बैंकहरुले होटलमा लगानी गर्न छोडे

  २०७८ भदौ ८ गते १३:४४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण संकटमा परेको होटल क्षेत्रमा बैंकहरुले लगानी गर्न छोडेका छन् । कोरोनाको कारण सबै भन्दा बढी समस्यामा परेको होटल क्षेज्ञमा लगानी गर्दा बढी जोखिम देखिएपछि नेपाली बैंक तथा वित्तीय क्षेत्रहरुले कर्जा लगानी गर्न छोडेका हुन् ।

नेपाल सरकारले सार्वजनिक गरेको बजेट र नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोना प्रभावित व्यवसायी तथा क्षेत्रलाई बचाउनका लागि भनेर विभिन्न व्यवस्थाहरु गरेपनि बैंकहरुले भने लगानी गर्न छोडेका हुन् ।

जोखिमसँगै बैंकमा बैंकसँग लगानीयोग्य पूँजी नभएर बिजनेस नै गर्न नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले होटल क्षेत्रमा लगानी गर्न छोडेका हुन् । पुराना होटलहरुलाई कर्जा दिएको भएपनि नयाँ आउने होटललाई कर्जा दिन रोकेको होटल व्यवसायीहरु बताउँछन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कारण अहिले पर्यटन क्षेत्र ठप्प छ । विदेशीसँगै स्वदेशी पर्यटकहरुको आवागमन अहिले ठप्प छ । त्यसैले पनि अधिकांश होटलहरु अहिले बन्द अवस्थामा छन् ।

बैंकर्सहरु पनि होटल क्षेत्रमा लगानी गर्न छोडेको स्वीकार्छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन शर्मा अहिले बैंकिङ क्षेत्रले नै होटलमा लगानी गर्न रोकेको बताउँछन् ।

अहिले होटल क्षेत्रमा सबैभन्दा बढी जोखिम रहेको र लगानीयोग्य रकममा पनि कमी आएको कारण कर्जा प्रवाह कम भएको हुन सक्ने उनको भनाई छ ।

‘बैंकिङ क्षेत्रले मात्र होइन, राष्ट्र बैंक र नेपाल सरकारले पनि होटल क्षेत्रमा जोखिम देखेको हो, केन्द्रिय बैंकले होटल तथा पर्यटन क्षेत्रमा गएको कर्जाको व्याजदर स्थीर राख्नुहोस्, जरिवाना नगर्नुहोस्, उनीहरुलाई सर्भाईव हुन दिनुहोस् भन्नु भनेको जोखिम छ भन्ने बुझ्नु पर्छ, कोरोनाको कारणले होटल क्षेत्रमा विश्वव्यापी रुपमै जोखिम छ,’ उनले भने ।

बैंकले सर्वसाधारणको पैसा चलाउने भएको र सो रकम सुरक्षित राख्नको लागि भएपनि जोखिम छ वा छैन भनेर पहिचान गरेर नै लगानी गर्नु पर्ने उनको भनाई छ ।

‘जुन क्षेत्रमा बढी जोखिम छ, त्यसमा लगानी गर्न पछि हट्छन्, लगानी गरेर त्यो क्षेत्रले रिभाइव गर्न सक्छ कि सक्दैन ? बैंकले रिटर्न पाउँछ कि पाउँदैन भन्ने हुन्छ, जहाँ जोखिम बढी छ त्यहाँ फेरि लगानी गर्न बैंकहरु अवश्य नै पछि हट्छन्,’ उनले भने ।

उनका अनुसार सनराइज बैंकले पनि लगानी कम गरेको छ । ‘होटल क्षेत्रमा पहिले पनि हाम्रो त्यति धेरे लगानी थिएन, अहिले पनि धेरै लगानी छैन, कुल कर्जाको २ प्रतिशत मात्रै होटल क्षेत्रमा लगानी छ,’ उनले भने ।

उनका अनुसार बैंकिङ क्षेत्रमै २ प्रतिशतको हाराहारीमै होटलमा कर्जा लगानी भएको हुन सक्छ । यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय पनि होटल क्षेत्रमा खासै कर्जा प्रवाह नभएको बताउँछन् ।

‘कोरोनामा लगानी घट्नु स्वभाविक हो, होटल क्षेत्र कोरोनाको ठूलो समस्यामा छ, जोखिम पनि कायमै छ, त्यसैमाथि अहिले तरलताको पनि अभाव छ, त्यस कारणले पनि घटेको हुन सक्छ,’ उनले भने ।

उनका अनुसार कृषि विकास बैंकले पनि होटल क्षेत्रमा खासै लागानी गरेको छैन । ‘धेरै कर्जा त घटेको छैन, बरु एग्रेसिभ भएको छैन, हामीले होटलभन्दा पनि होमस्टे र कृषिमा बढी लगानी गरिरहेका छौं,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी-कर्जा-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी) लागू गरेपछि बैंकहरु केही समस्या पर्न सक्ने धारणा राखिरहेका छन् ।

मौद्रिक नीतिमा सीडी रेसियो ९० प्रतिशतसम्म हुनु पर्ने व्यवस्था गरेको छ सो व्यवस्थाले पनि यस्तो अवस्थामा कुनै पनि बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म मात्रै होटल क्षेत्रमा २५ अर्ब रुपैयाँ मात्रै होटल क्षेत्रमा कर्जा प्रवाह भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंकहरुले बैंकमा लगानी झन् घटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.