धितोपत्र बोर्डले गरेको दुई नयाँ व्यवस्था कहिलेदेखि लागू हुन्छ ? यसो भन्छन् सीईओ साउद

  २०७८ असार १० गते १५:४५     विकासन्युज

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुँजीबजार विकासको लागि बिहीबार मात्रै दुई नयाँ व्यवस्था गरेको छ । बोर्डले अब प्रिओपन सेसनमा २ प्रतिशतमात्र मूल्य घटबढ गरेर सेयर किनबेच गर्न पाइने र न्युनतम मूल्य परिवर्तनको सीमा घटाएर १० पैसा कायम गर्ने दुई व्यवस्था गरेको हाे ।

जसलाई दोश्रो बजार सञ्चालक नेपाल एक्स्चेञ्ज स्टक (नेप्से)ले छिट्टै लागू गर्ने बताएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बाेर्डकाे याे कदम सकारात्मक रहेकाे बताएका छन् । नेप्सेको सुझाव अनुसार नै बोर्डले नयाँ व्यवस्था गरेको बताउँदै उनले यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी गराए ।

‘यो नयाँ व्यवस्थाले बजारको थप विकास र विस्तार हुने छ, अब बोर्डबाट चिठी आएपछि सोही अनुसार छिट्टै लागू गर्ने छौं, अर्को हाम्रो प्रविधिमा पनि कहाँकहाँ परिवर्तन ल्याउनुपर्छ, त्यसमा परिवर्तन गरेर मात्रै लागू हुनेछ, सम्भवतः धेरै समय लाग्दैन’, सीईओ साउदले विकासन्युजसँग भने ।

प्रिओपन सेसनमा धेरै चलखेल भएकोले यसलाई हटाउनुपर्छ भन्ने पनि केही लगानीकर्ताहरुको गुनासो तथा माग रहेको थियो । उता नेप्सेका प्रमुख साउद भने यसलाई थप सुधार गर्दै लैजाँछौं तर ल्याइसकेका सिष्टम, भईरहेका सुविधाहरु हटाउने पक्षमा छैनौं ।

‘प्रिओपन सेसन लगानीकर्ताको जोखिम व्यवस्थित गर्नको लागि राखिएको हो, जुन अन्तरराष्ट्रिय स्तरमा ठूलो अध्ययनका साथ लागू गरिएको हो, यसमा कति प्रतिशत घटबढ गर्ने त्यो छुट्टै हो, तर पनि क्यापिटल मार्केट स्ट्याबिलिटिको लागि आवश्यक नै हो ।’

प्रिओपनको कारोबार सीमा घट्यो, न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसामा झर्यो

‘यो सबैको आ-आफ्नो मोडालिटी अनुसार हुन्छ, कसैले रेगुलर मार्केटमा इन्डेक्समा काउन्ट गर्छन्, कसैले गर्दैनन्, कसैको कति प्रतिशत छ, हाम्रो छिमेकी मुलुक भारतमा १८/१९ प्रतिशत रहेको छ, हाम्रोमा जम्मा ५ प्रतिशतमात्रै थियो, त्यो पनि बढी भयो भन्ने गुनासा आए, त्यसैले यो सीमालाई घटाईएको हो, त्यसैले बजारमा नयाँ नयाँ स्किम लिएर आउनु पर्छ, भएकालाई हटाउने भन्ने हुँदैन, सुधार गर्दै जाने हो’, उनले थप प्रष्टाउँदै भने ।

हाल प्रिओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य घटबढ गरेर सेयर कारोबार गर्न पाइने थियो भने न्युनतम मूल्य परिवर्तनको सीमा एक रुपैयाँ रहेको थियो । नयाँ व्यवस्था कार्यान्वयन पश्चात प्रिओपन सेसनको कारोबार थप व्यवस्थित हुने र लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने बाेर्डले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.