मौद्रिक नीति शुक्रबार आउने

  २०७८ साउन १८ गते १४:३७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति अगामी शुक्रबार आउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आगामी शुक्रबार ल्याउने तयारी रहेको बताएका हुन् ।

इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्ष सुरु भएको तेस्रो साता वित्न लागेपनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छैन । राष्ट्र बैंकले समयमै मौद्रिक नीति ल्याउन नसक्दा पूर्वगभर्नरदेखि अर्थविद्सम्मले आपत्ति जनाइरहेका छन् ।

राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने गरी गृहकार्य गरेको भएपनि असार अन्तिममा सरकार परिवर्तन भएको र नयाँ सरकारले अध्यादेश मार्फत ल्याएको बजेट परिमार्जन गर्ने बताएपछि मौद्रिक नीति सार्वजनिक हुन ढिलाई भएको थियो । यस्तै, अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति ल्याउन केही ढिलाई गर्न राष्ट्र बैंकलाई निर्देशन दिएका थिए ।

यद्यपि, गभर्नर अधिकारी भने अर्थमन्त्रीको हस्तक्षेपका कारण मौद्रिक नीति ल्याउन ढिलाई भएको बताइरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.