म्युचुअल फण्डको बढ्दो बजार मूल्यः लाभांशको लोभअघि बुझ्नु पर्छ यी तथ्य

  २०७८ साउन ६ गते १६:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो ।

दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि लगानीकर्ताहरु म्युचुअल फण्डमा आकर्षित भएको देखिन्छ । जुन, विभिन्न कम्पनीले जारी गरेका विभिन्न प्रकारका म्युचुअल फण्डको आवेदन संख्याबाटै प्रष्ट हुन्छ ।

केही समय अघि मात्रै बिक्री खुला भएका म्युचुअल फण्डहरु बिक्नलाई धौधौ पर्थ्यो । तोकिएको ढिलो मितिसम्म निष्काशन गर्दा पनि संस्थाले माग गरेको जति आवेदन नपरेको कयौं तथ्यांकहरु छन् । तर पछिल्लो समय भने जारी भएका म्युचुअल फण्ड सजिलै बिक्री हुँदै आएका छन् । बिक्री खुला भएको एक दुई दिन बित्न नपाउँदै संस्थाले माग गरेको भन्दा बढी आवेदन परिसकेको हुन्छ । र, तोकिएको छोटो मिति (अर्थात बिक्री खुला गरेको ४ कार्य दिन) मै उक्त फण्डको निष्काशन बन्द हुन्छ ।

सेयर बजार बढ्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू ‘एनएभी’) पनि बढ्छ । एनएभी बढेसँगै लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा बढेको हो ।

यसका साथै, विभिन्न म्युचुअल फण्ड अन्तर्गत सञ्चालित विभिन्न प्रकारका योजना तथा कोषले प्रतिफल घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सम्बन्धित फण्डको मूल्यमा पर्नेछ । उक्त घोषित नगद लाभांश तथा प्रतिफलमा लगानीकर्ताको आर्कषण बढेसँगै बजारमा तिनीहरुको भाउ पनि बढ्ने गरेको पाइन्छ ।

पछिल्लो समयको बजारमा त्यस्तै भएको छ । उदाहरणको लागि लक्ष्मी उन्नति कोषलाई हेरौं । जसले आज(साउन ५ गते) मंगलबार बिहान मात्रै गत आर्थिक वर्षको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गर्यो । यससँगै त्यसको सकारात्मक प्रभाव कोषको इकाई मूल्यमा परेको छ । अघिल्लो दिनको तुलनामा इकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई १४.२५ रुपैयाँ पुगेको छ । जुन १.३० रुपैयाँले बढी हो ।

कोषले आफ्ना इकाईधनीलाई अंकित मूल्यका आधारमा लाभांश वितरण गर्नेछ । जस्तै, कोषले २५ प्रतिशत लाभांश वितरण गर्दै छ भने उसले अंकित मूल्य १० रुपैयाँको २५ प्रतिशत अर्थात २.५ रुपैयाँ लाभांश वितरण गर्नेछ । यससँगै कोषको एक सय इकाई हुनेले कूल २५० रुपैयाँ पाउने छन् ।

तर लाभांशको लागि म्युचुअल फण्डमा लगानी गर्ने अधिकांशले आफुले लगानी गरेको पैसाबाट आफैले लाभांश खाएको पाइन्छ ।

कसरी ?

कुनै योजनाले १० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको छ । हालै लाभांश घोषणा गरेको लक्ष्मी उन्नति कोषकै उदाहरण हेरौं । कोषले २५ प्रतिशत लाभांश घोषणा गरेको छ र आगामी साउन १३ गते बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोज अघि अर्थात साउन १२ गते कोषको कारोबार मूल्य १४.२५ रुपैयाँ कायम भयो । हाल कोषको न्याभ १४.७९ रुपैयाँ छ । २५ प्रतिशत लाभांश वितरणपछि कोषको न्याभ २.५ रुपैयाँले घटेर १२.२९ रुपैयाँ कायम हुन्छ । त्यसैले, २५ प्रतिशत लाभांशको लोभमा प्रतिइकाई १४.२५ रुपैयाँमा कोषको इकाई उठाउने लगानीकर्ताले आफुले तिरेको रकमबाट आफैले लाभांश खाएर १.९६ रुपैयाँ घाटा व्यहोर्नुपर्छ । जुन २.५ रुपैयाँ लाभांशको तुलनामा ५४ पैसाँ बढी हो ।

यो त रह्यो बजार मूल्यभन्दा बढी न्याभ रहेको योजनाको उदाहरण ।

अब बजार मूल्यभन्दा कम न्याभ भएको योजनाको उदाहरण हेरौं ।

जस्तै, लक्ष्मी इक्विटी फण्डको बजार मूल्य १६.०५ र न्याभ १५.६६ रुपैयाँ रहेको छ । फण्डले इकाईधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांशपछि फण्डको खुद सम्पत्ति घटेर १३.१६ रुपैयाँ कायम हुन्छ । यससँगै लाभांशको लोभमा परेर प्रतिइकाई १६.०५ रुपैयाँ हालेर फण्ड किन्नेलाई न्याभ १३.१६ मा झर्र्दा २.८९ रुपैयाँ घाटा हुन्छ । जुन फण्डले दिने २.५ रुपैयाँ लाभांशभन्दा पनि ०.३९ रुपैयाँ बढी घाटा हो । यससँगै उसले आफ्नो मूल्यबाट आफैले लाभांश खाएर पनि थप ०.३९ पैसा गुमाएको हुन्छ ।

तर, सबै योजनाको लाभांश घोषणापछि मूल्य समायोजन हुन्छ नै भन्ने हुँदैन । धितोपत्र नियमावली अनुसार घोषित लाभांश बुक क्लोजको मितिमा कायम कारोबार मूल्यको १० प्रतिशतभन्दा बढी भएमा मात्रै उक्त योजनाको मूल्य समायोजन हुनेछ । अन्यथा उक्त योजनाको मूल्य समायोजन हुँदैन ।

सेयर र म्युचुअल फण्डमा फरक

सेयर र म्युचुअल फण्डमा लाभांशपछिको सम्पत्तिमा फरक हुन्छ । सेयरमा कम्पनीले छुट्याएको नाफाबाट लाभांश वितरण गर्छ र लाभांश वितरणपछि कम्पनीको पुँजी घट्दैन । तर, म्युचुअल फण्डमा भने लाभांश वितरणपछि न्याभ नै घट्छ । किनभने म्युचुअल फण्डले न्याभमा प्राप्त भएको र नभएको नाफा समेत गरी प्राप्त नाफाको वितरणयोग्य रकमबाट लाभांश वितरण गर्दा न्याभ घट्न पुग्छ ।

मंगलबारको बजारमा पनि अधिकांश म्युचुअल फण्डको मूल्य बढेको थियो । सो दिन बढी कमाउनेको सूचीमा प्राय सबै म्युचुअल फण्ड नै रहेका थिए । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्ड लगायत ग्लोबल आईएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्सड फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इक्विटी फण्ड गरी कूल ८ वटा म्युचुअलु फण्ड मंगलबार बढी कमाउनेको शीर्ष १०औं स्थानको सूचीमा रहेका छन् । योजनाहरुले धमाधम लाभांश घोषणा गर्ने सिजन लागेसँगै म्युचुअल फण्डको इकाईको मूल्य बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.