सम्मान संस्कारको सुरुवात

  २०८१ वैशाख १६ गते ११:५४     सम्पादकीय

पायोनियर सञ्चार माध्यमको काम नविनतम् समाचार सम्प्रेषण गर्ने मात्र नभई सरोकारवालाको कार्यशैलीलाई उत्प्रेरणा जगाउँदै थप परिष्कृृत गर्नु पनि हो । सकारात्मक समाचारको एउटा वाक्यले व्यक्ति वा संस्थालाई समेत ठूलो उत्प्रेरणा मिल्छ भने एउटा पायोनियर सञ्चार माध्यमले सरोकारवाला निकायले गरेको कामलाई प्रशंसास्वरुप सम्मान गरियो भने त्यसले एउटा व्यक्ति वा संस्था मात्र नभई त्यो क्षेत्र र सिंगो देशको अर्थतन्त्रमा पनि सहयोेग पुग्छ, प्रोत्साहन मिल्छ र थप काम गर्न बल पुग्छ ।

तर, पछिल्लो समय राम्रो गर्नेलाई पनि खोजी-खोजी खेदो खन्ने सोच र अभ्यास समाजमा हावी हुँदै गएको छ । राम्रो काम गरेर समाज र सिंगो देशलाई समेत टेवा पुर्याइरहेका उदाहरण र अभ्यास हाम्रोसामू धेरै छन् । ती कामलाई नजरअन्दाज गर्दै खराब प्रवृति र गलत गतिविधिलाई बढावा दिने परिपाटीले थप स्थान ओगट्दै गएको छ । हो, समाजमा खराब काम पनि भइरहेका छन् । खराबलाई खराब भन्नु र राम्रोलाई राम्रो भनेर थप प्रशंसा गर्दै उत्प्रेरणा जगाउनु एउटा सभ्य व्यक्ति, संस्था र समाजको धर्म हो ।

एउटा क्षेत्रमा व्यक्ति खराब हुने वित्तिकै त्यो क्षेत्र नै बदनामी हुनु पर्ने वातावरणको सिर्जना हुँदै गएको छ । एउटा नेता वा कलाकार, उद्यमी वा व्यवस्थापक, डाक्टर वा इन्जिनियर, वकिल वा पत्रकार विभिन्न रूपमा आलोचित, बहिस्कृत र तिरस्कृत हुन थालेका छन् । जे नहुनु पर्ने हो, त्यो भइरहेको छ । यो परिपाटीको पर्दाफास गर्नु पत्रकारितका मुल कर्म हो । साथसाथै, समाजमा सकारात्मक सोच प्रवाह गर्नु र असल अभ्यासहरुको तरङ्लाई विस्तार गर्नु पनि आम सञ्चार क्षेत्रको जिम्मेवारी हो ।

यही जिम्मेवारीबोधसहित आर्थिक जगतमा भइरहेको राम्रा कामहरूको खोजी गर्ने, अर्थतन्त्रमा टेवा पुग्ने गरी व्यावसायिक क्षेत्रबाट राम्रो काम गर्ने संस्था वा नेतृत्वको खोजी तथा पहिचाहन गर्ने र सम्मानित गर्ने अभ्यासमा हामी लागि परेका छौं । यसको सुरुवात वाणिज्य बैंकहरूको कर्म, प्रभाव र नतिजाको विश्लेषणबाट गरेका छौं ।

अहिले बैंकहरूको खराब कर्जा बढ्दो छ । बैंकहरूको नाफामा उच्च गिरावट आएको छ । लगानी भएको ऋण असुल गर्न समस्या भइरहेको छ । यही समयमा केही अराजक व्यक्ति र समूहले यही बैंकिङ क्षेत्रमाथि हमला गर्ने प्रयास पनि भइरहेको छ । परिणामस्वरुप बैंकबाट लगानी गरेबापत् सेयरधनीले पाउनु पर्ने लाभांश घट्दै गइरहेको छ । बैंकमा काम गर्ने कर्मचारी तनाबमा छन् । निक्षेपकर्ताहरू कतै मेरो पैसा डुब्ने त होइन भन्ने त्रासमा छन् । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकिङ क्षेत्रमाथि यो किसिमको हमला हुनु सिंगो देशका लागि दुभार्ग्य हो ।

यो परिस्थिति र वातावरणको बिचमा रहेर यो त्रास, तनाब र नैराश्यताको अन्त्य गर्न सकारात्मक योगदानको जरुरी छ । यो बेला सकारात्मक सन्देश प्रवाह गरेर चोट लागेको घाउमा मल्हम लगाउन आवश्यक छ । यस विषयको मनन् गर्दै हामीले वित्तीय क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न खोजेका छौं । राम्रा काम गरिरहेका वित्तीय संस्थाहरूलाई श्रेय दिन खोजेका छौं ।

देश विकासले वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरूको मूल्यांकन गर्दै बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण गरेको लाभांश दर, गत वर्ष सरकारलाई तिरेको कर रकम, रोजगारी सिर्जना तथा वित्तीय पहुँचमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको खर्च, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित प्रकाशित वार्षिक प्रतिवेदन, विगत तीन वर्षमा वार्षिक साधारणसभाको नियमितता, सुशासनसँग सम्बन्धित भएर नेपाल राष्ट्र बैंकले गरेको कारवाही सम्बन्धि विवरणहरू लगायत १५ वटा सूचकहरूको आधारमा बैंकहरुको रेटिङ गरेको छ ।

यसरी मूल्याङ्कन गर्दा सकेसम्म तथ्यपरक बनाउने कोसिस गरेका छौं । तथ्याङ्क केलाउँदा अङ्कगणित आधारमा ठूलोलाई राम्रो मानिएको छ । पुँजी लगानी, सम्पत्ति, निक्षेप, सेयरधनीलाई दिएको लाभांश दर, सरकारलाई तिरेको कर, सामाजिक क्षेत्रमा गरेको खर्च जस्ता सूचकमा ठूलो अंकलाई बढी महत्व दिइएको छ । रोजगारी सिर्जनामा गरेको योगदानस्वरुप कर्मचारी संख्या, वित्तीय पहुँच वृद्धिमा गरेको योगदानको आधारमा शाखा संख्या बढी हुनुलाई पनि राम्रो मानेका छौं । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १३ र निक्षेप-कर्जा अनुपात (सीडी रेसियो) ८५ लाई उत्तम बिन्दु मानेका छौं । राष्ट्र बैंकले तोकेको ११ र ९० को आधारमा यस्तो गरिएको हो । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १५ भन्दा बढी हुनु वा सीडी रेसियो ७५ भन्दा कम हुनुलाई व्यावसायिक वित्तीय असन्तुलनको रूपमा चित्रण गरेका छौं । असोज मसान्तभित्रै भएको साधारणसभालाई उत्कृष्ट, पुसभित्र भएको साधारणसभालाई राम्रो,चैत्रभित्र साधारणसभा हुनुलाई औसत, असारभित्र साधारणसभा हुनुलाई कमजोर र हरेक आर्थिक वर्षभित्र साधारणसभा नगर्नेलाई अनियमितको रूपमा मूल्याङकन गरेका छौं । सुशासनको कडीको रूपमा नियामकले गरेका कारवाहीको संख्या र प्रकृतिलाई हेरेका छौं । अनुभवका आधारमा आगामी दिन यसलाई अझ बहुआयामिक बनाउने छौं । आशा छ, यो कार्यले समग्र बैंकिङ क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.