आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला, सातामा ५३ उडान हुने

  २०७८ असार २७ गते ११:३८     विकासन्युज

काठमाडौं । आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख २३ गतेदेखि सरकारले भारत बाहेक अन्य गन्तव्यको उडान बन्द गरेको थियो ।

करिब तीन महिनापछि आजबाट नियमित उडान सुरु भएको हो । मन्त्रिपरिषद्कोे निर्णयका आधारमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आजदेखि विभिन्न गन्तव्यमा सातामा ५३ वटा उडानको अनुमति दिएको हो ।

विभिन्न मुलुकका गन्तव्यमा उडान गर्दै आएका स्वदेशी र विदेशी विमान कम्पनीले अनुमति पाएका छन् । यसअघि उडान खुला गरेका गन्तव्यमध्ये भारत बाहेकका मुलुकमा हुने उडान संख्या थप गरिएको हो । गत वर्षको बन्दाबन्दीपछि एयर बबल अवधारण अन्तरगत खुला गरिएको भारतको उडान हालसम्म सोही अवधारण अनुसार भइरहेको छ ।

नेपाल÷भारत दुबै देशको लगानीमा सञ्चालित दुई वटा वायुसेवा कम्पनीले सातामा एक/एक उडान गर्दै आएका छन् । जसअनुसार भारतको नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले सोमबार उडान अनुमति पाएका छन् । यस्तै, दुबईमा नेपाल एयरलाइन्सले हरेक मंगलबार र बिहीबार तथा हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार उडान अनुमति पाएका छन् । फ्लाई दुबईले आइतबार, बुधबार र शुक्रबारका लागि अनुमति पाएको छ ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक–एक उडान गर्नेछन् । हिमालय एयरलाइन्सले दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार तथा हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार, टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुलमा सोमबार, बिहीबार र शनिबार उडानको अनुमति पाएको छ ।

यस्तैगरी, जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडानको अनुमति पाएको हो ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो ।

असार १७ देखि खुलेको आन्तरिकतर्फको उडान हाल लकडाउन पहिलेको उडान संख्याको आधारमा ५० प्रतिशत मात्रै सञ्चालनमा थियो । अब भने सबै उडान पहिलेकै अवस्थामा फर्किएका छन् ।

वायुसेवा कम्पनीको मागका आधारमा क्यानले आन्तरिक उडानको अनुमति दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.