२ महिनापछि सुरु भयो आन्तरिक उडान, दैनिक ६७ जहाज उड्ने

  २०७८ असार १७ गते १०:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ गतेसम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । बिहान साढे ६ बजेबाट बेलुकी ६ बजेसम्मका लागि आन्तरिक उडानको अनुमति दिईएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई १०, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।

विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड/प्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ । यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।

आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्दै सङ्क्रमणरहित उडानमा जुटेको जनाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो

कहाँ कहाँ हुदैछ उडान

करिब दुई महिनापछि उडान सुरुभएपनि यसअघि उडान हुँदैआएका केही गन्तव्यमा भने तत्काल उडान नहुने भएको छ । सिमित संख्यामा उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले यात्रुको धेरै चापँ हुुने विमानस्थलमा मात्र उडानको तयारी गरेका छन् ।

आजदेखि आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् ।

विमानस्थल कार्यालयका अनुसार यती, बुद्ध, सौर्य र श्री एयरलाईन्सले काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७/७, जनकपुर र सिमरा ६/६, पोखरा ५ र धनगढी ४ वटा उडान गर्नेछन् ।

यस्तै, उक्त वायुसेवा कम्पनीले काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ ।

करिब दुई महिनापछि खुला भएको आन्तरिक उडानमा यसअघिको तुलनामा भाडादर केही बढेको छ । २ महिनादेखि उडान बन्द भएको र नेपाल आयल निगमले तेलको मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले उडान शुल्क बढाएका छन् ।

वायुसेवा कम्पनीहरुले यसअघिको तुलनामा केही भाडा समायोजना भएतापनि नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी नलिने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.