युवाहरुलाई विना धितो १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाउँदै छौं- मेयर, मादी नगरपालिका

  २०७८ वैशाख ११ गते ७:५२     विकासन्युज

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय नगरपालिका हो मादी नगरपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकामा १४ हजार ४ सय ७० जनाको बसोबास रहेको छ । नगरपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

नगरपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका मेयर बिदुर कुमार लिंथेपसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हामीले नगरपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । हाम्रो नगरपालिकामा ९ ओटा वडा रहेका छन् । त्यी सबै वडालाई हामीले पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । हाल नगरपालिकामा १८ ओटा पकेट क्षेत्रहरू रहेका छन् । २१ सय ४३ घरधुरी समेटिने गरी १ सय ६ ओटा आमा समुहको गठन भएको छ । हाम्रो नगरपालिकामा ८६ ओटा कृषि समूहहरु पनि गठन भएका छन् । बन्दाकोबी, सुन्तला, कागती, किवी, बाख्रा आदिका पकेट क्षेत्रहरू पालिकामा छुट्याएका छौं । हामीले तरकारी फलफूल आदिको विउ पनि कृषकलाई वितरण गर्दै आएका छौं । प्रत्येक पकेट क्षेत्रमा ३ लाख रुपैयाँ बजेट पनि रहेको छ । यो रकम कृषकहरूको आवश्यकता अनुसार खर्च हुने गरेको छ । नगरपालिकाबाट कृषिका तालिमहरू सञ्चालन हुँदै आएका छन् ।

हामीले प्रत्येक वडामा २ जना कृषकलाई प्राङ्गारिक मल उत्पादनको लागि अनुदानको व्यवस्था मिलाएका छौं । एक कृषकले १ वडामा ७ सय ६५ बेरा प्राङ्गारिक मलको उत्पादन गर्ने गरेका छन् । ९ ओटा वडामा जम्मा १३ हजार ७ सय ७० बोरा प्राङ्गारिक मलको उत्पादन हुने गरेको छ । गत साल हामीले अनुदानमा गाई दिने व्यवस्था मिलाएका थियौं । यो वर्ष अनुदानमा भैँसी दिने व्यवस्था मिलाएका छौं । गत वर्ष हामीले ५४ ओटा गाई वितरण गरेका थियौं । हामीले कृषकहरूलाई कृषि औजार पनि अनुदानमा वितरण गर्दै आएका छौं । हामीले फलफूल र तरकारीको विउ पनि वितरण गर्दै आएका छौं । कृषि विकासका लागि विभिन्न किसिमका कार्यक्रमहरू पनि गर्दै आएका छौं ।

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । नगरपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई यो वर्षबाट पुरस्कार दिने योजना पनि रहेको छ । गत वर्ष बन्दाकोबी पकेट क्षेत्रबाट ६ सय ६९ दसमलव ५९ टन बन्दाकोबी अन्य ठाउँमा पठायौं । ४७ टन सुन्तला पनि अन्य ठाउँ पठाएका थियौं ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्युनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित भइहाल्नुपर्ने अवस्था छैन । पहाडी भूभाग भएको कारण नगरपालिकामा धेरै बाक्लो बस्ती छैन । पहिला नै कोभिड अस्पताल भनेर ५ बेडको अस्पताल निर्माण गरेका थियौं । हाल कोभिडको पर्याप्त मात्रमा प्रचार प्रसार भएकै छ । पोहोर नगरपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । विगतको कुरा गर्नुपर्दा मानिहरु आत्तिएर धेरै खर्च पनि भएको थियो । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएका थियौं । हामीले क्वारेन्टिन र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् ।

नगरपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ?

ठुला योजनाको रूपमा त सडक सञ्जाल नै रहेको छ । राम मन्दीर देखी ओखरबोटेसम्मको सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । २५ करोड रुपैयाँको बजेटमा कालोपत्रे गरिरहेका छौं । गाउँगाउँमा जानको लागि कच्ची सडकहरू खनिएका छन् । यो वर्ष कोल्डस्टोर बनाउने योजना रहेको छ । यसको लागि जग्गा पनि खोजिरहेका छौं । सुन्तला तथा बन्दाकोबी पकेट क्षेत्र भएका ठाउँमा कोल्डस्टोर बनाउने योजना छ ।

यो वर्ष सदरमुकाम केन्द्र र राजमार्ग जोड्ने सडक कालोपत्रे भइसक्छ । हाम्रो नगरपालिकाको प्रत्येक वडामा बस पुग्छ । यो वर्षबाट नगरपालिकामा डेरी सञ्चालन गर्ने योजना छ । हाम्रो नगरपालिकाको सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं । ७ ओटा वडामा हामीले काठका पोलहरु विस्थापित गरी फलामको पोल राखेका छौं । नगरपालिकामा खानेपानीको आयोजनाहरू पनि छन् ।

शैक्षिक विकासको लागि नगरपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरु डेरामा बस्नु नपरोस् भनेर मा.वि. विद्यालय पनि सञ्चालन ग¥यौं । हाल कक्षा ९ र १० मा पढ्ने विद्यार्र्थीहरु डेरा लिएर पढ्न बस्नु पर्ने अवस्था छैन । विद्यार्थीहरु घरबाट नै विद्यालय धाएर ९ र १० कक्षा अध्ययन गर्न सक्छन् । पहिला कतिपय विद्यालयहरूमा अविभावकहरुले दिएको चन्दा बाट शिक्षकलाई तलब दिइरहनु परेको थियो । हाल त्यसलाई विस्थापित गरी नगरपालिकाले नै व्यवस्थापन गरेको छ ।

नगरस्तरीय परिक्षा पालिकामा हुने गरेको छ । हामीले नगरपालिकामा एउटा विद्यालयलाई नमुना विद्यालय बनाउन सफल भएका छौं । हाल नगरपालिकामा २ ओटा उच्च माध्यमिक विद्यालय रहेका छन् र थप एउटा उच्च माध्यमिक विद्यालय बनाउने लक्ष्य राखेका छौं । नगरपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि नगरपालिकामा बनिरहेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं ।

नगरपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । नगरपालिकाको प्रत्येक वडमा स्वास्थ्य केन्द्रहरू रहेका छन् । नगरपालिकामा हाल १५ शैया बेडको अस्पताल निर्माण भइरहेको छ । अरू वडाहरूमा पनि स्वास्थ्यका भवनहरू बनिरहेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामीले विशेष जोड दिइरहेका छौं । नगरपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं । सरकारले दिएका औषधीहरू नगरपालिकाका नागरिकलाई निःशुल्क रुपमै वितरण गर्ने गरेका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । बुझिने गरेर घोषणापत्रमा पहिला ५ वर्ष पछि मादी नगरपालिका यस्तो हुनेछ भनेर २४ ओटा बुँदा लोखेको थिएँ । २४ ओटा बुँदामध्ये एउटा बुँदाको काम मात्र गर्न बाँकी छ । सबै गाउँमा पशुका डाक्टर उपलब्ध हुनेछन् भनेको थिएँ । सो काम चाहिँ भनेअनुसार गर्न सकिएको छैन । तर अबको बाँकी रहेको कार्यकालमा यो काम पनि पुरा गरिसक्छु ।

विकास निर्माणको कामहरूलाई पारदर्शी बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि सार्नुभएको छ ?

विकास निर्माणको कामहरू पारदर्शी बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रम बनाएका छौं ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाढा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । कर्मचारीको सहयोगमा नै जनतालाई सेवा पनि प्रवाह गरिरहेका छौं ।

खेलकुद विकासका लागि नगरपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

हामीले खेलकुद विकासको लागि खेलकुद समितिको गठन गरेका छौं । नगरपालिकाको सबै वडामा युवा क्लबहरु गठन भएका छन् । पालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेलकुद विकासको लागि बजेट पनि छुट्याएका छौं । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू नगरपालिकामा आयोजना गर्ने गरिएको छ । खेलकुद आयोजना गर्ने वडाहरुलाई सहयोग गरेर खेलकुद विकास गर्ने भन्ने पनि हाम्रो योजना रहेको छ । नगरपालिकामा रङ्गशाला बनाउने तयारीमा पनि छौं ।

नगरपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

नगरपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवाहरूले व्यवसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । कृषि र पशुफार्ममा काम गर्ने युवाहरूलाई प्रति रोपनी ५ हजार रुपैयाँ अनुदान दिएका छौं । त्यती हुँदाहुँदै पनि युवाहरु काम गर्न चाहँदैनन् । धेरै युवाहरूलाई विदेशको रहर छ । युवाहरुका लागि यो वर्षबाट विना धितो १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाउने तयारीमा छौं । यसको लागि हामी हिमालयन बैंकसँग कुराकानी चलिरहेको छ । यो प्रक्रिया नगरपालिकामा लागु भएको छैन तर अझै हामी छलफल प्रक्रियामा नै छौं । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । कच्ची भएको सडकहरूको स्तरोन्ती गर्ने हो । विद्यालयहरूमा आधुनिक फर्निचरहरू थप्ने हो । कमिकमजोरी भएको ठाउँमा सच्याउने हो । त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.