व्यवसायी ज्योती र मल्होत्राले पनि विदेशी साझेदार खोज्दै, लगानी सम्मेलनमा यी १९ जलविद्युत आयोजना सोकेस

  २०८१ वैशाख १६ गते ९:०६     विकासन्युज

काठमाडौं । लगानी सम्मेलनका लागि जलविद्युत उद्यमीका विभिन्न १९ वटा परियोजनाहरू सोकेस गरिँदैछ । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा १९ वटा जलविद्युत आयोजनाहरूलाई प्रस्तुत गरेर विदेशी लगानी आव्हान गरिएको हो । जसमा नेपाली ठूला व्यवसायीहरू पनि संलग्न छन् ।

निजी क्षेत्रबाट सोकेस गरिने कुल ३१ परियोजनामध्ये जलविद्युत क्षेत्रका १९ वटा आयोजनाहरू छनोट गरिएको छ । जसमा सबैभन्दा ठूलो क्षमताको आयोजना आईएमएस ग्रुपको रहेको छ । यो समूहले डोल्पामा ३२५ मेगावाट क्षमताको अपर भेरी हाइड्रोइलेक्ट्रिक परियोजना निर्माण गर्दैछ । यो आयोजनाले पनि विदेशी लगानीकर्ता खोजिरहेको छ । आईएमस समूहको अध्यक्ष दिपक मल्होत्रा हुन् ।

यस्तै, ठूला व्यवसायीमध्येका ज्योती समूहका अध्यक्ष पद्म ज्योतीले पनि जलविद्युत आयोजना निर्माण गर्दैछन् । ज्योतीको नेतृत्व रहेको बुटवल पावर कम्पनीले १५९.६२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाका लागि लगानी आव्हान गरेको छ । ज्योती बुटवल पावर कम्पनीका अध्यक्ष हुन् भने यो व्यवस्थापन प्रमुख उत्तककुमार श्रेष्ठ हुन् । श्रेष्ठ ईप्पानको सञ्चालक पनि हुन् ।

नबिल डेभलपर्सले पनि २०३ मेगावाट क्षमताको माथिल्लो बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी आव्हान गरेको छ । जुन आयोजना गोरखामा बन्दैछ ।

यस्तै, लालुपाते जलविद्युत कम्पनीले ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण गर्दैछ । सो कम्पनी स्वतन्त्र उर्जा उत्पादक संस्था संघका वरिष्ठ उपाध्यक्ष मोहन कुमारी डाँगीको हो । यो आयोजना मनाङमा निर्माण हुनेछ । यो आयोजनालाई पनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको छ । कम्पनीले आयोजना निर्माणको लागि विद्युत विकास विभागबाट अनुमति पनि पाइसकेको छ । यो परियोजना रन अफ दि रिभर (आरओआर)मा आधारित छ ।

यस्तै, पेल्मा जलविद्युत परियोजनालाई पनि लगानी सम्मेलनमा प्रस्तुत गरिँदैछ । ८० मेगावाट क्षमताको यो जलविद्युत आयोजना रुकुममा बन्ने भएको छ । यसको नेतृत्व चार्टर्ड एकाउन्टेन्ट नारायणप्रसाद पौडेलले गरेका छन् । रुकुममा नै पेल्मा जलविद्युत परियोजनाले नै १५० मेगावाट क्षमताको अपर सानी भेरी आयोजना निर्माण गर्नका लागि लगानी आव्हान गरेको छ । यो आयोजनाको लागि नेतृत्व मोहिता डाँगीले गरेकी छन् । उसो त डाँगी पनि लालुपाते हाइड्रोपावरमा नै संलग्न छिन् । उनी सो कम्पनीको परियोजना प्रमुखका रुपमा काम गरिरहेकी छन् ।

यस्तै, रामजानकी जलविद्युत कम्पनीले संखुवासभामा ३५.१५ मेगावाट क्षमताको उपर उप्सुवा जलविद्युत र २३ मेगावाटको उप्सुवा १ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यी आयोजनाको नेतृत्व होमकान्त चौलागाईंले गरेका छन् ।

यस्तै, अपरमस्र्यादी हाइड्रोपावर कम्पनीले लमजुङमा १०२ मेगावाटको जलविद्युत बनाउँदैछ । जसको नेतृत्व सरोज बस्नेतले गर्दैछन् । समिट पावर कम्पनीले सोलुखुम्बुमा १८८ मेगावाटको सुर्के जलविद्युत आयोजना निर्माण गर्दैछ । जसको नेतृत्व कम्पनीका अध्यक्ष सुशिल गुप्ताले गर्दैछन् ।

बिजबेल इनर्जीले हुम्लामा ९८.१७ मेगावाट क्षमताको चुवाखोला क्यासकेड जलविद्युत आयोजना निर्माण गर्दैछ जसको नेतृत्व दिवाकर गिरीले गरेका छन् । यस आयोजनालाई पनि लगानी सम्मेलनमा विदेशी लगानीका लागि सोकेस गरिनेछ ।

नेपाल पोर्टफोलियो इनर्जीले हुम्लामा ११० मेगावाट क्षमताको अपर चुवाखोला जलविद्युत आयोजना निर्माण गर्दैछ । यो आयोजनालाई पनि लगानी सम्मेलनमा प्रस्तुत गरिँदैछ । जसको नेतृत्व जलविद्युत उद्यमी सुशिल पोखरेलले गरेका छन् ।

अन्नपूर्ण विद्युत विकास कम्पनीले कास्कीमा ८६.५९ मेगावाटको ल्याण्डलक मोदी जलविद्युत आयोजना निर्माण गर्दैछ । जसको नेतृत्व कम्पनीका अध्यक्ष जगत पोखरेलले गर्दैछन् । यस आयोजनाले पनि विदेशी लगानी खोजिरहेको छ ।

बीजी हाइड्रो इन्भेष्टमेन्टले सिन्धुपाल्चोकमा ४० मेगावाट क्षमताको बलेफी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको नेतृत्व कम्पनीका सञ्चालक सुदिप खड्काले गर्दैछन् ।

नरखोला हाइड्रोपावर कम्पनीले मनाङमा नरखोला हाइड्रोपावर निर्माण गर्दैछ । जुन ६१ मेगावाट क्षमताको हो भने यसको नेतृत्व कम्पनीका अध्यक्ष बटु लामिछानेले गर्दैछन् । यो आयोजनाले पनि विदेशी लगानी खोजिरहेको छ ।

लगानी सम्मेलनमा ५४ मेगावाटको महाकाली सेती क्यासकेड पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना र ७२ मेगावाट क्षमताको सेती नदी पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना प्रस्ताव गरिँदैछ । यी आयोजनामा पनि विदेशी लगानी खोजिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.