राष्ट्र बैंकको निर्णय भविष्यको लागि फलदायी छ- लगानीकर्ता पौडेलको विचार

  २०७८ जेठ १२ गते १४:२९     अम्बिकाप्रसाद पौडेल

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आफ्नो नियमकीय भूमिकामा रहेर एकिकृत निर्देशिका २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गरेकाे छ । केन्द्रिय बैंकले पुँजी बजारमा सम्बन्धित मूख्य दुई नयाँ व्यवस्था गरेकाे हाे ।

एक, खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशतसम्मको लगानी मात्र बिक्री गर्न सक्ने छ। तर यस अघि (मिति २०७८/२/१० सम्मको) लगानी गरेका सेयर २०७९ असार मसान्तसम्म बिक्री गर्न यस व्यवस्थाले बाधा पुर्याएको छैन ।

अर्काे, विपन्न वर्ग कर्जामा गणना हुने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाउने छैन । तर यसअघि (२०७८/२/१० सम्म) त्यस्ताे सेयर खरिद गरेको भए २०७८ पौष मसान्त भित्र बिक्री/निवेश गरी सक्नु पर्ने छ।

यस्ताे परिपत्र आउनुको कारण

केही बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समयमा सक्रिय रूपमा सेयर ट्रेडिङमा संलग्न भई दिनदिनै उलेख्य कारोबार गरेको र नाफा समेत कमाएका थिए । जुन ती कम्पनीहरूकाे तेश्रो त्रैमासिक वित्तीय विवरणमा समेत देखिएको थियाे ।

कारोबार रकममा भएको वृद्धिलाई धेरै हदमा तिनै संस्थाको कारोबार रकमले सहयोग गरेको भन्ने राष्ट्र बैंकको बुझाई छ । पछिल्लो समयमा सेयरमा लगानी गर्ने बैंक वित्तीय संस्थाको संख्या थपिँदै जानु (देखासिकी गर्न र म पछि परिहाले कि भन्ने सोच यहाँ पनि मौलाएको) को कारण कतै आगामी दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो मुख्य उद्देश्यहरूबाटै विचलित हुने त होइनन् भनी नेपाल राष्ट्र बैंक गम्भीर भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले खोलेका मर्चेन्ट बैंक र तिनीहरूले नै संचालन गरेका म्युचुअल फण्डले समेत त्यही कार्य गर्न अनुमति लिएकोमा फेरि बैंक तथा वित्तीय संस्थाहरुले त्यही कार्य किन गर्नु पर्यो भन्ने विषय पटक पटक उठान भएकोले पनि हाे ।

नेपाल राष्ट्र बैंकले आफ्नो नियमकीय भूमिकामा रहेर हिजाे उक्त निर्देशन दिएकाे हो । केन्द्रिय बैंककाे निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने प्रभावका विषयमा त निकायहरुले बोल्ने नै छन् । तर पनि हिजोको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी स्थापना गर्न लगाएका लघुवित्तको लगानी र अहिले ५१/४९ गरी गरी कन्भर्सन भै सर्वसाधारण सेयरमा परिवर्तन भै लगानीको रूपमा देखिएका सेयरको बिक्रीमा प्रष्ट पार्नु पर्ने देखिन्छ । हाल बैंक तथा वित्तीय संस्थासँग रहेको सेयरको हिस्सामा त्यसरी आएको माइक्रो फाइनान्सको हिस्सा उल्लेख्य देखिन्छ ।

पुँजी बजारमा राष्ट्र बैंकको नीतिको प्रभाव

संख्यात्मक रूपमा धेरै कम बैंक तथा वित्तीय संस्थाहरु सेयर खरिद बिक्रीमा संलग्न भएको र यिनीहरुको लगानी अनुमानित ७ अर्ब रहेको बुझिन्छ। जसमा करिब ३ अर्ब कन्भर्सन भएका माइक्रो फाइनान्सको सेयरको मूल्य रहेकाे छ भने ट्रेडेवल(काराेबार गर्न याेग्य) लगानी मात्र ४ अर्बको देखिन्छ । यो रकम भनेको विगत केही दिनदेखि कारोबार भएको रकमको एक दिनमा हुने कारोबारको १/३ हो । सो रकमलाई माइक्रो फाइनान्सको हकमा ८ महिना र अन्यको हकमा १४ महिनासम्मको अवधि दिएको हुनाले मानसिक रुपमा लगानीकर्ताहरुलाई केही असर परे तापनि कारोबारको हिसावले तात्विक रुपमा बजारलाई प्रभाव पार्ने संख्या होईन ।

बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष रुपमा कारोबारी बन्न नपाउँदा कारोबार रकममा केही दिन कमी आउन सक्ने देखिन्छ। तथापि दोस्रो बजारमा दिनानुदिन बढी रहेका लगानीकर्ताहरुको संख्याले सो असरलाई छिटै पूरा गर्ने छ । हाल पुँजी बजारमा लगानी गरिरहेका बैंक वित्तीय संस्थाले धेरैजसो लगानी क्रमशः १४ महिनाभित्र बिक्री गरी नाफा बुक गर्ने हुँदा यो वर्ष र आगामी वर्ष ती संस्थाहरुको नाफामा उलेख्य प्रगति देखिनेछ ।

आगामी दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो काेर बैंकिङ्ग एक्टिभिटिजमा बढी फोकस भई उलेख्य वित्तीय प्रगती गरी र ग्राहकमैत्री सेवा विस्तार गर्ने छन् । बैंक तथा वित्तीय संस्थाहरुले औचित्यपूर्ण तथा बढी नाफा प्राप्त हुने लगानी लामो समयको लागि होल्ड गर्ने छन् जसको कारण अहिले जस्तो सप्लाई हुने छैन ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सहायक कम्पनी(मर्चेन्ट बैंक, म्युचुअल फण्ड) लाई अझ बढी सशक्त बनाउने छन् र आफ्नो लगानी ती संस्था मार्फत वृद्धि गर्ने छन् । स्टक डिलरकाे संख्या आगामी दिनमा बढ्ने छन् । पटक पटक माइक्राे फाइनान्स र इन्स्योरेन्सको मूल्य बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेकोले बढेको अर्थातआकास छुवाएको भन्ने आरोपबाट मुक्त हुने छन् ।

अन्त्यमा, लामो समयदेखि बैंक तथा वित्तिय संस्थाहरुले गर्दै आएको यो काम सम्बन्धित सरोकारवालासँग छलफल गरी गरेको भए र अहिले गरिरहेको लगानीलाई कम्तीमा उनीहरूकै विवेकमा बिक्री गर्ने मौका दिएको भए अझै राम्रो हुने थियो । यो नीति अल्पकालको लागि सर्वसाधारण लगानीकर्ताहरुको लागि अप्रिय रहे पनि भविष्यको लागि अवश्य फलदायी रहने छ ।

(भेट्रान लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फाेरमका पूर्वअध्यक्ष पाैडेलले सामाजिक सञ्चालमा लेखेका उनका नितान्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.