पर्यटन मन्त्रालयले भन्यो, निगम निजीकरणबारे छलफल समेत भएको छैन

  २०७८ असार २७ गते १६:४८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरणबारे छलफल समेत नभएको जनाएको छ ।
मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने वा निजी कम्पनिमा रूपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना तथा कार्यक्रम नभएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको प्रेश विज्ञप्ती अनुसार पछिल्लो समय निगमको निजीकरणबारे अनेक समाचार सम्प्रेषण भइरहेका बेला मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाईएको छ ।

निगममा कार्यरत कर्मचारीहरु निगम सञ्चालक समितिले रातारात निजीकरणको निर्णय गरेर नियमावली तथा प्रवन्धपत्र मन्त्रालयमा पठाएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले कर्मचारीलाई थाहा नदिई निजीकरणको फाइल पर्यटन मन्त्रालयहुँदै अर्थ मन्त्रालयमा पुगेको भन्दै निगमको प्रवन्धपत्र जलाउने देखि महाप्रबन्धक तथा निगममा तालाबन्दी समेत गरेका थिए ।

उनीहरुले निगमलाई कम्पनी मोडलमा लाने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने जनाउँदै आएका छन् ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थ मन्त्रालय र निगम सञ्चालक समितिको निर्देशनअनुसार काम गरेको भन्दै निजीकरणको विषय हल्लामात्र रहेको बताउँदै आएका छन् ।

‘निगमलाई कम्पनी मोडलमा लैजानुपर्छ भन्ने कुरामा म स्पष्ट नै छु,’ पौडेल भन्छन् ‘तर अहिले ऋण धेरै भएकाले कम्पनी मोडलमा तत्काल लैजानु हुँदैन ।’

नियमावली तथा प्रबन्धपत्रमा भएका विषय मस्यौदा मात्रै भएकाले कस्ता प्रावधान राख्ने भन्नेबारे बृहत् छलफल गर्न सकिने उनले बताए ।
‘यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन, सञ्चालक समितिले पनि कुनै निर्णय गरेको छैन, समितिका निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले सरकारको निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन’, उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘धेरै विकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल भएको तर, अहिलेको जस्तो न्यून पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानुहुँदैन भन्ने निगमको स्पष्ट धारणा हो ।’

निगमका अनुसार बजेटमा व्यवस्था भए बमोजिम सङ्गठन सुधारका विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार सञ्चालक समितिले एक उपसमिति बनाइ उक्त उपसमितिले तयार गरेको रणनैतिक साझेदारसहितको ढाँचा हुबहु मन्त्रालयमा पेश गरिएको छ ।

निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.