६ बजेदेखि लाइन बसेकाले २ बजे पनि खाेप लगाउन पाएनन्

  २०७८ असार २२ गते १७:२१     विकासन्युज

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ ।

सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरे अनुरुप खोप केन्द्रमा लाइन बसेका धेरैले खोप नलगाई फर्कनु पर्यो ।

उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाडाैं महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापनदेखि आक्रोशित बनेका थिए ।

उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाएन्न । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

‘बेस्स री गाहो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रो संग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ वर्षमा पनि इनजेक्सन नपुग्ने भईसक्यो । ८५ वर्षका वृद्ध लाइन बस्दा बस्दै ३ ४ जना त लडिसके । तिनको जिम्मेवारी कसले लिन्छ ? पुलिसले भित्र जान दिँदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई ? जनता भेडा हुन् ?, ‘ उनले भने ।

बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बस्नुभयो तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे । उनले प्रशासनलाई विश्वकै नायालक भएकाे बताए ।

‘ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोली आउ यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलीका लागि कुपन भनेर दिएको भए हामी भोली आईहाल्थ्यौ नि,’ उनले भने ।

आलोकनगर टोल सुधार समितिको अध्यक्ष समेत रहेका डिआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाएनन् । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सुचना निकालेपछि उनको धैर्यता टुट्याे । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गरे ।

सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना निकालेको थियो ।

काठमाडाैं महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.