पाँच वाणिज्य बैंकले नगद लाभांश दिन नसक्ने, यस्तो छ कारण

  २०७८ साउन १३ गते १३:५७     विकासन्युज

काठमाडौं । संचालनमा रहेकामध्ये ५ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिन नपाउने भएका छन् । बैंकहरुले प्रकाशित गरेको गत चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सिभिल, लक्ष्मी, माछापुच्छ्रे, एनआईसी एशिया र प्रभु बैंकले नगद लाभांश वितरण गर्न पाउने छैनन् । तर, असार मसान्तको वित्तीय विवरण आउँदा यी बैंकको अवस्था सुधार भए वा अन्य बैंकको अवस्था विग्रिए नगद लाभांश दिन पाउने बैंकहरुको संख्या र नाम फेरबदल हुन सक्नेछ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नगद लाभांश वितरण गर्नको लागि बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) १२ प्रतिशतभन्दा बढी हुनुहुन्छ । सीएआर ११ प्रतिशत नभएका बैंकहरुले भने लाभांश नै बाढ्न पाउँदैनन् । १२ प्रतिशतभन्दा कम र ११ प्रतिशतभन्दा बढी सीएआर भएका बैंकहरुले भने कर प्रयोजनको लागि मात्रै नगद लाभांश र बाँकी बोनस सेयर दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्था अनुसार सिभिल, लक्ष्मी, माछापुच्छ्रे, एनआईसी एशिया र प्रभु बैंकले नगद लाभांश दिन नपाउने भएका हुन् । यद्यपि, बोनस सेयर दिएर त्यसको कर प्रयोजनको लागि भने यी बैंकहरुले पनि नगद लाभांश भने दिन पाउने छन् । राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने बैंकहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन जारी गरिसकेको छ ।

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सिभिल बैंकको सीएआर ११.४३ प्रतिशत छ । यस्तै, लक्ष्मीको ११.७२ प्रतिशत, माछापुच्छ्रेको ११.७५, एनआईसी एशियाको ११.४४ र प्रभु बैंकको ११.५३ प्रतिशत छ । त्यसैकारण असार मसान्तसम्मको वित्तीय विवरणले सीएआर १२ प्रतिशतभन्दा बढी नदेखाएमा यी बैंकले नगद लाभांश वितरण गर्न नपाउने देखिएको हो ।

सबैभन्दा बढी सीएआर कृषि विकासको, अन्यको कति ?

सरकारको पनि लगानी रहेको कृषि विकास बैंकको सीएआर नियामक निकायले तोकेकोभन्दा निकै बढी देखिन्छ । गत चैत मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकको सीएआर २१.१० प्रतिशत छ ।

यस्तै, बैंक अफ काठमाण्डूको १३.८८ प्रतिशत, सेञ्चुरी कमर्शियल बैंकको १२.३३, सिटिजन्स बैंक इन्टरनेसनलको १३.८६, एभरेष्टको १२.८२ र ग्लोबल आईएमईको १३.२२ प्रतिशत छ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंकको १३.१९ र नेपाल इन्भेष्टमेन्ट बैंकको १४.७८ प्रतिशत छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्ममा कुमारी बैंकको १३.९८, मेगा बैंकको १२.२२, नविलको १२.२८, नेपाल बंगलादेश (एनबी) बैंकको १३.७७, नेपाल बैंकको १३.६७ र एनसीसी बैंकको १३.७८ प्रतिशत छ । यस्तै, एनएमबी बैंकको १३.२८, प्राइम कमर्शियल बैंकको १४.०७, सानिमा बैंकको १३.९९, एसबीआई बैंकको १४.१५ र सिद्धार्थ बैंकको १३.३७ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १७.८६, सनराइज बैंकको १३.९१ र राष्ट्रिय वाणिज्य बैंकको १२.८८ प्रतिशत छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई आईपीओ जारी नगरेको कारण उसले दिने प्रतिफलप्रति सर्वसाधारणको चासो कम रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.