महंगियो उपभोक्ता बजार, नियामकको ध्यान क्लोजिङमा

  २०७८ असार २५ गते १३:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय उपभोक्ता बजारमा खाने तेलदेखि दाल, चामल लगायत सम्पूर्ण खाद्य वस्तुको मूल्य बढेको छ । कोरोना भाइरस संक्रमणको पुष्टि भएयता अधिकांश वस्तुको मूल्य बढेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको थियो । करिब तीन महिनादेखि जारी निषेधाज्ञाको मौका छोपी व्यवसायीहरुले खाद्य वस्तुको मूल्य बढाउन थालेका छन् ।

गत चैतको तुलनामा चामल, चिनी, दाल लगायत सम्पूर्ण वस्तुको मूल्य बढेको खुद्रा व्यवसायीहरु बताउँछन् । उपभोक्ता बजारमा अधिकांश खाद्य वस्तुको मूल्य बृद्धि हुँदा बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य विभागको ध्यान क्लोजिङतिर रहेको छ ।

निषेधाज्ञाका कारण बजारमा अधिकांश खाद्य वस्तुको मूल्य बृद्धि भएको तथा म्याद सकिएका खाद्य वस्तु बजारमा छ्यापछ्याप्ती हुँदा विभागले बजार अनुगमनलाई वेवास्ता गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार उपभोक्ता बजारमा खाने तोरिको तेल, चामल, खाना पकाउने एलपी ग्यासदेखि तरकारी लगायत सम्पूर्ण खाद्यान्नको मूल्य बढेको छ ।

‘लामो समयदेखि जारी निषेधाज्ञाको मौका छोपी उद्योगी तथा खुद्रा व्यापारीले खाद्य वस्तुको मूल्य बढाएका छन्’, उनले भने, ‘उद्योगीलाई उपभोक्ताको समस्याभन्दा नाफा कमाउन तिर ध्यान केन्द्रीत छ, सरकारी निकाय सीमित उद्योगी तथा व्यवसायीको पक्षमा लाग्दा प्रभावकारी रुपमा बजार अनुगमन भएन ।’

नेपाल खुद्रा व्यवसायी संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्य सम्पूर्ण खाद्य वस्तुको मूल्य बढेको बताउँछन् ।

‘निषेधाज्ञा अघिको तुलनामा हाल सम्पूर्ण वस्तुको मूल्य बढेको छ, केही उद्योगीले वस्तुको मूल्य पुरानै राखेर तौल घटाएका छन्, उपभोक्तालाई तौलको ख्याल हुँदैन, मूल्य बढे नबढेको मात्र ख्याल हुन्छ, उपभोक्ताको ध्यान आफूतिर केन्द्रीत गर्न धेरै उद्योगीले वस्तुको तौल घटाएर बजारमा पठाउने गरेका छन्’, उनले भने ।

उनका अनुसार बजारमा मूल्य बृद्धि उच्च हुँदा सम्बन्धित नियामक निकायले ध्यान दिएको छैन ।

यता नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाई मूल्य बढेको विषयमा जानकारी नभएको बताउँछन् ।

‘केही समययता बजारमा खाने तेलको मूल्य उच्च भएको थियो, हामीले लामो समयसम्म विभिन्न जिल्लामा गएर तेल उद्योगको अनुगमन गरेर उद्योगीलाई मूल्य घटाउन निर्देशन दिएका थियौं, हाम्रो निर्देशन अनुसार पछिल्लो समय प्रतिप्याक (दश लिटर तेल) को एमआरपी मूल्य १ सयदेखि ३ सयसम्म घटेको पाइएको छ’, उनले भने ।

विभागका कर्मचारीहरु भने ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पठाईएको बजार अनुगमनको प्रतिवेदन अध्ययनको काम भइरहेको बताउँछन् । असार मसान्त लाग्नै लाग्दा ७७ वटै जिल्ला र विभाग अन्तरगतका ५ वटा कार्यालयका प्रतिवेदनको अध्ययन गरी फाइनल प्रतिवेदन बनाउने काम हुँदा बजार अनुगमन रोकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.