेसमेन्ट हुनलाई । अरु साथीभन्दा मेरा बैंकर साथीहरु अलि फरक छन् । यिनीहरुसँग गफ गर्दा अलि चनाखो हुनु पर्दछ । डर पनि लाग्छ मलाई यिनिहरुसँग गफ गर्दा । कुरा गर्दै लग्यो हरेक कुरा आर्थिकमा ल्याएर जोडिदिन्छन् । जुनपनि कुरा फाइदा अनि नाफा घाटासँग तुरुन्त समावेश गरिहाल्छन । हिसावको बोक्रा बोक्रा निकाल्छन् ।

त्यहि भएर अलि डर लाग्छ मलाई बैंकर साथीहरुसँग कुरा गर्न । तर, पनि म प्रत्येक भेटमा बैंकर साथीहरुबाट केहि न केहि आर्थिक ज्ञान भने पाइनै रहन्छु । त्यहि भएर प्रायः पाँच–छ महिनामा एक–डेढ लाख वचत भएपछि खुसुक्क भेट्छु बैंकर साथीलाई । आर्थिक ज्ञान लिन र यो एक डेढ लाख कसरी सदुपयोग गर्ने भनेर सिक्न । उनीहरुमा आइडियाको खानी छ । म एउटा आइडिया लिन्छु र मेरो पैसाको सदुपयोग गर्छु ।

अब भनौ न, म सुरु सुरुमा गाउँबाट यो काठमाडौं आउदा मसँग पैसाको नाममा गाउँमा रहेको मेरो जग्गा र त्यो बेचेको पाँच लाख रुपैयाँ मात्र थियो । त्यहि बैंकर साथीको आइडिया र हिम्मतले एउटा पाँच लाखको सानो चार आना जग्गा किनियो । उसले भनेझै मलाई सेयरमा खासै रुचि र लगाव थिएन । उसले नै मेरो नागरिकता र फेटो मागेर उसकै ढिपीले डिम्याट खाता खोलियो । आइपिओ परिवारको हरेक सदस्यको नाममा भरियो पनि ।

यो सात आठ वर्षको दौरान आज मैले किनेको त्यो पाँच लाखको जग्गा आनाकै पन्द्र लाखमा जाने भइसक्यो । यता सेयरहरु पनि सवै बेच्दा नौ दश लाख जतिको पुगिसक्यो । अहिले उसैले घर बनाउन पनि मलाई हिम्मत दिइराखेको छ । केहि भएन भने जग्गा बैंकमा राखेर, मेरो शिक्षक पेसाको आम्दानी देखाएर होम लोन लिन भनिराखेको छ उसले ।

उ नभएको भए मलाई काठमाडौ जस्तो ठाउँमा घर बनाउने हिम्मत सायद आउदैन थियो होला । त्यहि भएर उसँग भेट नहुदा पनि खुसी लाग्छ । मेरै लागि र म जस्ताको लागि आइडिया बटुल्दै छ जस्तो लाग्छ । आखिर उसको ज्ञान मेरै लागि त हो नि ।

मेरो अरु साथीहरु खर्चालु छन् । एक भेटमा दुई तीन हजारको खर्च हुन्छ । मेरो भागमा एक हजार जति पर्छ । प्रत्येक भेटमा एक हजार चट् हुन्छ । तर, बैंकर साथीसँगको भेटमा दुई तीन सय नै काफि हुन्छ । एक हजारले त आइपियो भर्न पो पुग्छ । दश कित्ता सेयर पो भर्न मिल्छ भनेर उ ज्ञान दिन्छ मलाई ।

दश कित्ता सेयर भनेको भविश्यको केहि नभए पनि पचास हजार त पक्कै हो भनेर प्रत्येक आजको मेरो एक हजारलाई भविश्यको पचास हजारमा रुपान्तरण गर्छ मेरो बैंकर साथी । कहिले काहीँ त मलाई बोर पनि लाग्छ । उसले खाली आर्थिक मात्र कुरा गरेको देखेर । पैसा केहि होइन तर सवै थोक हो भनेर म पनि उसको कुरामा सहमति जनाउँछु । र, प्रत्येक भेटमा उसको हरेक कुरालाई सहमति जनाउँछु ।

बुझ्यौ तिमीले, सामान किन्दा मोलमोलाई गर्नु नि । डिस्काउन्ट माग्नु नि पसलेसँग । डिस्काउन्ट माग्न केको लाज भन्दै सानो सानो कुरा विचार गर्न लगाउछ उ, मलाई । तरकारी किन्दा किलोको पाँच रुपैयाँ घटायौ भने पनि वर्षमा त्यो पैसा दुई चार हजार हुन्छ भनेर उ मलाई तरकारी किन्न सिकाउँछ । वचत गर है, अनि वचत गरेको पैसा मुद्दतिमा राख है, धेरै व्याज पाइन्छ भन्दै मलाई वचत गर्ने बानी सिकाउँछ ।

ऊ फाल्तु कुरा गर्दैन । सायद पेशाले होला र उसको पेशाको बानीले होला । कसैलाइ सापटी नदिनु है, दिइहाले पनि धितो चाहि राख्नु है भन्दै ऊ मलाई सुरक्षित हुन सिकाउँछ । प्रत्येक मान्छेसँग नगद र कारोबार गर्दा क्लियर हुनु पर्दछ है । ऊ मसँग अभिभावक झै व्यवहार गर्छ । घर वनाउँ है, हाम्रो बैंकबाट होम लोन लेउ है । सस्तो व्याजको अफर छ है । अनि घर बनाएपछि घरको छानामा तरकारि लगाउ है भन्दै मलाई उ आत्मनिर्भर हुन सिकाउँछ ।

मेरो पैसा त सवै कति सेयरमा कति जग्गामा कति होमलोनको किस्ता तिर्नमा छ भन्दै आफूसँग चालु पैसा नभएको कुरा बताउँछ । सबै पैसा कमाउने र भविश्यमा बढ्ने क्षेत्रमा लगाएकोले सापटी दिन नसक्ने कुरा बताउँछ । तर, आइडिया चाहि दिन्छ मेरो बैकर साथी ।

आफू परिवारकै लागि रात दिन नभनि खटेको, परिवारलाई पर्याप्त समय दिन नसकेको, कामको व्यस्तताले समाजमा र सामाजिक क्रियाकलापमा समय दिन नसकेको, यत्रो कोरोनाको महामारीमा पनि ज्यानको जोखिम मोलेर सेवाग्राही कै सेवा गरेको तर परिवार, समाज र राज्यले त्यो नबुझिदिएकेले झन् उल्टै बैंकरलाई घमण्डी भनिदिएकोले आफ्नो र सबै बैंकर साथीहरुको मन यसमा चसक्क भएको कुरा उसले मलाई सुनाउँदा मेरो मन पनि खिन्न भएर आयो ।

अरु साथीहरुसँग हप्तै पिच्छे भेट हुदा गफ गर्न मज्जा लागेपनि, रमाइलो भएपनि हाँसी ठ्ट्टा भएपनि , सधै व्यस्त हुने मेरो बैंकर साथीसँग पाँच छ महिनामा एकचोटि मरेर भेट हुँदा पनि किन किन मलाई आफू आर्थिक रुपमा सुनिश्चित भएको महसुस हुन्छ । अरुले भनेझै उ आज मलाई घमण्डी लाग्दैन । बैंकर साथीलाई भेट्दा किन किन ढुक्क महसुस हुन्छ ।

त्यहि भएर होला सायद मेरो हरेक परिवारिक निम्तोमा ऊ आउन नभ्याए पनि म बुझ्छु उसको व्यस्तता । तर, बोलाउन उसलाई म छोड्दिन । म बोलाई रहन्छु, निम्तो गरिरहन्छु । मलाई थाहा छ, ऊ अत्यावश्यक क्षेत्रमा काम गर्ने मान्छे हो । टारगेट र प्रेसरमा काम गर्ने मान्छे हो । उसैले आइडिया दिएर होमलोन गर्दिएर आज म डेराको जिवनबाट मुक्ति हँुदै घर सर्दै छु । आज पनि मेरो निम्तोमा आउदैन । ऊ त म जस्ता हजारौको सेवाको लागि बैंकिङ काम गर्दै, सयौंको होमलोन, विजनेस लोन पास गर्दै कयौंको सपना पुरा गर्दै होला । कम्युटरको किवोर्डमा व्यस्त भई सायद कन्ट्रोल जेडआर गर्दै आफैलाई थकित हुनबाट रोक्दै रिफ्रेसमेन्ट गर्दै छ होला, मेरो प्यारो व्यस्त बैंकर साथी ।

One comment on "मेरा बैंकर साथी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.