आइतबारदेखि अन्तर्राष्ट्रिय उडान खुला, यी ११ वायुसेवा कम्पनीले गर्दैछन् उडान

  २०७८ असार २५ गते १७:१०     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि नियमित रुपमा सुरु हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गत वैशाख २३ गतेदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सुरु हुने भएको हो । सरकारले केही समय अघिमात्र सीमित गन्तव्यका लागि खुला गरेको थियो ।

कोरोना समयभन्दा अगाडीकै तुलनामा आईतबारदेखि विभिन्न गन्तव्यमा ११ वटा वायुसेवा कमपनीले नियमित उडान सुरु गर्ने तयारी गरेको छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उडान तालिका समेत स्वीकृत गरिसकेको छ ।

कुन गन्तव्यमा कसकाे उडान ? 

प्राधिकरणले सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसवा निगमले कतारको दोहा, दुवई, भारतको नयाँदिल्ली, क्वाललाम्पुर गरी चार गन्तव्य तथा नेपाल-चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले दुवई, दमाम, दोहा, चीनको चोंग्किंग, क्वाललाम्पुर गरी पाँच गन्तव्यमा उडानको अनुमति दिएको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार कतार एयरवेजले दोहा, टर्की एयरलाइन्सले स्तानाबुल, जजीरा एयरलाइन्सले कुवेत, प्लाइ दुबैले दुवई, सलाम एयरले मस्कट, एयर अरेबिया र एयर दुवईले आबुदावी, एयर इन्डियाले नयाँदिल्ली र सिंगापुर एयरलाइन्सले सिंगापुरमा उडान गर्ने गरी अनुमति दिइएको छ ।

अन्य गन्तव्यमा आइतबारदेखि नियमित उडान सुरु भएतापनि चीन, हङकङ, बंगलादेश, थाइल्यान्डमा नियमित उडान हुनसकेको छैन भने सिंगापुर, यूएई, कुवेतमा एकतर्फी मात्रै उडान भइरहेको छ ।

नेपालले चीन उडानको लागि तालिका नै सार्वजनिक गरे पनि चीन सरकारले अनुमति नदिँदा त्यहाँ नियमित उडान हुन सकेकाे छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन–नेपाल नियमित उडान गर्ने एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स, सिचुवान एयरलाइन्सले उडान गर्न सकेका छैनन् ।

त्यस्तै, हङकङ–काठमाडौं उडान गर्ने क्याथे ड्रयागन, सिंगापुरको सिल्क एयर, थाइल्यान्डको थाई एयर, काठमाडौं–बंगलादेश उडान गर्ने विमान बंगलादेश एयरलाइन्सले नियमित उडान गर्न पाएका छैनन् ।

मागका आधारमा आन्तरिक उडान

प्राधिकरणले आइतबारदेखि विभिन्न गन्तव्यका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेतापनि आन्तरिक उडानको तालिका सार्वजनिक भएको छैन ।

मन्त्रिपरिषद्को निर्णयले सिमित गन्तव्यका लागि अन्तर्राष्ट्रिय उडान खुला गरेतापनि आन्तरिक उडान पूर्ण रुपमा खुला गर्ने निर्णय गरेको थियो ।

आन्तरिक उडानमा धेरै वायुसेवा कम्पनीले उडान गर्दा भिडभाड बढ्ने अनुमान गर्दै भिडभाड कम गर्ने तयारीसहित उडान तालिका सार्वजनिक गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा भिड कम गर्न प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरु बीच छलफल गरेर तालिका सार्वजनिक गरिने प्रवक्ता क्षेत्री बताउँछन् ।

‘यसअघि तोकिएको समयाबधि र कोटा प्रणाली हटाएर हामी छिटै भिडभाड कम गरी संक्रमण रहित आन्तरिक उडान खुलाउने तयारीमा छौँ । उडानको तालिका सार्वजनिक गरेर सम्बन्धित वायुसेवा कम्पनीलाई पठाएपछि पूर्ण रुपमा आन्तरिक उडान खुल्ला हुन्छ’, उनले भने ।

गत बैशाख २० गतेदेखि बन्द भएको आन्तरिक उडान सिमित कोटा राख्दै गत असार १७ गतेबाट पुनः सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.